रास्वपा लुम्बिनीको नेतृत्वका लागि मैदानमा डा. राजकुमार सुवेदी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम लुम्बिनी प्रदेश अधिवेशनमा प्रदेश सभापति पदका लागि ६ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। दाङमा जारी अधिवेशनमा बाँकेका शैक्षिक उद्यमी डा. राजकुमार सुवेदीसहित ६ जनाले नेतृत्वका लागि उम्मेदवारी दर्ता गराएका छन्।

हालका प्रदेश सभापति देवराज पाठकले सहमतिमै नेतृत्व चयन गर्ने चाहना राखे पनि अन्ततः उम्मेदवारी नदिएपछि नेतृत्व चयन निर्वाचनमार्फत हुने लगभग निश्चित बनेको छ। अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार विभिन्न आकांक्षी मैदानमा उत्रिएपछि सहमतिबाट नेतृत्व चयन हुने सम्भावना निकै कमजोर बनेको छ।

प्रदेश सभापतिको दौडमा डा. सुवेदीसँगै प्रदेश उपसभापति शालिकराम घिमिरे, केन्द्रीय संगठन विभाग सदस्य गोपाल घिमिरे, केन्द्रीय विभाग सदस्य मधुप्रसाद अर्याल, केन्द्रीय विभाग सदस्य गणेश पौडेल तथा प्रतिनिधिसभाकी समानुपातिक सांसद मञ्जु ज्ञवाली भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

अधिवेशनमा प्रदेशभरबाट आएका ८४३ जना प्रतिनिधि मतदाता रहेका छन्। प्रदेश समिति, प्रदेशका जिल्ला समिति, प्रदेश समिति माथिका प्रदेशभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्य, विभागका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रीय समिति संयोजक तथा सहसंयोजक, स्थानीय तहका सभापतिहरू तथा पालिका समितिबाट मनोनित प्रतिनिधिहरूले मतदान गर्ने व्यवस्था छ। महानगरपालिकाबाट ४ जना, उपमहानगरपालिकाबाट ३ जना, नगरपालिकाबाट २ जना र गाउँपालिकाबाट १ जना प्रतिनिधि मतदाता रहेका छन्।

उम्मेदवारमध्ये डा. सुवेदी लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसँग आबद्ध व्यक्ति हुन्। उनी शैक्षिक उद्यमीका रूपमा पनि परिचित छन्। जीवनभर नेपाली कांग्रेसमा सक्रिय रहे पनि उनले कुनै लाभको पद नलिएको बताइन्छ। रास्वपा स्थापना भएपछि उनले कांग्रेससँगको औपचारिक सम्बन्ध अन्त्य गरेका थिए।

गत फागुन २१ गते भएको निर्वाचनमा उनी बाँके–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने तयारीमा थिए। तर अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीबाट आएका सुरेश चौधरीले टिकट पाएपछि उनको संसदीय यात्राको आकांक्षा अधुरै रह्यो। यसै साता सम्पन्न रास्वपा बाँके जिल्ला अधिवेशनमा पनि धेरै आकांक्षी देखिएपछि केही नेताकार्यकर्ताले उनलाई सर्वसम्मत जिल्ला सभापति बनाउन प्रस्ताव गरेका थिए। तर प्रदेश नेतृत्वमा केन्द्रित भएकाले उनले उक्त प्रस्ताव स्वीकार गरेनन् ।

प्रदेश नेतृत्वको प्रतिस्पर्धामा रहेका शालिकराम घिमिरे रास्वपाको स्थापना कालदेखि नै पार्टीमा छन्। उनी प्रदेश सदस्य, कोषाध्यक्ष हुँदै हाल प्रदेश उपसभापतिको जिम्मेवारीमा पुगेका हुन्।

मधुप्रसाद अर्याल यसअघि रुपन्देही–३ का क्षेत्रीय सभापति थिए। रुपन्देही–३ को उपनिर्वाचनका लागि पार्टीले गरेको प्रारम्भिक छनोटमा उनी ९ जना सम्भावित उम्मेदवारमध्ये परेका थिए।
गणेश पौडेल २०७९ सालको संघीय संसद निर्वाचनमा रुपन्देही–२ बाट उम्मेदवार बनेका थिए। विभिन्न वामपन्थी दल हुँदै उनी रास्वपामा प्रवेश गरेका नेता हुन्।

मञ्जु ज्ञवाली भुसाल हाल प्रतिनिधिसभाकी समानुपातिक सांसद हुन्। निर्माण व्यवसायमा समेत संलग्न रहेकी भुसालले विगतमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एमालेमा राजनीतिक यात्रा गरेपछि २०८२ सालमा रास्वपामा प्रवेश गरेकी थिइन्।

गोपाल घिमिरे पनि गत फागुन २१ गतेको निर्वाचनमा रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न इच्छुक थिए। तर पार्टीले अन्ततः सुलभ खरेललाई टिकट दिएको थियो।

रास्वपाको लुम्बिनी प्रदेश अधिवेशनबाट नयाँ नेतृत्व चयन हुने प्रक्रिया सुरु भएसँगै प्रदेश संगठनको आगामी दिशा तय गर्ने नेतृत्व कसले पाउने भन्ने विषय अहिले प्रतिनिधिहरूको रोजाइमा निर्भर बनेको छ।

Exit mobile version