ओम फिटनेसलाई प्रथम वडा कप शारीरिक सुगठनको उपाधि

नेपालगन्जमा पहिलो पटक आयोजित वडा कप शारीरिक सुगठन प्रतियोगिताको उपाधि ओम फिटनेस टिमले जितेको छ । दुई स्वर्ण, दुई रजत र एक कांस्य पदक हात पार्दै ओम फिटनेस टिम समग्र च्याम्पियन बनेको हो। प्रतियोगिताकै सर्वाधिक प्रतिष्ठित उपाधि ‘ओभरअल च्याम्पियन’ पनि ओम फिटनेसकै दीपेन्द्रबहादुर खत्रीले जितेपछि टोलीको सफलता थप मजबुत बनेको थियो ।

पूर्व खेलाडी समाज बाँकेको आयोजनामा आइतवार भएको प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता–२०८३ मा नौ वटा फिटनेस क्लबका ४० जना खेलाडी सहभागी भएका थिए । विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीहरूले शारीरिक बनावट, मांसपेशी विकास, प्रस्तुति कला र समग्र फिटनेस क्षमताको प्रदर्शन गरेका थिए ।

प्रतियोगिताको ७५ केजी तौल समूहमा पहिलो स्थान हासिल गरेका दीपेन्द्रबहादुर खत्रीले समग्रतर्फ उत्कृष्ट प्रदर्शन गर्दै ओभरअल च्याम्पियनको उपाधि जिते। यही समूहमा हेल्थ बेनी फिटनेसका बिरु सिंह दोस्रो र सोयब सिंह तेस्रो भए ।

समग्र उपविजेता बनेको हेल्थ बेनी फिटनेसले एक स्वर्ण, एक रजत र एक कांस्य पदक जित्दै दोस्रो स्थान सुरक्षित ग¥यो। टोलीका सुगम रावलले ७० केजी तौल समूहमा स्वर्ण पदक जितेका थिए। सोही समूहमा युनिभर्सल जिमका शिवराज ढकाल दोस्रो तथा हेल्थ बेनी फिटनेसकै देवराज ओली तेस्रो भए ।

५५ केजी तौल समूहमा युनिभर्सल जिमका वामदेव थापा प्रथम भए। ओम फिटनेसका राज वाल्मीकि दोस्रो र चन्द्रसेन वर्मा तेस्रो स्थानमा रहे । ६० केजी तौल समूहमा स्ट्रिम फिटनेस प्रालिका करण वाडिया विजेता बने भने दी जिम सार्क फिटनेस प्रालिका मासुम अली हल्वाई दोस्रो र युनिभर्सल जिमका अभिशेष थारू तेस्रो भए ।

६५ केजी तौल समूहमा ओम फिटनेसका जगतराम महावतले स्वर्ण पदक जिते। स्ट्रिम फिटनेस प्रालिका उमेश महरा दोस्रो र युनिभर्सल जिमका प्रदीप चौधरी तेस्रो भए । त्यस्तै, ७५ केजीभन्दा माथिको तौल समूहमा माई फिटनेस प्रालिका सतीसकुमार सोनी प्रथम भए । ओम फिटनेसका सुरोद थापा दोस्रो र हेल्थ बेनी फिटनेसका पङ्कज कनोजिया तेस्रो स्थानमा रहे ।

प्रतियोगिताका क्रममा शारीरिक सुगठन क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएको भन्दै लक्ष्मण व्यायामशालाका संस्थापक लक्ष्मण केसीलाई सम्मान गरिएको थियो । विजेता खेलाडीहरूलाई ट्रफी, पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ ।

समाजका सचिव नरेन्द्र थापाका अनुसार, पुरस्कार वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, पूर्व ओलम्पियन सुरेन्द्र हमाल, पूर्व खेलाडी समाज बाँकेका सल्लाहकार गोवर्धन सिंह सम्झना लगायतका अतिथिहरू सहभागी थिए ।

प्रतियोगिताले स्थानीय स्तरमा शारीरिक सुगठन खेलप्रतिको आकर्षण बढाएको र नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण भूमिका खेलेको पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाशबहादुर श्रेष्ठले बताए । उनले भने, ‘पहिलो पटक आयोजना गरिएको वडा कप प्रतियोगिताले शारीरिक सुगठन खेललाई स्थानीय तहसम्म विस्तार गर्न मद्दत गरेको छ । यसले नयाँ खेलाडीलाई प्रतिस्पर्धाको अवसर दिनुका साथै प्रतिभा उजागर गर्न पनि सहयोग पुगेको छ ।’

Exit mobile version