“भर्जिन ल्याण्ड” गिडीदह !

पर्यटनको क्षेत्रमा “भर्जिन ल्याण्ड”को बारेमा खुबै चर्चा हुने गरेको पाइन्छ । अत्यन्त मनमोहक, सुन्दर र धेरैजसो पर्यटकहरू पुग्न नसकेको ठाउँलाइ “भर्जिन ल्याण्ड” भनेर प्रचार प्रसार गरेको देखिन्छ । भर्जिन ल्यान्डको उपमा दिइएपनि वास्तवमा ति ठाउँहरू सडक, पूर्वाधार, होटल, मानव वस्ती आदिका कारण त्यस्तो “भर्जिनिटी” रहेको पाईंदैन । कर्णाली प्रदेशको जुम्ला जिल्लास्थित तातोपानी गाउँपालिका वडा नं. ४ मा रहेको गिडीदह यो मानेमा साँच्चै “भर्जिन ल्याण्ड”मा पर्दछ । जहाँ हालसम्म कुनै पनि पर्यटक पुग्न सकेका छैनन् भन्दा पनि हुन्छ । न त सडक, होटल र मानव वस्तीको कोलाहल नै ।

समुद्री सतहबाट करिब ३ हजार ४ सय ८५ मिटरको उचाइमा रहेको यो ताल नेपालको सबैभन्दा ठुलो ताल रारा भन्दा पनि करिब ४ सय ९५ मिटर अझ बढी उचाइमा रहेको छ । कर्णालीमै पर्ने नेपालको सबैभन्दा गहिरो ताल शे फोक्सुण्डोको हाराहारी उचाइमा रहेको यो ताल शे फोक्सुण्डो भन्दा करिब १२६ मिटर मात्र उचाइमा कम छ । यस हिसाबले नेपालकै सबैभन्दा ठुलो ताल रारा र नेपालकै सबैभन्दा गहिरो ताल शे फोक्सुण्डो पछिको यो तेश्रो गहिरो ताल हो र उचाइका हिसाबमा भने शे फोक्सुण्डो पछिको दोस्रो बढी उचाइमा रहेको ताल पनि हो ।

करिब १५ सय १० मिटर लम्बाई र ३ सय १० मिटर चौडाई रहेको यो तालको स्वरूप झन्डै शे फोक्सुण्ड जस्तो देखिन्छ । त्यस्तो देखिनुमा यसका केहि समानता छन् । पहिलो यसको उचाई, दोस्रो यसको आकार, तेस्रो यसको अवस्थिति जहाँ वरिपरी पहाड, जंगल र बिचमा ताल रहेको छ र चौथो हो यसको पानीको प्राकृतिक रंग । पाँचौ समानता “भर्जिनिटी” पनि मान्न सकिन्छ । तर गिडीदहको सामुन्ने नेपालका कुनैपनि स्थान भर्जिन लाग्दैनन् । यो वास्तवमै भर्जिन ताल हो । जसलाई अहिलेसम्म कसैले छुन र चुम्न सकेको छैन भन्दा पनि हुन्छ ।

यो हालसालै पत्ता लागेको ताल भने होइन । तालका बारेमा स्थानीयलाई थाहा नभएको वा सरकारलाई थाहा नभएको पनि होइन । तर त्यहाँ सम्म पुग्ने आँट कसैले गरेन । केन्द्रिकृत राज्य व्यवस्थामा कर्णाली नै ओझेलमा परेका बेला यो ताल ओझेलमा पर्नु कुन नौलो कुरो भयो र ?! सरकारले चासो देखाउने कुरो भएन । स्थानीयको सामथ्र्यले भ्याउने कुरो भएन । न बाटो, न वस्ती, न सुरक्षा ! अनकन्टार पहाडको जंगलको बीचमा रहेको यो तालमा पुग्न कसैले ज्यानको बाजी लगाउन चाहेनन् । त्यहि भएर होला एउटा किम्बदन्ती बनेको “गिडीदहलाई हेर्नु पनि हुन्न र त्यहाँको पानी पिउनु पनि हुन्न ।” त्यतातिर हे¥यो र त्यहाँको पानी खायो भने मान्छे मर्छ भन्ने कथन अहिले पनि छ, त्यहाँ । त्यसलाई चिर्दै पहिलोपटक सोहि वडाका वडा अध्यक्ष अमर रोकायाले त्यहाँ सम्म पुग्ने योजना बनाएर र गाउँपालिकाका अध्यक्ष नन्द प्रसाद चौलागाईं सहित जनप्रतिनिधि र कर्मचारीको टोलि जंगल र खोलाहरू छिचोल्दै दुइ दिनको पैदल यात्रा हिंडेर पहिलोपटक २०७९ सालको असोज महिनामा तालमा पुग्यो ।

