बाँके : लागुऔषधको समस्या बढ्दो

गत शनिबार खजुरा गाउँपालिकाको वडा नं. ६ उढरापुरबाट प्रहरीले ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर सहित एक जनालाई नियन्त्रणमा लियो । नियन्त्रणमा लिइएका व्यक्तिमाथि प्रहरीले अदालतबाट ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढायो ।

गत असार ६ गते प्रहरीले कोहलपुर वडा नं. १५ बाट दुई जनालाई ३ ग्राम ७०मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिई अदालतबाट ७ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढायो ।

माथिका यि जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको लागुऔषध विरुद्धका केही उदाहरण मात्रै हुन् । बाँकेमा लागुऔषधको घटनामा पक्राउ संख्या बढ्दै गएको छ । प्रहरीमा हुने लागुऔषध मुद्दाका थुनुवा र कारागारमा पनि लागुऔषध मुद्दामा कैदीबन्दी उल्लेख्य हुने गरेका छन् ।

बाँकेमा गत जेठ महिनामा मात्रै लागुऔषध सम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् भने उक्त मुद्दामा ५६ जना पक्राउ परेका छन् । गत जेठमा प्रहरीले ६ किलो ६२० ग्राम अफिम, गाँजा २ किलो ६७ ग्राम, चरेश ३ ग्राम ९४० मिलिग्राम, ट्रामाडोल २८५ क्याप्सुल, नाइट्रोजेपाम ४० ट्याबलेट र ब्राउन सुगर ८२ ग्राम ७३० मिलिग्राम प्रहरीले बरामद गरेको थियो ।

त्यस्तै, गत बैशाखमा प्रहरीले लागुऔषध सम्बन्धी ३५ मुद्दा दर्ता गरेको थियो जसमा ४८ व्यक्ति पक्राउ परेका थिए । प्रहरीले बैशाख महिनामा ७ सय ३९ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर, नाइट्रोजेपाम ३ सय २० ट्याबलेट, ट्रामाडोल १ सय ७४ क्याप्सुल, गाँजा ५० ग्राम १९० मिलिग्राम, चरेश ४ ग्राम ६४० मिलिग्राम, कोरेक्स १४ बोत्तल र फेनरमाइन ५ एभिल बरामद गरेको थियो ।

बाँके प्रहरीले प्रत्येक महिना माथि उल्लेख गरेजस्तै मानिसहरूलाई पक्राउ गर्ने, मुद्दा चलाउने कार्य गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक वर्ष २०७९÷८० मा लागु औषध कारोबारका १ सय ५७ मुद्दामा संलग्न २ सय ३६ जना पक्राउ परेको, २०८०÷८१ मा १ सय ७७ मुद्दामा २ सय ६४ जना पक्राउ परेका थिए भने आर्थिक बर्ष २०८१÷८२ मा भने मुद्दा दर्ताको संख्या २ सय १३ पुग्दा ३ सय १९ पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७९÷८० मा ८ सय ८२ ग्राम २२ मिलिग्राम ब्राउनसुगर बरामद गरेको बाँके प्रहरीले २०८०÷८१ मा ९ सय १५ ग्राम ८ सय १५ मिलिग्राम बरामद गर्यो ।

यसैगरी आर्थिक वर्ष २०७९÷८० मा ६ किलो ८ सय ९५ ग्राम गाँजा र नाइट्राजेपाम १ हजार ३ सय २० ट्याब्लेट बरामद गरेको थियो । २०८०÷८१ मा १६ किलो १ सय २३ ग्राम चरेस, १५ किलो १ सय १३ ग्राम अफिम, ५ केजी ८ सय ६८ ग्राम गाँजा, ३ लिटर ३ सय मिलिलिटर कोरेक्स बरामद भएको थियो भने ८ सय १२ ट्याब्लेट नाइट्रोजेपाम बरामद भएको थियो ।

बाँके प्रहरीले आव. २०८१÷८२ मा भने ८ किलो २ सय २४ ग्राम चरेस, १ सय १३ किलो २ सय ५० ग्राम गाँजा, ७ लिटर ३ सय मिलिटर कोरेक्स, ३ हजार ६ सय १३ नाइट्रोजेपाम ट्याब्लेट, ५ हजार ३ सय ४८ क्याप्सुल ट्रामाडोल बरामद गरेको थियो ।
खुला सिमानाका कारण लागू औषधका कारोबारी तथा सीमापारीको भारतीय बजारबाट सजिलै किनेर नेपालगन्जको जमुनाह नाका वा आसपासबाट नेपाल भित्र्याउँदै विभिन्न जिल्ला पुर्याउँदै आएका छन् ।
लागुऔषधकै लागि दैनिक श्रम गरी प्राप्त ज्याला सीमापारी गई गर्ने, लागुऔषध सेवनको खर्च जुटाउन लागुऔषधको कारोबार गर्ने गरेको समेत फेला परेको बाँके प्रहरी प्रमुख, प्रहरी उपरीक्षक अंगुर जिसीले बताएका छन् ।

Exit mobile version