निर्जला एकादशीको अवसर पारेर विहीवार मारवाडी युवा मञ्च, नेपालगन्जले सर्वसाधारण, यात्रु तथा श्रद्धालुलाई लक्षित गर्दै पानी, जुस, बिस्कुट तथा मही वितरण कार्यक्रम आयोजना गरेको छ ।
आयोजकका अनुसार, गर्मी मौसममा यात्रा गरिरहेका तथा विभिन्न कामका सिलसिलामा आवतजावत गर्ने नागरिकलाई शीतल पेय पदार्थ उपलब्ध गराउने उद्देश्यसहित सञ्चालन गरिएको कार्यक्रममा करिब १ हजार ५०० जनाले सेवा लिएका छन् ।
मञ्चका अध्यक्ष आशिष कुमार चौधरीले निर्जला एकादशीको महत्वलाई आत्मसात् गर्दै समाजप्रति सकारात्मक योगदान पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । उनले दैनिक नेपालगन्जसँग भने, ‘निर्जला एकादशीको पावन अवसरमा सर्वसाधारणलाई शीतल पेय पदार्थ उपलब्ध गराउन पाउँदा हामी उत्साहित छौं । यस्ता सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिनेछौं ।’
कार्यक्रमका संयोजक सन्नी गोयल र यश अग्रवालले अत्यधिक गर्मीका कारण यात्रु तथा सर्वसाधारणलाई राहत पुग्ने उद्देश्यले वितरण कार्यक्रम सञ्चालन गरिएको बताए । उनीहरूले धार्मिक पर्वलाई सेवामूलक कार्यसँग जोडेर समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने प्रयास गरिएको उल्लेख गरे ।
अवानिश अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा राष्ट्रिय मारवाडी युवा संगठनका पदाधिकारी राजीव तलाङ्गा, मञ्चका निवर्तमान अध्यक्ष सन्दिप सिंघल, वरिष्ठ समाजसेवी नरेश अग्रवाल ‘ताउजी’, दीपक अग्रवाल, गुञ्जन सेठिया लगायत मञ्चका पदाधिकारी, सदस्य तथा विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।
