चुनौति बन्दै नसर्ने रोग

नेपालमा पछिल्लो समय नसर्ने रोग जनस्वास्थ्यको प्रमुख चुनौतीका रूपमा देखा परेको छ । कुनै समय सरुवा रोगका कारण बढी मृत्यु हुने गरेको नेपालमा अहिले मुटुरोग, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला रोग, श्वासप्रश्वाससम्बन्धी दीर्घरोग लगायतका नसर्ने रोगले ठूलो संख्यामा नागरिकको ज्यान लिइरहेको तथ्यांकहरूले देखाएका छन् । स्वास्थ्य क्षेत्रका विज्ञहरूले बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक श्रमको कमी, मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन र नियमित स्वास्थ्य परीक्षणको अभावलाई यसको प्रमुख कारणका रूपमा औंल्याउँदै आएका छन् ।

यही सन्दर्भमा बाँकेको राप्तीसोनारी गाउँपालिकाको कार्यालयमा होप ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर नेपाल तथा उपभोक्ता हित संरक्षण मञ्च नेपाल बाँकेको आयोजनामा “नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरूको भूमिका” विषयक अन्तरक्रिया शुक्रबार आयोजना गरिएको छ ।

कार्यक्रममा स्वास्थ्य विज्ञ डा. राजन पाण्डेले नसर्ने रोगको वर्तमान अवस्था, यसले समाजमा पारेको प्रभाव तथा रोकथामका उपायबारे प्रस्तुति दिएका थिए । उनले नेपालमा नसर्ने रोग तीव्र गतिमा बढ्दै जानु चिन्ताको विषय भएको बताउँदै यसको नियन्त्रणका लागि व्यक्ति स्वयं सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए ।

डा. पाण्डेका अनुसार मानिसको दैनिक जीवनशैली नै नसर्ने रोगको प्रमुख कारक बन्दै गएको छ । ‘पहिलेको तुलनामा शारीरिक गतिविधि घट्दै जानु, बजारमा उपलब्ध प्रशोधित तथा जंक फुडको अत्यधिक प्रयोग, बढी नुन, चिनी र चिल्लोयुक्त खानेकुराको सेवन, धूमपान तथा मदिराजन्य पदार्थको प्रयोगले मानिसहरू विभिन्न दीर्घरोगको जोखिममा परिरहेका छन्’, डा. पाण्डेले भने । उनले भने, ‘नसर्ने रोग एक दिनमा लाग्ने रोग होइन । वर्षौंसम्मको अस्वस्थ जीवनशैली, लापरबाही र स्वास्थ्यप्रतिको बेवास्ताले यस्तो अवस्था सिर्जना गर्छ । त्यसैले रोग लागिसकेपछि उपचारभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय हो ।’ उनले नियमित स्वास्थ्य परीक्षणको महत्वसमेत औंल्याउँदै रक्तचाप, रगतमा चिनीको मात्रा, तौल, कोलेस्ट्रोल लगायतका सूचकहरू समय–समयमा जाँच गर्नुपर्ने बताए । प्रारम्भिक चरणमै रोग पहिचान भए उपचार सहज र कम खर्चिलो हुने उनको भनाइ थियो ।

राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त पौडेलले नसर्ने रोगका कारण राज्यले उपचारमा ठूलो रकम खर्च गर्नुपरेको बताए । सरकारले विभिन्न कार्यक्रममार्फत बिरामीलाई सहयोग गरे पनि उपचार खर्च अत्यन्त महँगो हुने भएकाले त्यो पर्याप्त हुन नसकेको उनको भनाइ थियो । ‘रोग लागिसकेपछि लाखौं रूपैयाँ खर्च गरेर उपचार गर्नुभन्दा समयमै सचेत भएर स्वस्थ जीवनशैली अपनाउनु बढी प्रभावकारी हुन्छ’, अध्यक्ष पौडेलले भने । उनले स्थानीय सरकारले स्वास्थ्य प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै नागरिकहरूलाई नियमित स्वास्थ्य परीक्षण गर्न आग्रह गरे । पालिका अध्यक्ष नसर्ने घातक रोगको विषयमा उल्लेख गर्दा अन्यले सुन्ने मात्रै गरेको बताउँदै जुन व्यक्ति, परिवारका सदस्यलाई घातक रोग लाग्छ, त्यो परिवार र व्यक्तिले मात्रै पीडा बुझ्न सक्ने धारणा राख्दै आफ्नो स्वास्थ्यमा सचेत हुने आग्रह गरे । उनले कार्यक्रममा उपस्थित पालिकाका स्वास्थ्य शाखा प्रमुख तथा कर्मचारी, वडाका जनप्रतिनिधिहरूलाई जनचेतनामूलक कार्यक्रममा जोड दिन आग्रह गर्दै त्यसका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए ।

