महिला पत्रकारको सीप विकासमा तालिम

बाँकेमा क्रियाशील महिला पत्रकारहरूको व्यवसायिक, प्राविधिक तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित नेपालगन्जमा तीनदिने क्षमता अभिवृद्धि तालिम सञ्चालन भएको छ ।

बास नेपालले सामाजिक विकास डिभिजन कार्यालयको सहयोग, क्रियाशील पत्रकार महिला बाँकेको समन्वयमा आयोजना गरेको तालिम तीन दिनसम्म चल्नेछ ।
तालिमले महिला पत्रकारहरूलाई डिजिटल प्रविधि, खोजमूलक पत्रकारिता, आधुनिक लेखन शैली, तथ्य परीक्षण, मोबाइल पत्रकारिता तथा लैंगिक संवेदनशील रिपोर्टिङबारे व्यवहारिक ज्ञान प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । साथै मोफसलमा कार्यरत महिला पत्रकारहरूबीच व्यवसायिक सञ्जाल विस्तार गर्दै आपसी सहकार्य र सहयोगको भावना बलियो बनाउने उद्देश्य पनि तालिमको रहेको छ ।

शुक्रवार तालिम उद्घाटन गर्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारिताको वर्तमान आवश्यकता र चुनौतीलाई ध्यानमा राखेर समयसापेक्ष विषयवस्तु समेटिएको प्रशिक्षण आयोजना गरिएको बताए ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महिलाहरूका लागि विशेष रूपमा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन हुनु सकारात्मक पक्ष भएको बताए ।
नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य झलक गैरेले व्यवसायिक पत्रकारिताको आवश्यकता बढिरहेका बेला महिला पत्रकारहरूको क्षमता विकासका लागि गरिएको पहल उत्साहजनक भएको बताए । महासंघ बाँकेका पूर्व अध्यक्षसमेत रहेका गैरेले भने, ‘पत्रकारितामा भविष्य छ, त्यसैले सबैले पत्रकार आचारसंहिताको पालना गर्दै निडर र व्यवसायिक ढंगले काम गर्नुपर्छ ।’

उद्घाटन सत्रमा क्रियाशील पत्रकार महिला बाँकेकी संस्थापक अध्यक्ष अछरी पोख्रेल र अध्यक्ष सावित्री गिरीले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरूले महिला पत्रकारहरूको पेशागत विकासका लागि यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।
तालिम उद्घाटन कार्यक्रम बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माको अध्यक्षतामा भएको होे । कार्यक्रममा स्वागत मन्तव्य तथा तालिमको उद्देश्यबारे बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले जानकारी गराएका थिए । बास नेपालकी केन्द्रीय महासचिव कल्पना अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
तालिमको पहिलो दिन नेतृत्व विकास, पत्रकारितामा महिलाको सहभागिता र आत्मविश्वास, खोजमूलक पत्रकारिता, समाचारको तथ्य परीक्षण, मिथ्या सूचना तथा मोबाइल पत्रकारितालगायत विषयमा प्रशिक्षण दिइएको थियो। उक्त सत्रहरूमा कृष्ण अधिकारी, अछरी पोख्रेल र हेमराज भट्टले सहजीकरण गरेका थिए ।

आयोजकका अनुसार, तालिम आइतबारसम्म सञ्चालन हुनेछ । प्रशिक्षण अवधिभर सहभागीहरूलाई पत्रकारिताका समसामयिक विषय, डिजिटल माध्यमको प्रभावकारी प्रयोग, सामाजिक समावेशीकरण तथा लैंगिक दृष्टिकोणलाई समाचार सामग्रीमा समेट्ने सीपबारे समेत अभ्यासमुखी प्रशिक्षण प्रदान गरिनेछ ।

Exit mobile version