आफ्ना सन्तानलाई विद्यालय पठाउने आमालाई फातिमा फाउण्डेशन नेपालले मंगलबार भव्य औपचारिक कार्यक्रम गरी सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नगरका ४० बढी आमालाई औपचारिक सम्मान गरेका हुन् ।
मुस्लिम तथा मधेसी समुदायमा खासगरी छोरीलाई विद्यालय नपठाउने अवस्थाको अन्त्यका लागि अभिभावक प्रोत्साहन स्वरूप त्यसखालको कार्यक्रम गरिएको आयोजक फातिमा फाउण्डेसन नेपालकी अध्यक्ष मैमुना सिद्दिकीले जानकारी दिइन् । कार्यक्रममा सहभागी मुस्लिम तथा मधेसी महिलाहरूले आफुले सन्तानलाई विद्यालय पठाउँदा भोग्नु परेका समस्याबारे नगर प्रमुख समक्ष जानकारी गराएका थिए । प्रमुख अतिथि, नगर प्रमुख विष्टले छोरीलाई विद्यालय पठाउने आमालाई फातिमा फाउण्डेसनले गरेको प्रोत्साहनबाट आफु प्रभावित भएको भन्दै यसको निरन्तरताका लागि पालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख धनसुदन चौलागाईले शिक्षाले पार्ने दुरगामी सकारात्मक प्रभावबारे अभिभावकको अभिमूखिकरण गरेका थिए । वडा नं. १३ की कार्यवाहक वडाध्यक्ष सोनी केवटले सामुदायिक विद्यालयको सुधार भएमा मुस्लिम तथा मधेसी बालबालिकाको अध्ययन स्तरीय हुने धारणा राखिन् । वडा नं. १४ का वडाध्यक्ष मजहअली साईले आफ्नो वडाभित्रका सामुदायिक विद्यालय सुधारका लागि कडा कदम चालेको जानकारी गराए ।
धर्मगुरु समेत रहेका मदरसा जमुनाहका प्रधानाध्यापक महमुद अली नाउले इस्लामिक धर्मावलम्वीहरूको धर्मग्रन्थ कुरानले नै बालिका शिक्षालाई प्राथमिकतामा राखेको जानकारी दिंदै आफ्ना सन्तानलाई विद्यालय पठाउन आव्हान गरे ।
कार्यक्रममा फातिमा फाउण्डेसनका अधिकृत उमेश कुमार गुप्ताले कार्यक्रमबारे प्रकाश पारेका थिए भने हुमा अख्तरले स्वागत मन्तव्य दिएकी थिइन् ।
