बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

Britain's King Charles III salutes the troops outside Buckingham Palace during Trooping The Colour, the King's annual birthday parade, in London, Saturday, June 13, 2026. (AP Photo/Kirsty Wigglesworth)

बेलायती राजतन्त्रमा पारदर्शिता बढाउने प्रयासस्वरूप राजा चार्ल्स तृतीयले आफ्नो व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने तयारी गर्नुभएको छ । यससँगै उहाँ व्यक्तिगत कर विवरण सार्वजनिक गर्ने पहिलो बेलायती राजा बन्ने अपेक्षा गरिएको छ ।

यो विवरण बकिङ्घम दरबारले सार्वभौम अनुदानसम्बन्धी वार्षिक प्रतिवेदन सार्वजनिक गर्ने क्रममा सार्वजनिक गर्ने तयारी गरेको बेलायती सञ्चारमाध्यमहरूले जनाएका छन् । सार्वभौम अनुदानमार्फत बेलायती करदाताले राजतन्त्रका गतिविधिहरूका लागि आर्थिक सहयोग गर्दै आएका छन् । गत वर्ष दरबारले आठ करोड ६३ लाख पाउन्ड खर्चको विस्तृत विवरणसहित १५९ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा दरबारको नवीकरण खर्चसमेत समावेश थियो ।

राजा चार्ल्सले वेल्सका राजकुमार रहँदा आफ्नो व्यक्तिगत आम्दानीमा तिरेको करबारे जानकारी सार्वजनिक गर्ने गर्नुभएको थियो । तर सन् २०२२ मा रानी एलिजाबेथ द्वितीयको निधनपछि सिंहासनमा आरोहण गरेयता उहाँले पहिलो पटक राजाको हैसियतमा यस्तो विवरण सार्वजनिक गर्न लाग्नुभएको हो । वेल्सका राजकुमार विलियमले पनि आफ्नो वित्तीय विवरण सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

राजपरिवारका सदस्य एन्ड्र्यु माउन्टब्याटन–विन्डसरसँग सम्बन्धित विवादपछि राजतन्त्रको आर्थिक तथा प्रशासनिक गतिविधिमा थप पारदर्शिता आवश्यक रहेको माग बेलायतमा बढ्दै गएको छ । राजाका कान्छा भाइ एन्ड्र्यु सार्वजनिक पदको दुरुपयोगसम्बन्धी आरोपको अनुसन्धानमा हुनुहुन्छ । उहाँलाई शाही सम्पत्तिबाट बाहिरिन बाध्य पारिएको थियो ।

दरबार निकट स्रोतहरूका अनुसार राजा चार्ल्सले राजतन्त्रप्रति जनविश्वास बढाउने तथा जवाफदेहिता सुदृढ गर्ने उद्देश्यले व्यक्तिगत रूपमा कर विवरण सार्वजनिक गर्ने निर्णय गर्नुभएको हो । आधुनिक लोकतन्त्रमा राजतन्त्रको भूमिकामाथि उठिरहेका प्रश्नका बीच उहाँले लामो समयदेखि राजसंस्थालाई सानो, कम खर्चिलो र उत्तरदायी बनाउने प्रयास गरिरहनुभएको छ ।

राजा चार्ल्सको व्यक्तिगत सम्पत्ति करिब ६८ करोड पाउन्ड रहेको अनुमान गरिएको छ । बेलायतका धनी व्यक्तिहरूको सूचीमा उहाँ शीर्ष २५० भित्र पर्नुहुन्छ । कानूनी रूपमा राजालाई आयकर तिर्नुपर्ने बाध्यता नभए पनि उहाँले आफ्नो निजी आम्दानीमा स्वेच्छिक रूपमा कर तिर्दै आउनुभएको छ । सन् १९९३ मा विन्डसर क्यासलमा लागेको आगलागीपछि सार्वजनिक दबाब बढेपछि रानी एलिजाबेथ द्वितीयले पनि स्वेच्छिक रूपमा कर तिर्न सुरु गर्नुभएको थियो ।

राजाले सार्वजनिक गर्ने विवरण निजी आम्दानीसँग सम्बन्धित हुने जनाइएको छ । उहाँको आम्दानीको मुख्य स्रोत स्कटल्यान्डस्थित बालमोरल र इङ्ग्ल्यान्डको स्यान्ड्रिङ्घम एस्टेट, बचत तथा लगानी हुन् । बालमोरलमा करिब ५० हजार एकड जमिन रहेको छ भने स्यान्ड्रिङ्घममा करिब २० हजार एकड क्षेत्रफल फैलिएको छ । यी दुवै सम्पत्तिका केही भाग सर्वसाधारणका लागि खुला छन् र पर्यटन तथा कृषि गतिविधिबाट पनि आम्दानी हुने गर्दछ ।

यद्यपि सार्वभौम अनुदान तथा आधिकारिक जिम्मेवारी पूरा गर्न प्रयोग हुने आम्दानीमा राजाले कर तिर्नु पर्दैन । राजकुमार विलियमको मुख्य निजी आम्दानी डची अफ कर्नवालबाट प्राप्त हुने गर्दछ । करिब एक लाख ३० हजार एकड क्षेत्रफलमा फैलिएको उक्त सम्पत्तिले गत वर्ष दुई करोड २९ लाख पाउन्ड नाफा गरेको जनाएको थियो ।

राजा चार्ल्सको कर विवरण सार्वजनिक गर्ने निर्णयलाई बेलायती राजतन्त्रलाई थप पारदर्शी र उत्तरदायी बनाउने प्रयासका रूपमा हेरिएको छ ।
Exit mobile version