बाँकेको राप्ती सोनारी गाउँपालिकाले कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी आकर्षित गर्न निजी क्षेत्रसँग सहकार्यको खोजी थालेको छ । बाँके राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्र भएकाले पर्यटकीय सम्भावना उच्च रहेको भन्दै लगानीका लागि अनुकूल वातावरण निर्माण गर्ने प्रतिबद्धता पालिका नेतृत्वले जनाएको छ ।
सोमबार नेपालगन्जबाट गएका उद्योगपति तथा व्यवसायीहरूसँग भएको अन्तरक्रियामा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले पालिका लगानीमैत्री वातावरण बनाउन तयार रहेको बताए । उनले कानुनी तथा नीतिगत सहजीकरणमा पनि स्थानीय सरकार सहयोगी हुने स्पष्ट पारे । अध्यक्ष पौडेलले भने, ‘कृषि, पर्यटन र उद्योगका लागि राप्ती सोनारीमा लगानी भित्र्याउन हामी आवश्यक सबै नीतिगत सहजीकरण गर्न तयार छौँ ।’
छलफलमा सहभागी उद्योगीहरूले राप्ती सोनारीको भौगोलिक अवस्था र निकुञ्जसँगको निकटताले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताएका छन् । उद्योगपति सञ्जयकुमार अग्रवाल र चम्पालाल बोथ्रालगायतले औद्योगिक क्षेत्रमा लगानी बढाउन नीति सहज भए उद्योग स्थापना सम्भव हुने धारणा राखे । उनीहरूले बर्दियामा जस्तै कर छुट तथा विशेष सुविधा दिए कृषिजन्य उद्योग विस्तार हुने सुझाव पनि दिए ।
होटल पौवा प्रालिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले पर्या–पर्यटनको सम्भावना उल्लेख गर्दै होटल तथा पर्यटन क्षेत्रमा दीर्घकालीन योजना आवश्यक रहेको बताए । उनले भने, ‘यहाँको प्राकृतिक सम्पदा उपयोग गरेर पर्यटन उद्योग विस्तार गर्न सकिने प्रशस्त सम्भावना छ ।’
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले राप्ती सोनारीलाई पर्यटन विकासको मुख्य आधार क्षेत्रका रूपमा अघि बढाउन सकिने बताए । उनले लगानी सम्मेलनमार्फत उद्योग–व्यवसाय आकर्षित गर्न पालिकालाई सुझाव दिँदै भने, ‘लगानी सम्मेलन गरेर उद्योग र कलकारखाना भित्र्याउनेतर्फ पालिकाले अग्रसरता लिनुपर्छ ।’
त्यसैगरी पत्रकार शरण कर्माचार्यले भारतीय पर्यटक लक्षित योजना बनाउन सुझाव दिए । उनले ऐतिहासिक कथावस्तु र स्थानीय पहिचानलाई पर्यटनसँग जोड्न आवश्यक रहेको उल्लेख गर्दै भने, ‘लाखौंसँग जोडिएको भनिने राप्ती सोनारीको ऐतिहासिक सम्बन्धबारे अनुसन्धान गरेर पर्यटन विकाससँग जोड्न सकिन्छ ।’
त्यसअघि उद्योगी व्यवसायीहरूको टोली कोहलपुर हुँदै मध्यवर्ती क्षेत्र हुँदै बाँके राष्ट्रिय निकुञ्जको अवस्थाबारे अवलोकन गर्न सफारीमा समेत सहभागी भएको थियो । उनीहरूले निकुञ्ज क्षेत्रको प्राकृतिक संरचना र पर्यटन सम्भावनाबारे प्रत्यक्ष अध्ययन गरेका थिए ।
