स्वस्थकर बन्न पहिले भान्सा सुधारमा जोड

बाँकेको खजुरा गाउँपालिकामा स्वस्थकर जीवनशैली प्रवर्धन तथा रोग न्यूनीकरणका लागि भान्सा सुधारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । खजुरा गाउँपालिका अन्तर्गत नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा मंगलबार सम्पन्न कार्यक्रममा सहभागीहरूले स्वस्थ जीवनशैलीको आधार नै स्वस्थ भान्सा भएको बताएका छन् ।

कार्यक्रममा बोल्ने वक्ताहरूले दैनिक रूपमा प्रयोग गरिने खाद्यवस्तुहरूको छनोट, तयारी र उपभोगमा विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए । गृहणी आमा, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, होटल व्यवसायी, राजनीतिक तथा समाजसेवी व्यक्तिहरूले स्वस्थकर खानपानको संस्कार विकास गर्न सके विभिन्न नसर्ने रोगहरूको जोखिम कम गर्न सकिने धारणा व्यक्त गरे । सामाजिक विकास संयोजक कृष्णाकुमारी पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेलले अधिकांश रोगहरूको सुरुआत अस्वस्थ खानपान र भान्साको व्यवस्थापनबाट हुने भएकाले विशेषगरी गृहणी महिलाहरू सचेत हुन आवश्यक रहेको बताए । उनले परिवारको स्वास्थ्य जोगाउन भान्साको व्यवस्थापन र पोषणयुक्त खानाको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गरे । कार्यक्रमकी अध्यक्ष पोखरेलले स्वस्थ जीवनको आधार स्वस्थ भान्सा रहेको बताउँदै आफ्नो भान्सामा सुधार गर्न सके मात्र दीर्घायु र निरोगी जीवन प्राप्त गर्न सकिने धारणा राखिन् । उनले रोग लागेपछि उपचार खोज्नुभन्दा रोग लाग्नै नदिने वातावरण सिर्जना गर्नु आवश्यक रहेको बताउँदै त्यसका लागि पहिलो सुधार आफ्नै भान्साबाट सुरु गर्नुपर्नेमा जोड दिइन् ।

अभिमुखीकरण कार्यक्रममा सहभागीहरूलाई स्वस्थकर खानपान, पोषणयुक्त आहार, स्थानीय उत्पादनको उपयोग तथा नसर्ने रोगहरूको रोकथाम सम्बन्धी जानकारी प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न समुदायका प्रतिनिधिहरूको सक्रिय सहभागिता थियो । कार्यक्रमको सहजीकरण नागरिक आरोग्य सेवा केन्द्र खजुराका प्रमुख किरण खनालले गरेका थिए । बाँके जिल्ला आयुर्वेद कार्यालय अभिमुखीकरणमा प्राविधिक सहयोग प्रदान गरेको थियो । कार्यक्रमले स्वस्थकर जीवनशैली अपनाउने तथा घरपरिवारमै स्वास्थ्य प्रवर्धन गर्ने अभियानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Exit mobile version