लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि पर्यटन क्षेत्रको विकास गर्ने उद्देश्यसहित करिब ८ सय योजना अघि सारेको भए पनि तीमध्ये अधिकांश योजना धार्मिक संरचनाको निर्माण र स्तरोन्नतिसँग सम्बन्धित रहेको पाइएको छ । प्रदेश सरकारले पर्यटन पूर्वाधार विकासको नाममा वर्षौंदेखि धार्मिक संरचनामै बजेट केन्द्रित गर्दै आएको भन्दै आलोचना भइरहेका बेला नयाँ बजेटले पनि त्यही प्रवृत्तिलाई निरन्तरता दिएको देखिएको छ ।
प्रदेश सरकारले आगामी आ.व. २०८३ का लागि पर्यटन डिभिजन कार्यालय मार्फत ८ सय २६ वटा योजनाका लागि ५ देखि १ करोडसम्म बजेट विनियोजन गरेको छ । धेरै योजना ५ देखि १० लाखसम्मका रहेका छन् ।
एकमुष्ट ठूला परियोजना भन्दा यसपटक पनि बजेट छर्ने कार्य धेरै भएको छ । ‘प्रदेश सरकारले पर्यटनका क्षेत्रमा पर्यटक आकर्षित गर्नका लागि थोरै योजना भएपनि ठूलो परिणामको बजेट तथा कार्यक्रम ल्याउने हो भने त्यो प्रभावकारी हुन्छ’, नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देल भन्छन् ।
‘कसैलाई खुसी बनाउनका लागि ल्याउने टुक्रे योजनाहरूले बाह्य पर्यटक भित्र्याउनका लागि कुनै भूमिका खेल्न सक्दैन,’ नाट्टा बाँकेका संस्थापक अध्यक्ष सिग्देलले भने, ‘बाँकेमा पर्यटक भित्र्याउनका लागि प्रशस्त सम्भावना छ, त्यसका लागि सरकारले पर्यटकीय पूर्वाधार तथा प्रवद्र्धनमा लगानी गर्न आवश्यक छ ।’ पर्यटकीय क्षेत्र सम्भावना बोकेको क्षेत्र भएको उल्लेख गर्दै सिग्देलले त्यसबाट राज्यलाई कर, स्थानीय उत्पादनको खपत, रोजगारी सिर्जनासँगै समग्र विकासमा टेवा पुग्ने तर्फ राज्यको ध्यान जानुपर्ने बताए ।
प्रदेश संरचना स्थापना भएपछि पर्यटन क्षेत्रको दीर्घकालीन विकास, नयाँ पर्यटकीय गन्तव्यको पहिचान, पर्यटन पूर्वाधार विस्तार, सांस्कृतिक सम्पदाको संरक्षण तथा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको थियो । तर प्रदेश सरकार गठन भएदेखि नै पर्यटन विकासका नाममा धार्मिक स्थल निर्माण तथा मर्मत–सम्भारका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको आरोप लाग्दै आएको छ ।
‘पर्यटन विकासका लागि आवश्यक सडक पहुँच, सूचना केन्द्र, पर्यटकीय पार्क, पदमार्ग, होमस्टे प्रवद्र्धन, साहसिक पर्यटन, सांस्कृतिक सम्पदा संरक्षण तथा पर्यटकमैत्री पूर्वाधार निर्माणजस्ता योजनामा पर्याप्त लगानी हुन सकेको छैन’, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले भने, ‘धार्मिक क्षेत्रलाई बजेट छुट्याउँदा पनि ठूलै परिवर्तन हुने गरी बजेट नछुट्याउने र बजेट छर्ने कार्य उचित होइन ।’ धार्मिक पर्यटकको सम्भावना भएपनि सरकारले बजेट छर्ने बाहेक ठूलो लगानी बाँकेमा नगरेको श्रेष्ठ बताउँछन् ।
‘हामी कहाँ प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिर छ, राष्ट्रिय निकुञ्ज छ, होम स्टे छ, बाँकेमा पर्यटकहरूको आतिथ्यताका लागि निजी क्षेत्रबाट अर्बौ लगानीमा होटल व्यवसाय सञ्चालनमा छन्’, मञ्च बाँकेका संयोजक श्रेष्ठ भन्छन्, ‘तर, सरकारबाट बाह्य पर्यटक आकर्षित गर्न अपेक्षित लगानी भएको छैन ।’ उनले बजेट छर्ने कार्य रोकेर ठूलो लगानीमा ठूला दीर्घकालीन योजना बढाएर अघि बढ्न सकेमात्रै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सकिने बताए ।
समाजका प्रतिनिधिहरूले पनि प्रदेश सरकारको योजना छनोट प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् । उनीहरूका अनुसार, प्रदेश सरकारले साना–साना टुक्रे योजना वितरण गरेर राजनीतिक प्रभाव विस्तार गर्ने प्रयास गरेको छ । पर्यटन क्षेत्रको विकासका नाममा विनियोजन गरिएको बजेट उत्पादनशील र दीर्घकालीन प्रभाव पार्ने आयोजनामा केन्द्रित हुनुपर्ने उनीहरूको माग छ ।
प्रदेश सरकारले भने धार्मिक तथा सांस्कृतिक स्थलहरू पनि पर्यटनका महत्वपूर्ण आधार भएकाले तिनको संरक्षण र विकासलाई प्राथमिकता दिएको बताउँदै आएको छ ।
बाँकेका लागि यस्ता छन् केही योजना
प्रदेश सरकारले आगामी आ.व.मा पर्यटन डिभिजन कार्यालयमार्फत बाँकेमा चिडिमार र बाढी समुदायको वृत्तचित्र निर्माणका लागि ८ लाख, बाँके, बर्दियाका पुरातात्विक तथा पर्यटकीय सम्पदाहरूको पहिचान तथा अभिलेखिकरणका लागि १० लाख, बैजनाथ गाउँपालिकाका अन्तर्गत पर्यटन सुशासन सचेतनाका लागि ५ लाख, बजैनाथ गाउँपालिकामा सुतैया, कान्चा पर्यटकीय तालको बिस्तृत परियोजना प्रतिवेदनका लागि १० लाख, कोहलपुर वडा नं. १२ सुन्दर बस्ती पार्क तथा शिव मन्दिर धार्मिक क्षेत्रको बिस्तृत परियोजना निर्माणका लागि १० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, नेपालगन्ज–२ अधुरो शिव रामजानकी मन्दिर सौन्र्दयीकरणका लागि १० लाख, नेपालगन्ज ४ मा धर्मशाला निर्माणका लागि १५ लाख, नेपालगन्ज वडा नं. ९ महाकाली मन्दिर सौन्दर्यकरणका लागि १० लाख, नेपालगन्ज वडा नं. १० मा त्रिशक्ति मन्दिर स्तरोन्नतीका लागि ७ लाख, नेपालगन्ज वडा नं. १६ मा अब्बु बकर मस्जिद स्तरोन्नतीका लागि १० लाख, नेपालगन्ज वडा नं. १४ मा कब्रस्थान निर्माणका लागि १० लाख, डुडुवा ४ मा उचेमसहा मस्जिदको संरचना निर्माणका लागि ६ लाख विनियोजन प्रदेश सरकारले गरेको छ ।
