बाँके जिल्लामा गत जेठ महिनामा भएका सवारी दुर्घटनामा चार जनाको ज्यान गएको छ भने २१ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक गरेको मासिक तथ्यांकअनुसार जेठ महिनाभर जिल्लाका विभिन्न स्थानमा १९ वटा सवारी दुर्घटना भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौंर ले सार्वजनिक गरेको विवरणअनुसार ती दुर्घटनामा २६ वटा सवारी साधन संलग्न रहेका थिए । दुर्घटनाबाट चार जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् ।
प्रहरीको विश्लेषणअनुसार अधिकांश दुर्घटनाको मुख्य कारण तीव्र गति रहेको देखिएको छ । कुल दुर्घटनामध्ये १४ वटा दुर्घटना तीव्र गतिका कारण भएका छन् । यस्तै चालकको लापरवाहीका कारण तीन वटा दुर्घटना भएका छन् भने मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउँदा दुई वटा दुर्घटना भएको तथ्यांकमा उल्लेख छ । चौपाया जनावर तथा यात्रुको गल्तीका कारण भने कुनै दुर्घटना नभएको प्रहरीले जनाएको छ ।
दुर्घटनाको प्रमुख कारणको रूपमा तीव्र गति देखिएपछि प्रहरीले सडक सुरक्षा सचेतना, ट्राफिक निगरानी तथा सवारी चेकजाँचलाई थप प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ । विशेष गरी राजमार्ग तथा व्यस्त सडक क्षेत्रमा गति नियन्त्रण र चालक सचेतनालाई प्राथमिकतामा राखिएको प्रहरीले बताएको छ ।
यसैबीच ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनमाथि व्यापक कारबाही गरिएको छ । जेठ महिनाभर सञ्चालन गरिएको सवारी चेकजाँच अभियानका क्रममा एक हजार ८ सय ७० वटा सवारी साधनलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट १५ लाख ९९ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जेठ महिनाको तथ्यांकले बाँकेमा सवारी दुर्घटनाको प्रमुख कारण अझै पनि तीव्र गति नै रहेको देखाएको छ ।
