‘पहिले उद्यमी, अनि राजनीति’
नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) नेपालगन्ज च्याप्टरले शनिबार बाँकेका उद्यमी, उद्योगपति तथा व्यवसायीहरुलाई एउटै मञ्चमा ल्याएर ‘मेहफिल–ए–उद्यम’ ः द रोयल बिजनेस ग्यादरिङ’ आयोजना गरेको छ ।
कार्यक्रमका मुख्य वक्ता बाँके क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य मो. इस्तियाक राईले राजनीति गर्नु अगाडि उद्यमी बन्न आवश्यक रहेको बताए । ‘हामी कहाँ ठिक उल्टो भएको छ, पहिले राजनीति गर्ने र करोडौं कमाउने’, विदेशमा अरबपति भएपछि राजनीतिमा आउने प्रचलन रहेको विषयवस्तु उठान गर्दै युवा उद्यमीहरु माझ पूर्व मन्त्री राईले भने, ‘मैले १९ बर्षको उमेरदेखि व्यवसाय गरे, कमाएँ, अनि राष्ट्र सेवाका लागि राजनीतिमा हामफाले ।’
प्रतिनिधिसभा सदस्य राईले उद्यमी, व्यवसायीहरु माझ आफ्ना आर्थिक उपार्जनका विभिन्न आधार र आफुले गरेका उद्यमहरु प्रस्तुत गर्दै आर्थिक क्षेत्रलाई चलायमान बनाउन आत्मनिर्भर बन्नुपर्ने सन्देश दिए ।
एनवाइइएफ नेपालगन्ज च्याप्टरको तेस्रो बार्षिक साधारणसभाको सन्दर्भ पारेर आयोजित कार्यक्रममा सय बढी उद्यमी, व्यवसायीहरु बीच उद्योगपति कन्हैयालाल वैद्य, प्रदिप छाजेड र नन्दलाल वैश्यले आफ्ना व्यवसायिक अनुभव र युवालाई उत्प्रेरित गर्ने विषयवस्तुहरु प्रस्तुत गरे ।
यसैबीच, ‘उद्यमी बात’ शिर्षकमा व्यवसायिक सम्भावना बारे प्यानल डिस्कसन आयोजना गरियो । सम्यक मिडिया हबका कार्यकारी अध्यक्ष झलक गैरेले सहजीकरण गरेको कार्यक्रममा युवा उद्यमी, एनवाइइएफका केन्द्रीय प्रथम उपाध्यक्ष आभुषण ज्योति कंसाकार, सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक युवा उद्यमी केशव न्यौपाने, महिला उद्योगपति कश्मिरा खातुन, महिला उद्यमी गौरी टण्डनले वर्तमान अवस्थामा उद्यम सुरु गर्न आवश्यक तयारी, लगानी, संघर्ष र धैर्यता र उपलब्धीका समग्र विषयवस्तुहरु माथि आफ्ना अनुभव, उपलब्धी प्रस्तुत गरेका थिए ।
विभिन्न सांगीतिक कार्यक्रमहरु सहित भएको ‘मेहफिल–ए–उद्यम’मा उद्घाटन सत्रपछि सांस्कृतिक कार्यक्रमहरु गरिएका थिए । स्वादको सहरका रुपमा परिचय स्थापित गर्ने मुगलई स्वाद पस्किएको कार्यक्रममा जिल्लाका अगुवा उद्योगी, व्यवसायीहरुको उत्साहजनक सहभागिता रहेको कार्यक्रम संयोजक अलताफ बागवानले जानकारी दिए ।
एनवाइइएफ नेपालगन्ज च्याप्टरका कार्यबाहक अध्यक्ष इन्जिनियर अरसद कमल सिद्दीकीको नेतृत्वमा भएको समग्र कार्यक्रमको सञ्चालन एस वैश्य र दिपेश वैश्यले संयुक्त रुपमा गरेका थिए ।
एनवाइइएफको नेतृत्व सिद्दिकीलाई
एनवाइइएफ नेपालगन्ज च्याप्टरको नेतृत्वमा इन्जिनियर असरस कमल सिद्दिकी चयन भएका छन् । प्रथम उपाध्यक्षका रुपमा रहेपनि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका सिद्दिकीलाई तेस्रो बार्षिक साधारणसभाले आगामी कार्यकालका लागि अध्यक्ष चयन गरेको हो ।
‘युवा उद्यमीहरुका लागि नेपालगन्ज उर्बर क्षेत्र हो भन्ने कुराको सुनिश्चितता गर्ने तर्फ मेरो कार्यकाल केन्द्रित हुनेछ’, केन्द्रीय प्रथम उपाध्यक्ष आभुषण ज्योति कंसकारसँग निर्वाचित भएको प्रमाण पत्र बुझ्दै अध्यक्ष सिद्दीकीले भने ।
