पावरलिफ्टिङ खेलको विकास र खेलाडीको वृत्तिविकासलाई केन्द्रमा राख्दै बाँके जिल्ला पावरलिफ्टिङ संघको नयाँ कार्यसमिति चयन गरिएको छ । पूर्व अन्तर्राष्ट्रिय पावरलिफ्टिङ खेलाडी तथा दन्त चिकित्सक डा. प्रतीक श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा निर्वाचित भएको हो ।
नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठले खेलाडीका लागि प्रशिक्षण, प्रतियोगिता तथा आवश्यक खेल सामग्रीको व्यवस्थापनलाई प्राथमिकतामा राख्ने बताएका छन् । उनले खेल क्षेत्रको दिगो विकासका लागि संघले तीनै तहका सरकारसँग सहकार्य र समन्वय बढाउने योजना अघि सारे । उनले भने, ‘खेलाडीको वृत्तिविकास हाम्रो मुख्य प्राथमिकता हुनेछ। प्रशिक्षण र खेल सामग्री व्यवस्थापनका लागि सबै तहका सरकारसँग समन्वय गरेर अघि बढ्छौं ।’
संघमा आबद्ध खेलाडीहरूको भेलाले उपाध्यक्षमा पुनमकुमारी विक, सचिवमा सौरभ कर्माचार्य, सहसचिवमा रिहान कुरेशी तथा कोषाध्यक्षमा किरणकुमार श्रेष्ठलाई चयन गरेको छ । यस्तै कार्यसमिति सदस्यमा अनिलसिंह सिजापती, दीपेन्द्र सिंह, दीपेन्द्र शर्मा, चन्द्र कँडेल, अमृत राना, सुनिल भाट, करन बाडिया, शिवानी पौडेल, प्रकृति श्रेष्ठ, सुरेश थापा र अमित मल्ल निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष डा. श्रेष्ठका अनुसार संघको वरिष्ठ सल्लाहकारमा लक्ष्मण केसी र लवराज श्रेष्ठलाई मनोनयन गरिएको छ । नयाँ नेतृत्वले आगामी दिनमा जिल्लामा पावरलिफ्टिङ गतिविधिलाई व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने लक्ष्य लिएको छ ।
नयाँ कार्यसमिति चयन तथा पद हस्तान्तरण कार्यक्रमलाई शुक्रवार सम्बोधन गर्दै पूर्व ओलम्पियन तथा लुम्बिनी प्रदेशका पूर्वमन्त्री सुरेन्द्र हमालले पावरलिफ्टिङको ऐतिहासिक महत्वबारे चर्चा गरे ।
नेपालगन्ज उपमहानगरपालिका–२ का वडाध्यक्ष तथा पूर्व खेलाडी मनोज श्रेष्ठले नयाँ नेतृत्व चयनसँगै जिल्लाको खेलकुद क्षेत्रमा सकारात्मक ऊर्जा थपिएको बताए । उनले पावरलिफ्टिङ, भारोत्तोलन र शारीरिक सुगठनलाई ‘आइरन खेल’ का रूपमा उल्लेख गर्दै यी तीनवटै विधाको विकासमा नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले भने, ‘पावरलिफ्टिङ संघको नयाँ नेतृत्वले बाँकेमा आइरन खेलको समग्र विकासलाई थप गति दिनेछ ।’
संघको नयाँ नेतृत्व चयनका लागि आयोजित भेलामा जिल्ला खेलकुद विकास समिति बाँकेका कार्यालय प्रमुख सन्तोषकुमार श्रेष्ठ, पूर्व बडिबिल्डिङ खेलाडी सुरेश श्रेष्ठ, नासिर अहमद शेख, लवराज श्रेष्ठ र लक्ष्मण केसीलगायतको सहभागिता रहेको थियो ।
पावरलिफ्टिङमा लामो समयदेखि सक्रिय खेलाडी तथा खेलकर्मीको सहभागितामा भएको भेलाले जिल्लामा खेलको आधार विस्तार, नयाँ खेलाडी उत्पादन र प्रतियोगितात्मक वातावरण निर्माणका विषयमा समेत छलफल गरेको जनाइएको छ । नयाँ कार्यसमितिले निकट भविष्यमै आफ्नो कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ ।
