बाँकेको पर्यापर्यटकीय गन्तव्य बैजनाथ गाउँपालिका–१ गाभरमा ‘वाटर रिचार्ज पोन्ड’ निर्माण गरिएको छ । बाँके राष्ट्रिय निकुञ्जको आग्रहमा मध्यवर्ती क्षेत्रलाई लक्षित गरी सिक्टा सिंचाई आयोजनाले चार वटा त्यसखालका पोखरी निर्माण गरेको हो । ‘यसले इको सिष्टमलाई बलियो त बनाउँछ नै हाम्रो पर्यटकीय विकासका दृष्टिले एउटा राम्रो र आकर्षक प्रोडक्ट थपिएको छ’, गाभर क्षेत्रमा बनेका छुट्टाछुट्टै विशाल पोखरी देखाउँदै गाभर भ्यालीका परिकल्पनाकार कृष्णलाल चौधरीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘यहाँका किसानलाई आवश्यकताका आधारमा सिचाईं व्यवस्थादेखि ठूलो क्षेत्रमा भूमिगत जलस्रोतको आधार समेत यसले बलियो बनाएको छ ।’
सिक्टा आयोजना निर्देशक राजु आचार्यले सिक्टा सिंचाई आयोजनाको सामाजिक सरोकार उत्तरदायित्व अन्तर्गत त्यस क्षेत्रमा विभिन्न चार वटा ग्राउण्ड वाटर रिचार्ज पोन्ड निर्माण गरिएको जानकारी दिए । त्यसका लागि आयोजनाले चार करोड रूपैयाँ खर्च गरेको छ । ‘यसले पानीको इको सिष्टमलाई निकै बलियो बनाउँछ’, आयोजना निर्देशक आचार्यले दैनिक नेपालगन्जसँग भने, ‘वन्यजन्तुका लागि पानी पिउने पोखरीदेखि ग्राउण्ड वाटर रिचार्जसम्मको काम यसले गर्नेछ ।’
बहुउद्देश्यीय ती विशाल कृतिम तालहरूमा परम्परागत रूपमा बगेर आउने पानीका निकासलाई जम्मा गरेर व्यवस्थित बाध बनाइएको छ । जसले बर्षात्को पानीलाई संरक्षण गर्नुका साथै बाढी नियन्त्रणमा पनि योगदान दिने आयोजनाको विश्वास छ । ‘ओभरफ्लो कन्ट्रोलका लागि आउटलेट बनाइएको छ’, आउटलेटदेखि किसानका खेतबारीसम्म पुग्ने व्यवस्थित पक्की नहर बनाइएकाले स्थानीयबासीले
आफ्ना लागि सरकारले सहयोग गरेको ठानेका छन् । ‘किसान यो कामबाट उत्साहित छन्’, गाभर भ्याली होम स्टेका सञ्चालक चौधरीले थप अर्को पोखरी निर्माणका लागि सहमति जनाइसकेको जानकारी दिंदै भने, ‘यहाँ मात्रै होइन चुरेको फेदीमा बनाइएका यी विशाल कृतिम तालहरूले नेपालगन्जका हाते पम्पहरूलाई पानी सप्लाईसम्मको रिचार्ज गर्न सक्छन् भन्ने हाम्रो विश्वास हो ।’
आयोजना निर्देशक आचार्यले आगामी आर्थिक बर्षका लागि पनि थप यसखालका पोखरी निर्माणका योजनाहरू रहेको जानकारी दिए । गाभर सेरोफेरोमा बनेका चार वटा ती पोखरीले भविष्यमा पर्यटकीय आकर्षण निम्त्याउने विश्वास स्थानीय व्यवसायीको छ । भने, निकुञ्जले सुख्खा प्रायः रहेको बाँके निकुञ्ज भित्र रहेका वन्यजन्तुलाई पानीसँगको सहज पहुँच विकासमा योगदान दिने विश्वास गरेको छ । ‘यो सबैका लागि बहुउद्देश्यीय सोंचका साथ निर्माण गरिएका हुन्’, आयोजना निर्देशक आचार्यले बर्षात्को पानी संरक्षण, खेतीका लागि सिंचाई, वन्यजन्तुका लागि पानी, बाढी नियन्त्रण र पर्यापर्यटक आकर्षणका लागि उपयोग हुने जानकारी दिंदै भने, ‘सबैभन्दा महत्वपूर्ण भनेको वातावरणीय दृष्टिले निकै महत्वपूर्ण साबित हुन्छ ।’
हाललाई मानवनिर्मित पोखरीहरू भविष्यमा सिमसार क्षेत्र हुँदै परम्परागत तालका रूपमा परिणत हुने ढंगबाट पानीको स्रोतसँग जोडिएको चौधरीले बताए ।
