बालशिक्षामा घर–विद्यालयबीच सहकार्य सुदृढ बनाउन प्रज्ञालयको पहल

बालबालिकाको सिकाइ, व्यवहार र समग्र विकासमा घर र विद्यालयबीच समान समझ र सहकार्य आवश्यक रहेको सन्देशसहित नेपालगन्जस्थित मेरो टुकी प्रज्ञालय आधारभूत विद्यालयले ‘ब्रिजिङ होम एन्ड स्कुल’ नामक अभिभावक कार्यशाला आयोजना गरेको छ। अभिभावकलाई पनि प्रत्यक्ष सिकाइ प्रक्रियामा सहभागी गराउँदै विद्यालय र घरको शैक्षिक वातावरणबीचको दूरी कम गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। विद्यालयका अनुसार अभिभावक र विद्यालयबीच सहकार्य तथा समझदारी बलियो बनाउँदै बालबालिकाको समग्र विकासमा साझा भूमिका सुनिश्चित गर्न कार्यशाला सञ्चालन गरिएको हो।

त्यसैगरी कार्यशालामा बालबालिकाको मनोविज्ञान, उनीहरूको बहुबौद्धिक क्षमता र अन्तर्निहित गुण पहिचानका लागि ‘नो योर चाइल्ड’ तथा विद्यालयको समग्र शैक्षिक वातावरण र प्रणालीबारे जानकारी दिने ‘नो योर स्कुल’ शीर्षकका सत्रहरू सञ्चालन गरिएका थिए।

अन्तिम सत्रमा विद्यालयका अध्यक्ष र प्रिन्सिपलले अभिभावकका प्रश्न, जिज्ञासा तथा सुझावमाथि खुला संवादमार्फत समाधान दिएका थिए।

कार्यशालापछि सहभागी अभिभावक शारदा भण्डारीले कार्यक्रमबाट आफू धेरै विषयमा स्पष्ट भएको प्रतिक्रिया दिइन्। उनले नर्सरी तहमा पढाइँदा कतिपय अमानक उच्चारण सिकिएको अनुभव सुनाउँदै पुनः आधारभूत परीक्षा दिएर सही उच्चारण र अक्षर सिक्न पाउँदा खुसी लागेको बताइन्।

विद्यालयका अध्यक्ष तथा कार्यशालाका सहजकर्ता भोजराज शर्माका अनुसार वर्तमान शिक्षाका सीमितता चिर्न र अभिभावक–विद्यालय सम्बन्धलाई थप प्रभावकारी बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुनेछन्।

विद्यालयकी संस्थापक प्रिन्सिपल कल्पना शर्माले अभिभावक र विद्यालयबीच सहकार्यको वातावरण निर्माण गर्दै अभिभावकलाई पनि शिक्षित बनाउने उद्देश्यले ‘प्रज्ञालय प्यारेन्ट्स एकेडेमी’ नामक विशेष फोरम स्थापना गरिएको जानकारी दिइन्। उनका अनुसार उक्त फोरम कुशल अभिभावकत्व, बाल मनोविज्ञान, बालशिक्षाका विविध आयाम तथा भाषाको मानक प्रयोगसम्बन्धी अभिभावक शिक्षामा केन्द्रित रहनेछ।

यो कार्यशालाले विद्यालय र अभिभावकबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै बालबालिकाको गुणस्तरीय शिक्षाका लागि नयाँ सहकार्यको आधार तयार गरेको विद्यालयले जनाएको छ।

Exit mobile version