वास्तवमा यो नै पहिलो प्रयास थियो र एक किसिमले भन्ने हो भने ठुलो सफलता पनि । “सुनको खाटमा सुतेर कचौरामा भिख माग्ने” कथाको साक्षी यो टोलि पनि भयो सायद । त्यहाँबाट फर्केपछि गिडीदहलाई चिनाउने प्रयत्नमा स्थानीय सरकार लाग्यो । त्यसैको फलस्वरूप पहिलोपटक यसको आधिकारिक नाप जाँच गर्ने कार्य हालै सम्पन्न भएको छ । उक्त रिपोर्ट अनुसार यो तालको उचाई समुद्री सतहबाट ३,४८५ मिटर, गहिराई ४२.८ मिटर, लम्बाई १५१० र चौडाई ३१० मिटर रहेको प्रमाणित भएको छ । “पर्यटन प्रवद्र्धनमा जुटौं” भन्ने नारा सहित दोश्रोपटक सोहि वडा र गाउँपालिकाको टोलि गत साता गिडीदह पुग्यो र प्रचार प्रसार तथा पूर्वाधार विकासका लागि सबै पक्षको ध्यानाकर्षण गर्ने कार्य यसबाट भएको छ ।

वास्तवमा प्राकृतिक सम्पदालाई प्राकृतिक नै रहन दिनुपर्छ । त्यो नै उसको सुन्दरता हो । जसलाई हामि “भर्जिन प्लेस” भन्छौं । विकास वा पूर्वाधारका नाममा प्राकृतिक सम्पदालाइ असाध्यै अतिक्रमण गर्नु पनि हुँदैन । जैविक विविधता र प्राकृतिक सौन्दर्यतालाई असर नपर्ने गरि मार्ग निर्माण र बास व्यवस्थापन सम्मको व्यवस्था गरिनु पर्दछ । गिडीदहसम्म जानको लागि पैदल मार्गको निर्माण र बासको लागि सो गाउँपालिकाले प्रयास गरिरहेको देखिन्छ । यसमा सबैपक्षको हातेमालो जरुरी छ । सहज पैदल मार्ग, सुरक्षा र बासको व्यवस्था मात्र हुन सकेको खण्डमा पनि गिडीदह पर्यटकको पहिलो रोजाइमा पर्ने निश्चित छ । भर्जिन प्लेसको खोजीमा रहेका पर्यटकहरूका निमित्त यो भर्जिन ल्याण्ड नै हो । यहाँ चराचुरुङ्गीहरूको चिरबिरले विहानीको निस्तब्धता चिर्छ । खोला÷झरनाको छंगछंग आवाजले पहाडहरूलाई गुञ्जायमान बनाउँछ । पाटनका विशाल हरिया फाँटहरूमा सुनौलो घामको किरण फैलिँदा प्रकृतिले आफ्नो अनुपम सौन्दर्यको पर्दा उघार्छ । रंगीबिरंगी फूलहरूको सुवासले हावालाई मधुर बनाउँछ भने बुकीको मादक बासनाले मनलाई अनन्त आनन्दले भरिदिन्छ ।

