बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१७ स्थित थुकैला गाउँबाट ६३ ग्राम ५३० मिलिग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले उक्त लागूऔषध बरामद गरेको हो।
प्रहरीका अनुसार थुकैला गाउँबाट गडियनपुरवा तर्फ आउँदै गरेको यूपी ४० क्यू ८९२१ नम्बरको मोटरसाइकललाई रोकी जाँच गर्दा भारतको उत्तर प्रदेश बहराइच जिल्ला रुपैडिहा नईबस्ती निवासी ४० वर्षीय मोहम्मद रिजवानको साथबाट ब्राउन सुगर फेला परेको थियो। उनले उक्त लागूऔषध अण्डरवेयरभित्र लुकाइछिपाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ।
पक्राउ परेका रिजवान, बरामद लागूऔषध तथा मोटरसाइकललाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।
