होटल तथा पर्यटन क्षेत्रका व्यवसायीको क्षमता अभिवृद्धि गर्दै संघ

नेपालगन्जका होटल तथा पर्यटन क्षेत्रको सेवा गुणस्तर सुधार तथा व्यवसायीको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित आतिथ्य तथा सरसफाइसम्बन्धी तालिम सञ्चालन हुने भएको छ ।

होटल व्यवसायी संघ बाँके नेपालगन्जले नेपाल पर्यटन बोर्डसँगको संयुक्त आयोजनामा यहाँका ५० जना होटल तथा पर्यटन व्यवसायीहरुलाई दुई दिनसम्म उक्त तालिम दिने भएको हो ।

‘व्यवस्थापन आफैं सहभागी व्यवसायी तथा होटल व्यवस्थापकको क्षमता अभिवृद्धि गर्ने आयोजनाको उद्देश्य हो,’ आज विहीवारदेखि नेपालगन्जको कारकाँदोस्थित होटल इन्द्रेणी एन्ड रेष्टुरेन्ट्समा तालिम सुरु हुने जानकारी दिंदै आयोजकले भन्यो ।

आयोजक होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेलका अनुसार, तालिममा होटल तथा पर्यटन उद्योगसँग प्रत्यक्ष सरोकार राख्ने विविध विषयमा प्रशिक्षण दिइने कार्यक्रम रहेको छ । सहभागीलाई सेवा व्यवस्थापनदेखि सरसफाइ, सुरक्षा र बजार प्रवद्र्धनसम्मका विषयमा व्यवहारिक ज्ञान प्रदान गरिने अध्यक्ष कंडेलले जानकारी दिए ।

तालिममा आतिथ्य सेवा र सरसफाइलाई केन्द्रमा राखिएको बताइएको छ । तालिमका प्रशिक्षकका रूपमा विषय विज्ञहरु निम्त्याइएको अध्यक्ष कंडेलले जानकारी दिए । ‘पर्यटन व्यवसायको गुणस्तर सुधारका लागि आवश्यक मानिएका विभिन्न विषयमा केन्द्रित भएर प्रशिक्षण सञ्चालन गरिनेछ,’ अध्यक्ष कंडेलले दैनिक नेपालगन्जसँग भने ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पुण्यप्रसाद न्यौपाने र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोख्रेलले राज्यसँग जोडिएका विभिन्न विधि पद्धती तथा प्रणालीबारे सहभागीलाई प्रशिक्षित गर्नेछन् । भने, बद्री कोइराला, संगम कँडेल, नवीन भट्ट लगायतका होटल तथा पर्यटन क्षेत्रका विज्ञहरु दुई दिनसम्म सहभागीलाई विभिन्न विषयमा प्रशिक्षण तथा सहजीकरण गर्ने कार्यक्रम तय गरिएको छ ।

तालिममा ग्राहक सेवा, व्यक्तिगत साजसज्जा तथा स्वच्छता, खाद्य सुरक्षा र खाद्य सरसफाइ, बजार प्रवद्र्धन तथा विज्ञापनबारे प्रशिक्षण दिइने कार्यक्रम रहेको संघका अध्यक्ष कंडेलले जानकारी दिए । उनका अनुसार, फोहोर व्यवस्थापन तथा कीट नियन्त्रण प्रणाली, स्वास्थ्य तथा सुरक्षा, आपत्कालीन प्रतिकार्य, प्रचार सामग्रीको डिजाइन तथा मुद्रण, कार्ययोजना निर्माणलगायत विषय समेटिएका छन् ।

होटल व्यवसायी संघ बाँकेका अध्यक्ष कँडेलले नेपालगन्ज पर्यटन क्षेत्रको महत्वपूर्ण गन्तव्यका रूपमा विकासको चरणमा रहेको बताए । उनका अनुसार, पर्यटनसँग जोडिएका व्यवसायलाई थप व्यावसायिक, प्रतिस्पर्धी र सेवामैत्री बनाउन दक्ष जनशक्ति आवश्यक रहेकाले तालिम आयोजना गरिएको हो ।

तालिमबारे जानकारी दिंदै उनले पत्रकारसँग भने, ‘पर्यटकीय विकासको उच्च सम्भावना बोकेको नेपालगन्जमा होटल तथा पर्यटन क्षेत्रका व्यवसायीको व्यावसायिक दक्षता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यो तालिम आयोजना गरेका हौं ।’

कँडेलका अनुसार, पर्यटन क्षेत्रमा सेवा प्रवाहको स्तर उकास्न र अन्तर्राष्ट्रिय अभ्यासअनुसार गुणस्तरीय सेवा संस्कृतिको विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ । तालिमबाट सहभागी व्यवसायीले आफ्नो संस्थाको व्यवस्थापन, सरसफाइ तथा ग्राहक सेवामा सुधार ल्याउन सक्ने विश्वास आयोजकको छ ।

नेपाल पर्यटन बोर्डको ‘नेपाल ः लाइफटाइम एक्सपेरियन्सेस’ अभियानसँग आबद्ध उक्त कार्यक्रमले नेपालगन्ज र बाँकेको पर्यटन उद्योगलाई थप व्यवस्थित, प्रतिस्पर्धी तथा गुणस्तरीय बनाउन योगदान पु¥याउने विश्वास आयोजकको रहेको छ ।

Exit mobile version