बाँके जिल्ला स्तरीय मेयर कप अन्तर विद्यालय छात्र÷छात्रा (यु–१८) फुटबल प्रतियोगितामा कृष्ण माध्यमिक विद्यालय कोहलपुर, ज्ञानोदय माध्यमिक विद्यालय खजुरा, पशुपति माध्यमिक विद्यालय राँझा र जयबागेश्वरी विद्यालय नेपालगन्जले विजयी सुरुआत गरेका छन् । विहीवार भएका खेलमा चारै टोलीले प्रतिस्पर्धीलाई पराजित गर्दै दोस्रो चरणतर्फको यात्रा तय गरेका हुन् ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा बाँके जिल्ला फुटबल संघले सञ्चालन गरेको प्रतियोगिताको पहिलो खेलमा कृष्ण माविले मनकामना माविमाथि ३–० को स्पष्ट जित निकाल्यो। कृष्णको जितमा पवल परियारले दुई तथा जोकिरण विकले एक गोल गरे। पवलले खेलको ९ औं र ५० औं मिनेटमा गोल गरे भने जोकिरणले १३ औं मिनेटमा जाली चुमाए। उत्कृष्ट प्रदर्शन गरेका पवल परियार खेलको प्लेयर अफ द म्याच घोषित भए। उनलाई बाँके जिल्ला खेलकुद विकास समितिका प्रमुख सन्तोष श्रेष्ठले पुरस्कार प्रदान गरे।
त्यसपछि भएको अर्को प्रतिस्पर्धामा ज्ञानोदय मावि खजुराले योगिनी मावि गौघाटलाई २–० गोल अन्तरले पराजित गर्यो। ज्ञानोदयका लागि निशान विक एक्लैले दुवै गोल गरे। उनले १३ औं र ४० औं मिनेटमा गोल गर्दै टोलीलाई सहज जित दिलाए। खेलपछि निशान विक प्लेयर अफ द म्याच घोषित भए। उनलाई ज्ञानोदय मावि विद्यालय व्यवस्थापन समितिका सदस्य विजय गुरुङ तथा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी सहायक निरीक्षक कमला जोशीले पुरस्कृत गरे ।
दिनको तेस्रो खेल निकै प्रतिस्पर्धात्मक रह्यो । निर्धारित समयमा बराबरी भएपछि पशुपति मावि राँझा र सेन्टथोमसबीचको नतिजा टाइब्रेकरबाट टुंगिएको थियो । टाइब्रेकरमा पशुपतिले ३–० को अग्रता बनाउँदै जित हात पार्यो। पशुपतिका इसाक बुढा, हेमन्त बस्नेत र अभिषेक थापाले गोल गरे। दिपेश सार्कीले भने गोल गर्न सकेनन् । सेन्टथोमसका तर्फबाट धनराज विकले मात्र गोल गरे भने राजेन्द्र विक, प्रशान्त क्षेत्री र विक्रम महतको प्रहार सफल हुन सकेन ।
टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका पशुपतिका गोलकिपर प्लेयर अफ द म्याच घोषित भए । उनलाई पत्रकार कुमार श्रेष्ठले पुरस्कार प्रदान गरे । खेलपछि टोलीका प्रशिक्षकहरूले निर्णायक क्षणमा गोलकिपरको प्रदर्शनले जित सुनिश्चित गरेको बताएका थिए ।
साँझको अन्तिम खेलमा जयबागेश्वरीले ड्रिमल्याण्ड स्कुललाई १–० ले पराजित गर्दै अर्को चरणमा स्थान सुरक्षित गर्यो । खेलको २१ औं मिनेटमा विक्रम चौधरीले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै टोलीले अवसर सिर्जना गरे पनि थप गोल हुन सकेन ।
जयबागेश्वरीका गोलरक्षक विशेष थारु खेलको प्लेयर अफ द म्याच चुनिए। उनलाई अनुसन्धान सहायक चिजमान थारुले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा जिल्लाभरका ३७ विद्यालय सहभागी रहेको बाँके जिल्ला फुटबल संघका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य भोजराज शाहीले जानकारी दिए । उनका अनुसार, प्रतियोगिताको विजेता टोलीले ३१ हजार रुपैयाँ र उपविजेताले १६ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २ हजार ५ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
विद्यालयस्तरको फुटबल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा आगामी दिनमा थप प्रतिस्पर्धात्मक खेलहरू हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
