सानदार सुरुआतको लक्ष्यमा उपाधि दाबेदार स्पेन, केप भेर्डेका लागि ऐतिहासिक खेल

सोमबार राति डेब्युटन्ट केप भेर्डेसँग प्रतिस्पर्धा गरिरहँदा स्पेनको लक्ष्य फिफा विश्वकप २०२६ मा सानदार सुरुआतको हुनेछ । समूह ‘एच’को यो खेल नेपाली समयअनुसार राति ९ः४५ बजे हुनेछ ।

ला रोहाले केप भेर्डेपछि समूहमा साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ । लुइस डी ला फ्युन्टेको नेतृत्वमा रहेको स्पेनलाई फ्रान्ससँगै उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको छ । फ्युन्टेकै नेतृत्वमा स्पेनले युरोपियन च्याम्पियनसिप २०२४ को उपाधि जितेको थियो । जतिबेला फाइनलमा स्पेनले इङ्ल्यान्डको चुनौती पन्छाएको थियो ।

स्पेन विश्वकप २०१० को च्याम्पियन हो । तर, पछिल्ला तीन विश्वकप भने टोलीका लागि विर्सनलायक रह्यो । उपाधि रक्षाको अभियानमा रहँदा स्पेन २०१४ मा समूह चरणबाटै बाहिरिएको थियो । त्यसपछि २०१८ र २०२२ मा टोलीको यात्रा अन्तिम १६ सम्म मात्रै सीमित रह्यो ।

विश्वकपअघि स्पेनले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पेरुमाथि ३–१ को जित हासिल गर्यो । पछिल्ला १० खेलमा स्पेन अपराजित छ । टोलीले १० मध्ये ७ खेल जितेको छ ।
समूह विजेताका रुपमा हेरिएको स्पेनले यदि केप भेर्डेको चुनौती नपन्छाउने हो भने त्यो सबैका लागि आश्चर्यको विषय बन्नेछ ।

केप भेर्डे र स्पेन अन्तर्राष्ट्रिय फुटबलमा पहिलोपटक आमने–सामने हुँदैछन् । कागजमा यी दुईबीचको अन्तर एकदमै धेरै छ ।

अफ्रिकी राष्ट्र केप भेर्डेले क्याफ छनोटमा क्यामरुनलाई पछाडी पारेको थियो । स्पेनविरुद्ध खेल केप भेर्डेका लागि ऐतिहासिक हुनेछ । किनभने यो केप भेर्डेका लागि पहिलो विश्वकप खेल हो ।

बुबिस्ताको नेतृत्वमा रहेको केप भेर्डेले पछिल्ला तीन अन्तर्राष्ट्रिय खेल जितेको छ । गत महिना सर्बियालाई ३–० ले हराएको केप भेर्डेले विश्वकपको पूर्वसन्ध्यामा बर्मुडालाई पनि सोही नतिजामा पराजित गर्यो ।

केप भेर्डे स्पेनको ‘क्वालिटी’का बारेमा जानकार छ । त्यसैले टोलीको लक्ष्य भनेको कम्तिमा पनि उत्कृष्ट ‘सेकेन्ड रनर्स अप’ बन्ने हुनेछ । बढीमा केप भेर्डेले दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुग्ने हुनुपर्छ । किनभने जति बलियो स्पेन छ, त्यतिनै अन्य प्रतिद्धन्द्धी उरुग्वे र साउदी अरेबियामा कमजोरीहरु छन् ।

स्पेनपछि केप भेर्डेले जुन २१ मा उरुग्वेसँग खेल्नेछ । त्यसको पाँच दिनपछि उसको भेट साउदी अरेबियासँग हुनेछ ।

विंगरद्धय लामिन यमाल र निको विलियम्स इन्जुरी समस्याबाट मुक्त हुँदै पूर्ण प्रशिक्षणमा फर्किएको हप्ता दिन भइसक्यो । यद्यपि केप भेर्डेविरुद्ध फ्युन्टेले यी दुईलाई बेन्चबाट सुरुआत गराउने सम्भावना पनि छ ।

ओसासुनाका भर्सटाइल खेलाडी भिक्टर मुनोज पनि ‘मस्कुलर ओभरलोड’का कारण पहिलो रोजाईमा नदेखिने सम्भावना बढी छ । त्यसैले सोमबार फरवार्ड लाइनमा फरान टोरेस, एलेक्स बेइना र मिकेल ओयारजाबाललाई पहिलो रोजाईमा देख्न सकिन्छ ।

फ्युन्टेले टोटनहम हटस्पर्शका पेड्रो पोरोलाई राइटब्याक अनि मिडफिल्डमा फाबियन रुइज, रोड्री र पेड्रीलाई पहिलो रोजाईमा खेलाउने अनुमान गरिएको छ ।

केप भेर्डेमा भने फिटनेस र इन्जुरीको कुनै पनि समस्या छैन । रायन मेन्डेज केप भेर्डेका सर्वाधिक गोलकर्ता हुन् । ९७ खेलमा उनले २२ गोल गरेका छन् । ३६ वर्षीय विंगर मेन्डेज अन्तर्राष्ट्रिय करिअरकै सबैभन्दा ठूलो खेल खेल्दैछन् ।

मंगलबार बिहान साउदीले उरुग्वेको सामना गर्नेछ । यो खेल बिहान ३ः४५ बजे हुनेछ ।

Exit mobile version