विस्थापित ७५१ परिवारको व्यवस्थापन माग्दै कोहलपुरमा आन्दोलन

कोहलपुरमा भूमिहीन दलित तथा अव्यवस्थित बस्तीमा डोजर लगाएर घरटहरा भत्काएको एक महिना बितिसक्दा पनि स्थायी व्यवस्थापनको पहल नभएको भन्दै प्रभावित परिवारहरू आन्दोलनमा उत्रिएका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी र बसोबासको सुनिश्चितता माग गर्दै उनीहरूले आइतबारदेखि संघर्षका कार्यक्रम सुरु गरेका हुन् ।

भूमिहीन दलित तथा अव्यवस्थित बस्ती संघर्ष समिति गठन गरी आन्दोलन थालेका प्रभावित परिवारहरूले राज्यले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाएको आरोप लगाएका छन् । उनीहरूले व्यवस्थापनको ठोस योजना सार्वजनिक नभएसम्म चरणबद्ध रूपमा आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

संघर्ष समितिका संयोजक वीरबहादुर परियारले एक महिना बितिसक्दा पनि विस्थापित परिवारप्रति सरकार गम्भीर नदेखिएको बताए । उनले भने, ‘बस्तीबाट हामी ७५१ घरपरिवार विस्थापित भयौँ । हाल होल्डिङ सेन्टरमा ११५ परिवार मात्र छन् । बाँकी परिवार सकिनसकी बाहिर कोठा भाडामा लिएर बस्नुपरेको छ । होल्डिङ सेन्टर अघोषित कारागार जस्तो बनेको छ ।’

उनले विस्थापनपछि सयौँ परिवारको दैनिकी संकटमा परेको बताए । ‘त्यहाँ समस्यै समस्या छन् । हामीलाई जतिसक्दो चाँडो स्थायी बसोबासको व्यवस्थापन हुनुप¥यो । जबसम्म हाम्रो स्थायी बसोबासको व्यवस्था हुँदैन, तबसम्म हामी दबाब दिनका लागि शान्तिपूर्ण आन्दोलन जारी राख्छौँ,’ उनले भने ।

उनका अनुसार, वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई व्यवस्थापनको कुनै विकल्प नदिई हटाइएपछि बालबालिकाको पढाइ, स्वास्थ्य सेवा र दैनिक जीविकोपार्जनमा समेत गम्भीर असर परेको छ । वैकल्पिक आवास, रोजगारी र आधारभूत सेवाको सुनिश्चितताबारे कुनै पहल नदेखिएकाले बाध्य भएर सडक आन्दोलन रोज्नुपरेको उनले बताए ।

प्रभावित परिवारहरूले ‘भूमिहीन दलित, सुकुम्वासी तथा अव्यवस्थित बस्तीमाथि भएको डोजर आतङ्कविरुद्ध संघर्ष कार्यक्रम’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा उनीहरूले ‘बिनाविकल्प डोजर आतङ्क बन्द गर’, ‘भूमिहीनमाथिको समान अधिकार कायम गर’ र ‘विस्थापित परिवारको बसोबासको व्यवस्थापन गर’ लगायतका नारा लगाएका थिए ।

कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको भत्काइएको बस्तीबाट सुरु भएको नाराजुलुस साझा चोक हुँदै कोहलपुर चौराहासम्म पुगेको थियो । आन्दोलनमा सहभागीहरूले राज्यले पुनःस्थापनाको जिम्मेवारी पूरा नगरेसम्म संघर्ष नरोकिने बताएका थिए ।

कोहलपुर नगरपालिकाले गत वैशाख २६ र २७ गते नगर विकास समितिको कोहलपुर ३ (ख) अन्तर्गत पर्ने करिब ३६ बिघा क्षेत्रफलमा निर्माण गरिएका १४८ वटा घरटहरा डोजर लगाएर हटाएको थियो । क्रिकेट मैदान आसपासको क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउने निर्णयअनुसार उक्त अभियान सञ्चालन गरिएको थियो ।

घरटहरा भत्काइएपछि नगरपालिकाले विस्थापित नागरिकका लागि अस्थायी बसोबासको व्यवस्था गर्दै नगरभित्र १६ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याएको जनाएको थियो । तर, हाल तीमध्ये तीन वटा होल्डिङ सेन्टरमा मात्रै प्रभावित परिवार बसोबास गरिरहेका छन् ।

कोहलपुर नगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाका अनुसार, हाल तीन वटा होल्डिङ सेन्टरमा ११५ परिवारका ३१९ जना नागरिक बस्दै आएका छन् । उनका अनुसार, कोहलपुर–११ नयाँ बसपार्कस्थित टर्मिनल भवनमा १०० परिवारका २८० जना बसोबास गरिरहेका छन् । पुरानो बसपार्कमा रहेको नगर विकास समितिको भवनमा एक परिवारका पाँच जना रहेका छन् । वडा नम्बर १० स्थित दीपशिखा माध्यमिक विद्यालय, एकतानगरको भवनमा १४ परिवारका ३४ जना नागरिक बस्दै आएका छन् ।

Exit mobile version