बाँकेमा समग्र कम्युनिष्ट आन्दोलनको अवस्थाबारे बृहत समीक्षा गरिएको छ । पछिल्ला दिनमा कम्युनिष्ट प्रतिका नकारात्मक विचार प्रवाहमा ‘नियोजित’ अभियान चलाइएको भन्दै कार्यक्रममा सहभागीहरूले संविधानको कार्यान्वयनका लागि पनि प्रगतिशिल राष्ट्रवादी कम्युनिष्टहरू एकै ठाउँमा उभिनुपर्ने धारणा राखिएको छ ।
हर्क बहादुर शाही स्मृति फाउण्डेसनले शुक्रबार नेपाली कम्युनिष्ट आन्दोलन र अबको बाटो विषयक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको हो । ‘आन्दोलन नै कमजोर हुन्छ भने तिम्रा पार्टी, गुट कहाँ रहलान् ?’, विभिन्न गुट र फुटको सिकार हुँदै सकिने अवस्थामा पुगेको नेपाली कम्युनिष्ट आन्दोलनको पछिल्लो अवस्थाबारे आफ्ना अवधारणा प्रस्तुत गर्दै वरिष्ठ बाम विश्लेषक नरेन्द्रजंग पिटरले अब युवाहरूको काँधमा आन्दोलनको नेतृत्व जानुपर्ने धारणा राखे ।
कार्यक्रममा वरिष्ठ समाजसेवी मधुसुदन शर्मा रिजालले कम्युनिष्ट आन्दोलनको वर्तमान नेतृत्वले आत्मसमीक्षा गर्दै विचार र नेतृत्वको पुस्तान्तरणमा तयार रहेमात्रै कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्ने बताए । कार्यक्रमका आयोजकका तर्फबाट अर्का वक्ता फाउण्डेसनका अध्यक्ष दिपक शाहीले वामपन्थीहरूले कार्यगत एकताको आधारभूत मार्ग चित्र तय हुनुपर्ने औंल्याए ।
वाम बुद्धिजीवि डा. हरि प्रसाद तिमिल्सिनाले आन्दोलनलाई सही बाटोमा डोर्याउन नेतृत्व सक्षम नभएको भन्दै वैकल्पिक नेतृत्वको बारे बहस ढिलो भैसकेको टिप्पणी गरे । तत्कालै नेतृत्व परिवर्तन गरेर जनतामाझ जानुको विकल्प नरहेको डा. तिमिल्सिनाको ठम्याई थियो ।
कार्यक्रममा सहभागी युवा विद्यार्थीहरू, खासगरी महेन्द्र बहुमुखी क्याम्पसका स्वयुवि सभापति केशरजंग शाही, पूर्व सभापति माधव कार्की, दिपक रसाईली, मोहित शाह, भीम ओली, दिपक जिएम, तिर्थराज ज्ञवाली, कृष्णा केसी नमूना, आइपी खरेल, धनराम वली, कृष्ण पाण्डे, दत्त आचार्य लगायतका धेरै वक्ताले कम्युनिष्ट आन्दोलन नेतृत्वकै कारण यो अवस्थामा पुगेको धारणा राखेका थिए । कार्यक्रमको सहजीकरण पत्रकार झलक गैरेले गरेका थिए ।
नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेमकिपा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेकपा बहुमत, विप्लव समूह लगायतका विभिन्न सक्रिय कम्युनिष्ट पार्टीका मुख्यगरी केन्द्रीय कमिटिका सदस्य, जिल्ला नेतृत्व, युवा तथा विद्यार्थी नेतृत्वको सहभागितामा अन्तरक्रियात्मक छलफल आयोजना गरिएको हो ।
‘मुलुकको राष्ट्रियता नै निकै कमजोर बनाउने षडयन्त्र भएपछि कम्युनिष्ट विचार भएकाहरू एकै ठाउँमा आउन् र मन्थन गरुन् भन्ने ढंगले यो मञ्चको सिर्जना गरिएको हो’, आयोजक फाउण्डेशनका अध्यक्ष दिपक बहादुर शाहीले दैनिक नेपालगन्जसँग भने, ‘बहस प्रारम्भ भएको छ, यसलाई निरन्तर श्रृखंलाबद्ध छलफल बहसहरू अगाडि बढाइनु पर्छ भन्ने हाम्रो बुझाई हो ।’
