‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

पश्चिम नेपालका तमाम पर्यटकीय गन्तव्यका कारण नेपालगन्ज पर्यटकीय हबका रूपमा विकास हुने सम्भावना औंल्याइएको छ ।

शुक्रबार नेपालगन्जमा आयोजित एउटा कार्यक्रममा वक्ताहरूले त्यसखालको सम्भावना औंल्याएका हुन् । नेपाल पर्यटन बोर्ड र होटल व्यवसायी संघ बाँके नेपालगन्जले आयोजना गरेको ‘आतिथ्य तथा स्वच्छता’ सम्बन्धी तालिमको समापन कार्यक्रमका वक्ताहरूले भने, ‘पर्याप्त पूर्वाधार पनि रहेकाले त्यो सम्भावनातिर नेपालगन्ज अगाडि बढेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रविन रेग्मीले भारत र चीनको छिमेकी हुनुको फाइदा नेपालले पर्यटनमा लिन सक्ने बताए । ‘तपाई यतिबेला पोखराको दृश्य सम्झिनु भयो भने पर्यटकहरूले चलायमान बनाइरहेका छन्’, वरिष्ठ अधिकृत रेग्मीले नेपालगन्ज पनि उत्तिकै सम्भावनाको क्षेत्र भएको धारणा राख्दै भने, ‘त्यसतर्फ व्यवसायीहरूको पहलकदमी हुनुपर्छ ।’

पर्यटन बोर्डले व्यवसायीहरूको दक्षता अभिवृद्धि गरी सेवाको स्तरोन्नतीमा साझेदारी बनिरहेको र सोही सिलसिलामा देशका सात वटै प्रदेशमा यसखालका व्यवसायिक दक्षता अभिवृद्धि तालिम सञ्चालन गरिरहेको वरिष्ठ अधिकृत रेग्मीको भनाइ थियो । आयोजक होटल व्यवसायी व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भीमलाल कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा नाट्टा बाँकेका अध्यक्ष डिल्ली राज रेग्मी, हान बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, तालिममा सहभागी प्रशिक्षार्थी व्यवसायी प्रेम बस्नेत, गोमा पोखरेल लगायतले बोलेका थिए ।

दुई दिनसम्म चलेको तालिममा सहभागी ५० बढी होटल तथा पर्यटन क्षेत्रका व्यवसायी विज्ञ बद्रि कोइराला, संगम कंडेलले सहजीकरण गरेका थिए । त्यस्तै, कर प्रशासनबारे पहिलो दिन आन्तरिक राजश्व कार्यालय नेपालगन्जका प्रमुख पुण्यप्रसाद न्यौपानेले र दोस्रो दिन कर अधिकृत उदयराम केसीले प्रशिक्षण दिएका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामांगले बिहीबार उद्घाटन गरेको तालिममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख प्रशान्त पोखरेलले खाद्य स्वच्छताबारे व्यवसायीहरूलाई अभिमूखिकरण गरेका थिए ।

पत्रकार सजल गैरेले व्यवसायीहरूलाई कृत्रिम बुद्धिमत्ता, व्यवसाय प्रवद्र्धनका लागि आवश्यक फोटो तथा भिडियो, विज्ञापन बारे प्रशिक्षण दिएकी थिइन् । संघका कोषाध्यक्ष एकराज पाण्डेका अनुसार, तालिममा बाँके, बर्दिया र दाङ्गका ५० बढी होटल व्यवसायी र व्यवस्थापन तहका कर्मचारीहरूको सहभागिता थियो ।

Exit mobile version