गाउँपालिकाकी उपाध्यक्ष मनिसा सिंह थारुले नसर्ने रोगका कारण अपांगता भई सिफारिस लिन आउने नागरिकहरूको संख्या बढ्दै गएको बताइन् । नसर्ने रोगले व्यक्तिको स्वास्थ्य मात्र नभई परिवारको आर्थिक अवस्था, सामाजिक जीवन र कार्यक्षमतामासमेत गम्भीर असर पार्ने भएकाले यसको रोकथाममा सबै पक्षले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रीय महासचिव बसन्त गौतमले स्वस्थ जीवनका लागि स्वच्छ तथा सुरक्षित खाद्य वस्तुको पहुँच आवश्यक रहेको बताए । उनले बजारमा गुणस्तरहीन, अत्यधिक रासायनिक पदार्थ प्रयोग गरिएका तथा पोषणहीन खाद्य सामग्रीको बढ्दो प्रयोगले पनि नसर्ने रोगको जोखिम बढाइरहेको उल्लेख गरे । उनका अनुसार उपभोक्ताले खाद्य सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, पोषण तत्व र गुणस्तरसम्बन्धी जानकारी अनिवार्य हेर्नुपर्छ । स्वस्थ समाज निर्माणका लागि खाद्य सुरक्षाको विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए ।

राष्ट्रिय मानवअधिकार आयोग नेपालगन्जका प्रमुख द्वारिका अधिकारीले स्वास्थ्यलाई आधारभूत मानव अधिकारको रूपमा परिभाषित गरिएको स्मरण गराउँदै नागरिकको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताइन् । उनले स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा रोग रोकथामका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखिन् ।

कार्यक्रमका आयोजक होप ट्रेनिङ्ग एण्ड रिसर्च सेन्टर नेपालका अध्यक्ष राजेन्द्र गौतमले नसर्ने रोग नियन्त्रणका लागि जनचेतना नै सबैभन्दा प्रभावकारी माध्यम भएको बताए । उनले वडा तहदेखि समुदायसम्म स्वास्थ्य शिक्षा विस्तार गर्न आवश्यक रहेको उल्लेख गर्दै संस्थाले यस क्षेत्रमा निरन्तर सहकार्य र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा सहभागी जनप्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूले नसर्ने रोगसँग सम्बन्धित विभिन्न जिज्ञासा राखेका थिए । डा. पाण्डेले सहभागीहरूको प्रश्नको जवाफ दिँदै स्वस्थ जीवनशैली अपनाउनु नै दीर्घकालीन समाधान भएको बताए ।

स्वास्थ्यकर्मीहरूका अनुसार नसर्ने रोगबाट बच्न दैनिक कम्तीमा ३० मिनेट शारीरिक व्यायाम गर्नुपर्ने, प्रशस्त फलफूल तथा हरियो सागसब्जी सेवन गर्नुपर्ने, नुन, चिनी र चिल्लो पदार्थको मात्रा नियन्त्रण गर्नुपर्ने, पर्याप्त निद्रा लिनुपर्ने तथा मानसिक तनाव व्यवस्थापनमा ध्यान दिनुपर्ने हुन्छ । साथै धूमपान र मदिराजन्य पदार्थको सेवन त्याग्नु अत्यन्त आवश्यक मानिन्छ ।

विशेषज्ञहरूका अनुसार, यदि अहिले नै सचेतना, रोकथाम र स्वस्थ जीवनशैली प्रवद्र्धनमा पर्याप्त ध्यान नदिने हो भने आगामी वर्षहरूमा नसर्ने रोग नेपालको स्वास्थ्य प्रणालीका लागि अझ ठूलो चुनौती बन्न सक्छ । त्यसैले व्यक्ति, परिवार, समुदाय, स्थानीय तह, प्रदेश तथा संघीय सरकार सबैले समन्वयात्मक रूपमा काम गरी स्वस्थ समाज निर्माणतर्फ अग्रसर हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

कार्यक्रमले नसर्ने रोग नियन्त्रणका लागि जनचेतना अभिवृद्धि, स्वस्थ खानपानको प्रवद्र्धन, नियमित स्वास्थ्य परीक्षण तथा बहुपक्षीय सहकार्यको महत्वलाई पुनः उजागर गरेको सहभागीहरूले बताएका छन् ।

साइबेरियम प्रा.लि.ले प्राविधिक सहयोग गरेको कार्यक्रमको सञ्चालन सुरेश गौतमले गरेका थिए ।

Exit mobile version