साँझ पर्नासाथ पश्चिम आकाशमा छरिने राताम्मे घाम, चराहरूको गुँडतिरको उडान, तालको नीलो पानीमा झल्किने चन्द्रमाको प्रतिबिम्ब र टाढा पहाडको काखबाट सुनिने बाँसुरीको मधुर धुनले प्रकृतिलाई एउटा रमाइलो काव्यमा रूपान्तरण गरिदिन्छ । हिमालका सेता शिखरहरूमा खेल्ने सुनौलो घाम, डाँडाकाँडामा लुकामारी खेल्ने कुहिरो, वनभित्र सुसेल्ने शीतल हावा र पातहरूबीच सुम्सुम्याउँदै बहने बतासले जीवनको मधुर गीत गाउँछन् । जंगली जनावरहरूको गर्जन, कस्तुरी मृगको चञ्चल दौड, थार, घोरल र पाण्डाहरूको बधान, डाँफेको नृत्य र झ्याउँकिरीको गुन्जनले वनलाई मात्र होइन मनलाई नै आल्हादित र जीवन्त बनाइरहेको हुन्छन् । गिडीदह केवल एउटा दह होइन, प्रकृतिले आफ्ना सम्पूर्ण रङ, रस र सुवास मिसाएर बनाएको एउटा पूर्ण काव्य हो । गिडीदहको निर्मल जलमा नीलो आकाशले आफ्नो अनुहार हेरेको र बादलहरू पानीमाथि खेलिरहेको जस्तो देखिन्छ । बिहानको सुनौलो घाम दहको सतहमाथि छरिँदा पानीका तरङ्गहरू हजारौँ सुनका टुक्राझैँ टल्किन्छन् । साँझ पर्दा अस्ताउँदो सूर्यका राताम्मे किरणहरू दहमा विलीन हुँदै जाँदा प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर चित्र कोरेजस्तो लाग्छ ।

शीतल बतासले पानीका छालहरूसँग खेल्दा दहका किनारहरूमा मधुर लय जन्मिन्छ । दह वरिपरिका वन जंगल र बुकीका सुगन्धित फाँटहरू, रङ्गीबिरङ्गी फूलहरूमा टल्किएका शीतका मोतीहरूले गिडीदहलाई स्वर्गको एउटा सानो टुक्राजस्तै बनाइदिएको छ । कुहिरोले बिहान दहलाई सेतो घुम्टोले ढाकिदिन्छ भने डाँडाबाट बिस्तारै उदाउने सूर्यले त्यो घुम्टो हटाउँदै जाँदा गिडीदह नववधूझैँ सजिएर मुस्कुराएको अनुभूति हुन्छ । आहा ! साँच्चै सुन्दर गिडीदह ।

वरिपरिको निस्तब्धता, पातहरूको सुसाइ र प्रकृतिको गहिरो मौनताले मनलाई अनौठो शान्ति प्रदान गर्छ । रात पर्दा जूनको उज्यालो दहमा झरेर चाँदीका टुक्राहरू छरिएझैँ देखिन्छ भने टल्किरहेका ताराहरूले आकाश र दहबीच अद्भुत संवाद गरिरहेको आभास हुन्छ । गिडीदह केवल दह होइन, यो चराचुरुङ्गीहरूको चिरबिर कविता हो । खोला, झरना र झ्याउँकिरीको मिठो सङ्गीत हो । फूल र बुकिको सुवास हो । डाँफे, कालिज र भ्याकुरहरूको प्रेम प्रदर्शन गर्ने क्रिडास्थल हो । र, दहको नीलो कन्चन पानी जीवनको ऐना हो । प्रकृतिका अनेकौं बिम्बहरूलाई आफ्नो काखमा सजाएर बसेको गिडीदहले आगन्तुकलाई केवल दृश्य मात्र दिँदैन, उसलाई प्रकृतिसँग आत्मीय संवाद गर्ने अवसर पनि प्रदान गर्छ । अँ, साँच्चै जाने हैन त एकपटक गिडीदह ?!
मभखअजबगबिनबष्ल२नmबष्।िअयm

Exit mobile version