वन स्टेप फाउन्डेसनः विद्यार्थीका सहयोगी पाइला

शैक्षिक सामग्रीसँगै विद्यालय पूर्वाधारका लागि ८ लाख रुपैयाँ सहयोग

शैक्षिक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीलाई लक्षित गर्दै वन स्टेप फाउन्डेसनले कमल शर्मा फाउन्डेसनको सहकार्यमा विद्यालयमै शैक्षिक सामग्री वितरण गरेको छ । गुल्मीको सत्यवती गाउँपालिका–६ जोहाङस्थित सरस्वती माध्यमिक विद्यालयका २४४ जना विद्यार्थीले सोमबार शैक्षिक सामग्री प्राप्त गरेका हुन् ।

कार्यक्रमअन्तर्गत २४४ थान विद्यालय झोला, २४४ दर्जन पेन, २४४ दर्जन पेन्सिल तथा कापीलगायतका सामग्री विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो । सामग्री वितरणपछि विद्यार्थीको अनुहारमा देखिएको उत्साह र खुसीले यस्ता सामाजिक तथा शैक्षिक अभियानलाई थप विस्तार गर्न प्रेरणा मिलेको आयोजकले जनाएको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा वन स्टेप फाउन्डेसनका नेपाल प्रतिनिधि महेश जोशीले विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री वितरणले आर्थिक रूपमा कमजोर तथा आवश्यक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीको अध्ययनलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ ।

सोही क्रममा, कमल शर्मा फाउन्डेसनकी संस्थापक सरिता शर्माले विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ८ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् । विद्यालयको शैक्षिक वातावरण सुधार तथा आवश्यक संरचनाको विकासमा उक्त रकम उपयोग हुने जनाइएको छ ।

कार्यक्रममा सहभागीहरूले शिक्षामा गरिएको लगानीले दीर्घकालीन रूपमा समाज र राष्ट्रको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखेका थिए । उनीहरूले विद्यार्थीको सिकाइ यात्रालाई सहज र गुणस्तरीय बनाउन सरकारी निकायसँगै सामाजिक संस्थाको भूमिका पनि उत्तिकै आवश्यक रहेको बताए ।

‘शिक्षामा गरिएको लगानी नै उज्ज्वल भविष्य निर्माणको बलियो आधार हो,’ कार्यक्रममा व्यक्त धारणा उद्धृत गर्दै आयोजक पक्षले जनाएको छ, ‘यस प्रकारको सहयोगले विद्यार्थीहरूको शैक्षिक यात्रामा सकारात्मक टेवा पुग्ने विश्वास गरेका छौं ।’

कार्यक्रममा गाउँपालिका अध्यक्ष टिकाराम पाण्डे, प्रधानाध्यापक छबिलाल भण्डारी, सहायक प्रधानाध्यापक शशीधर गौतम, जनप्रतिनिधि, शिक्षक तथा स्थानीय समुदायका प्रतिनिधिको उपस्थिति रहेको थियो । उनीहरूले विद्यालयमा शैक्षिक सामग्री वितरण र पूर्वाधार विकासका लागि प्राप्त सहयोगले विद्यार्थीको अध्ययन वातावरण सुधार्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Exit mobile version