रुपईडीहाका पाँच मेडिकल स्टोरमा औषधि कारोबार रोक

नशालु औषधि नियन्त्रण अभियानमा संयुक्त छापा

नेपाल सीमासँग जोडिएको भारतीय बजार रुपईडीहामा नशालु औषधिको अवैध कारोबारबारे निरन्तर उठिरहेका प्रश्न र सार्वजनिक चासोबीच औषधि विभाग तथा स्थानीय प्रहरीले संयुक्त अनुगमन अभियान सञ्चालन गरेको छ । बुधबार गरिएको आकस्मिक छापामारीका क्रममा विभिन्न अनियमितता फेला परेपछि पाँच मेडिकल स्टोरमा तत्कालका लागि औषधि खरिद–बिक्री रोक लगाइएको त्यहाँबाट पत्रकार सुरेन्द्र मधेसियाले जानकारी दिएका छन् ।

सहायक आयुक्त औषधि, देवीपाटन मण्डल गोंडाका पी.सी. रस्तोगीको नेतृत्वमा औषधि विभाग र रुपईडीहा प्रहरीको संयुक्त टोलीले बुधवार बजार क्षेत्रका विभिन्न मेडिकल स्टोरमा आकस्मिक निरीक्षण गरेको हो । अनुगमनका क्रममा आकाश मेडिकल स्टोर, आराध्या मेडिकल स्टोर, लक्ष्मी मेडिकल स्टोर, चन्द्रा मेडिकल स्टोर र कृष्णा मेडिकल स्टोरको जाँच गरिएको थियो ।

निरीक्षणका बेला ती प्रतिष्ठानमा विभिन्न प्रकारका अनियमितता देखिएपछि विभागले तत्काल प्रभावबाट औषधिको खरिद तथा बिक्रीमा रोक लगाएको जनाएको छ । सम्बन्धित सञ्चालकलाई अर्को आदेश जारी नहुँदासम्म कुनै पनि प्रकारको औषधि कारोबार नगर्न निर्देशन दिइएको छ ।

कारबाहीको खबर बजारभर फैलिनासाथ मेडिकल स्टोर सञ्चालकमाझ त्रास र अन्योल देखिएको थियो । छापामारीको सूचना पाएपछि केही सञ्चालकले पसल बन्द गरेका थिए भने कतिपय सञ्चालक त्यहाँबाट निस्किएर भागेकोे स्थानीय प्रत्यक्षदर्शीले बताए ।

सीमावर्ती क्षेत्रमा लामो समयदेखि नशालु औषधिको अवैध कारोबार भइरहेको गुनासो विभिन्न तहबाट उठ्दै आएको छ । पछिल्ला दिनमा यस विषयमा सञ्चारमाध्यममा लगातार समाचार प्रकाशित भएपछि सम्बन्धित निकायमाथि निगरानी र कारबाहीको दबाब बढेको थियो । त्यसैको बीचमा औषधि विभाग र प्रहरीले संयुक्त रूपमा अनुगमन थालेका हुन् ।

स्थानीय बासिन्दाले सीमाक्षेत्रमा सञ्चालन भइरहेका औषधि पसलमाथि नियमित निगरानी आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार, अवैध रूपमा नशालु औषधि बिक्री गर्ने प्रतिष्ठानविरुद्ध निरन्तर र कडा कारबाही हुन सके युवापुस्तालाई दुव्र्यसनको चपेटाबाट जोगाउन सहयोग पुग्नेछ । यसले नेपाली युवा सबैभन्दा बढी प्रभावित भइरहेका थिए ।

‘यस्ता पसलमाथि बेलाबेला मात्र होइन, नियमित जाँच हुनुपर्छ,’ एक स्थानीयले दैनिक नेपालगन्जसँग भने, ‘अवैध कारोबार नियन्त्रण गर्न सके धेरै युवालाई नशाको दलदलमा फस्नबाट बचाउन सकिन्छ ।’

संयुक्त टोलीको कारबाहीपछि रुपईडीहाका मेडिकल स्टोर सञ्चालकमाझ हडकम्प मच्चिएको छ । सर्वसाधारणले भने प्रशासनको कदमलाई सकारात्मक रूपमा लिँदै नियमविपरीत सञ्चालन भएका मेडिकल स्टोरको विस्तृत छानबिन गर्न माग गरेका छन् ।

अब स्थानीयवासीको ध्यान छापामारीका क्रममा भेटिएका अनियमिततामाथि हुने कानुनी प्रक्रियातर्फ केन्द्रित भएको छ । जाँचबाट प्राप्त तथ्यका आधारमा सम्बन्धित प्रतिष्ठानविरुद्ध के कस्तो कारबाही अघि बढ्छ र सीमा क्षेत्रमा फैलिएको नशीला औषधिको अवैध कारोबारलाई कति हदसम्म नियन्त्रण गर्न सकिन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको पत्रकार मधेसियाले बताए ।

Exit mobile version