नागार्जुन डेभलपमेन्ट कम्युनिटीद्वारा सञ्चालित प्रवासी (माइग्रेन्ट) कार्यक्रमअन्तर्गत आउटरिच कार्यकर्ता (ORWs) हरूका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम आयोजना भएको छ। तालिममा सहभागी कार्यकर्ताहरूले समुदायमा काम गर्ने क्रममा भोगेका चुनौती, उपलब्धि तथा आगामी अपेक्षाबारे अनुभव आदानप्रदान गरेका थिए।
तालिमका क्रममा आउटरिच कार्यकर्ताहरूले एच आ ईभी तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दा अझै पनि सामाजिक कलंक, लाज र चेतनाको कमी मुख्य चुनौतीका रूपमा रहेको बताएका छन्। सहभागीहरूले समुदायमा निरन्तर सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहे पनि अझ व्यापक जनचेतनाको आवश्यकता रहेको धारणा व्यक्त गरे।
कार्यक्रममा बाँके जिल्लाका एचआईभी फोकल पर्सन रविन्द्र शाहले सन् २०३० सम्म “शून्य नयाँ एचआईभी संक्रमण, शून्य एड्ससम्बन्धी मृत्यु” को लक्ष्य हासिल गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताबारे जानकारी दिए। उनले एच आई भी संक्रमित व्यक्तिहरूले पनि नियमित उपचार र परामर्शमार्फत लामो, स्वस्थ र गुणस्तरीय जीवन बिताउन सक्ने बताए। साथै, १५ वर्षभन्दा माथिका महिला तथा पुरुषमध्ये महिलाहरूमा संक्रमणको संख्या तुलनात्मक रूपमा बढी देखिएको तथ्यांक प्रस्तुत गरे।

तालिमका प्रशिक्षक तथा यूएनडीपीका फोकल पर्सन सीमा गिरी र स्वास्थ्य विशेषज्ञ डा. समीर मैनालीले एच आई भी रोकथाम, परीक्षण, उपचार तथा समुदायमा सचेतना अभिवृद्धिका विषयमा सहजीकरण गरेका थिए।
कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका प्रमुख जगदीश्वर बस्नेतले स्थानीय तहले एच आई भी नियन्त्रण तथा स्वास्थ्य प्रवर्द्धनका कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताए।
नागार्जुन डेभलपमेन्ट कम्युनिटीका कार्यकारी निर्देशक जगदीशचन्द्र भट्टले सरकारी निकाय तथा साझेदार संस्थाहरूको सहयोगमा समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। उनले संस्थाले विशेषगरी प्रवासी कामदार र उनीहरूका जीवनसाथीलाई लक्षित गरी एच आई भी रोकथाम, परीक्षण तथा उपचार सेवामा पहुँच विस्तार गर्ने काम गरिरहेको बताए।
उनका अनुसार विगतको तुलनामा एच आई भीबारे मानिसहरूको चेतना बढेको छ। पहिले एच आई भी परीक्षण वा यौन स्वास्थ्यसम्बन्धी विषय उठ्नेबित्तिकै लाजका कारण स्वास्थ्य जाँच गर्न नचाहने प्रवृत्ति रहे पनि अहिले धेरै व्यक्ति स्वयं परीक्षणका लागि स्वास्थ्य संस्थामा पुग्ने गरेका छन्। कन्डमको सही र नियमित प्रयोगबारे जनचेतना बढ्दै जाँदा नयाँ संक्रमण दर पनि क्रमशः घट्दै गएको उनको भनाइ थियो।
कार्यक्रममा एच आई भी संक्रमणका प्रमुख माध्यमबारे समेत जानकारी दिइएको थियो। असुरक्षित यौन सम्पर्क, संक्रमित सुई वा सिरिन्जको साझा प्रयोग, संक्रमित रगतको प्रयोग तथा विदेश रोजगारीका क्रममा संक्रमण भएर फर्किएका व्यक्तिबाट श्रीमान्–श्रीमतीबीच संक्रमण सर्न सक्ने जोखिमबारे सहभागीहरूलाई सचेत गराइएको थियो। विशेषज्ञहरूले प्रत्येक यौन सम्पर्कमा सही तरिकाले र निरन्तर कन्डम प्रयोग गर्नुपर्ने, नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने तथा संक्रमण पुष्टि भएमा तत्काल उपचारमा जोडिनुपर्नेमा विशेष जोड दिएका थिए।
सहभागीहरूले तालिमले आफ्नो ज्ञान, सीप र कार्यक्षमता अभिवृद्धि गर्न सहयोग पुगेको बताउँदै समुदायमा अझ प्रभावकारी रूपमा एच आई भी रोकथाम, उपचारमा पहुँच र विभेद न्यूनीकरणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।