प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा

नेपालमा यस वर्षको प्रि–मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशभर औसत ३३९.७७ मिलिमिटर वर्षा मापन गरिएको छ, जुन औसत २२६.३ मिलिमिटरको १४५ दशमलव ५ प्रतिशत हो । विभागका मौसमविद् सञ्जिव अधिकारीले प्रि–मनसुन समयमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय हुनु तथा अत्यधिक गर्मीका कारण प्रि–मनसुनमा अत्याधिक वर्षा भएको जानकारी दिनुभयो । 

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२६ मा भएको ३३९.७७ मिलिमिटर वर्षा प्रि–मनसुन अवधिको सबैभन्दा बढी वर्षा हो । यसअघि सन् १९९० मा ३३१.४० मिलिमिटर वर्षा भई उच्च रेकर्ड कायम भएको थियो । तथ्याङ्कअनुसार सन् २००० मा ३२३ दशमलव १९ मिलिमिटर, सन् २०२१ मा ३१७.८८ मिलिमिटर र सन् २०२० मा ३१५.७८ मिलिमिटर वर्षा भएको थियो । यस वर्षको वर्षाले ती सबै रेकर्डलाई उछिनेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रि–मनसुन अवधिमा औसतभन्दा उल्लेख्य बढी वर्षा हुनु जलवायु प्रणालीमा देखिएको परिवर्तनको सङ्केत हुन सक्छ । यस अवधिमा देशका विभिन्न क्षेत्रमा चट्याङ, हावाहुरी, असिना तथा भारी वर्षाका घटनासमेत बढेको देखिएको छ । विभागका अनुसार यस वर्षको प्रि–मनसुन वर्षा सन् १९९० यताकै मात्र नभई उपलब्ध अभिलेखमा सबैभन्दा उच्च रहेको रेकर्डका रूपमा दर्ता भएको छ ।
Exit mobile version