यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिन तथा नवीकरण गर्न आवश्यक पर्ने मेडिकल प्रमाणपत्र जारी गर्ने क्रममा अनियमितता गरेको आरोपमा एक चिकित्सकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चालक अनुमति पत्रका लागि आवश्यक पर्ने निरोगिताको प्रमाणपत्र आधिकारिक चिकित्सकमार्फत स्वास्थ्य परीक्षण गरी जारी गर्नुपर्ने व्यवस्था रहे पनि चिकित्सकले प्रमाणपत्रमा हस्ताक्षर गरी छाड्ने र अन्य कर्मचारीहरूले सेवाग्राहीको नाम, थर तथा ठेगाना भरेर प्रतिव्यक्ति दुई सय रुपैयाँ लिई प्रमाणपत्र वितरण गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो।
उक्त सूचनापछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले निगरानी तथा अवलोकन गर्ने क्रममा सो कार्यमा संलग्न रहेको आरोपमा चिकित्सकसहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले घटनाबारे अनुसन्धान जारी रहेको जानकारी दिएका छन्।
