नेपालगन्जमा ८३ वर्षीय जापानी प्रशिक्षक सुगियो यामामोतोको प्रशिक्षण

नेपालप्रतिको लगाव र खेल सेवाको कथा

नेपालगन्ज रंगशालामा यो साता एउटा दृश्यले खेलप्रेमीको ध्यान तानेको छ । ८३ वर्षका जापानी व्याडमिन्टन प्रशिक्षक सुगियो यामामोतो दिनहुँ मैदानमा भेटिन्छन् । उनी कुनै औपचारिक कार्यक्रमका लागि मात्र होइन, पूर्ण रूपमा स्वयंसेवक रूपमा प्रशिक्षण दिइरहेका छन् । उमेरले धेरै दशक पार गरे पनि उनी अझै खेलाडी निर्माणको यात्रामा सक्रिय छन् ।

नेपालको चर्को गर्मीलाई बेवास्ता गर्दै प्रशिक्षणमा जुटिरहेका यामामोतोले दैनिक नेपालगन्जसँग छोटो कुराकानी गर्दै मुस्कुराउँदै भने, ‘जापानमा भए म ८३ वर्ष, नेपालमा त ५५ वर्षको भएँ ।’

उनको यो भनाइले वरपर रहेका नेपाली साथीहरू हाँसो रोक्न सकेनन् । छेउमै रहेका ८० वर्ष नजिक पुगेका नेपालगन्जका भेट्रान खेलाडी रतनकुमार टण्डन र व्याडमिन्टन प्रशिक्षक जयन्त श्रेष्ठ हाँसोमा मिसिए । त्यही क्षण नजिकै रहेका खेलाडी रोहित टण्डन पनि तस्वीर लिन व्यस्त भए ।

तर, केही समयमै वातावरण बदलियो । संवाद भावुक मोडमा पुग्यो । यामामोतोको आँखामा आँसु देखियो । उनी केही क्षण मौन भए । त्यसपछि उनले भने, ‘तिम्रो बाँकी जीवन नेपाली बालबालिकालाई प्रशिक्षण दिएर बिताउनु भनेर मलाई प्रेरित गरिरहने श्रीमतिको स्वर्गवास भयो ।’

त्यसपछि उनी केही समय भावविह्वल भए । उनले थपे, ‘उनीले दिएको जिम्मेवारी म अहिले पनि पूरा गरिरहेको छु ।’ नेपाल र नेपालीसँगको आफ्नो गहिरो सम्बन्धबारे उनले लामो अनुभव सुनाए । त्यो पनि नेपाली भाषा सजिलोसँग ।

नेपाल ब्याडमिन्टन संघले उनलाई कार्यकारिणी समितिमा सम्मानार्थ आजीवन उपाध्यक्षको जिम्मेवारी दिएको छ । यही सम्मानका कारण उनी अहिले पनि नेपालमा सक्रिय रूपमा प्रशिक्षण दिइरहेका छन् । उनी यो साता नेपालगन्जमा रहेका विद्यार्थी र बालबालिकालाई व्याडमिन्टन सिकाइरहेका छन् ।

यामामोतो पहिलो पटक सन् १९७० मा नेपाल आएका थिए । त्यसपछि १९७० देखि १९७२ सम्म र फेरि २००४ देखि २००७ सम्म नेपालमा रहेर राष्ट्रिय खेलाडीहरूलाई प्रशिक्षण दिएका थिए । उनले किशोरबहादुर सिंह, पशुपति पनेरू, विकास श्रेष्ठ, पूजा श्रेष्ठ, सुमिना श्रेष्ठ र शारादेवी तामाङलगायतका खेलाडीलाई प्रशिक्षण दिएको स्मरण गर्दै भने, ‘नेपालीको खेल भविष्य राम्रो छ ।’

उनले खेल विकासका चुनौतीबारे पनि स्पष्ट धारणा राखे । उनले भने, ‘खेल पदाधिकारीहरू आफ्ना लागि होइन, खेलाडीका लागि वातावरण बनाउनुपर्छ, खेललाई राजनीतिबाट टाढा राख्नुपर्छ ।’

उनको नेपालसँगको सम्बन्ध प्रशिक्षणमा सीमित छैन । उनले सन् १९७६ देखि १९९७ सम्म जापानमा राष्ट्रिय प्रशिक्षकका रूपमा काम गर्दा २५ पटकसम्म जापानलाई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक दिलाउन सफल भएको अनुभव पनि सुनाए । लामो समय नेपाली ब्याडमिन्टनको नेतृत्व गरेका टण्डन भन्छन्, नेपालका लागि विभिन्न ठाउँमा खेल सामाग्री र पूर्वाधार निर्माणमा सहयोग गरेको फेहरिस्त पनि सानो छैन ।

त्यसैगरी उनले जाइकामार्फत सन् २००६ देखि २००८ सम्म नेपालमा काम गरेको समय पनि सम्झिए। दक्षिण एसियाली प्रतियोगितामा नेपालले पदक जितेको र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेको क्षण पनि उनले स्मरण गरे ।

यस पटक पोखरामा दुई महिनाभन्दा बढी प्रशिक्षण सञ्चालन गरेपछि उनी काठमाडौंबाट नेपालगन्ज आएका हुन् । नेपालगन्जपछि अब सुर्खेत जाने र त्यसपछि काठमाडौंबाट बैंकक जाने उनको योजना रहेको छ ।

नेपालमा वर्षौंदेखि स्वयंसेवक रूपमा व्याडमिन्टनको विकासमा योगदान दिइरहेका यामामोतोले नेपाललाई आफ्नो दोस्रो घरजस्तै मानेका छन् । उनको कथा प्रशिक्षणकोमात्रै होइन, समर्पण, सम्झना र भावनाले भरिएको यात्रा पनि हो ।

Exit mobile version