यातायात व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धाले व्यवसाय धराशयी हुँदै गएको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका नवनिर्वाचित महासचिव डेकनाथ गौतमले ‘कम्पनीहरु मर्ज’ हुनुपर्ने बताएका छन् ।
व्यवसायिक एकता र आपसी हितका पक्षमा जोड दिएका महासचिव गौतमले नेपालगन्जमा सोमबार भेरी बस व्यवसायी प्रा.लि. र बागेश्वरी यातायात व्यवसायी प्रा.लि.ले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा स्वस्थ प्रतिस्पर्धाले मात्रै व्यवसाय जोगिने स्पष्ट पारे ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हालै सम्पन्न सातौं महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय पदाधिकारी तथा प्रदेश पदाधिकारीहरुलाई स्वागत, सम्मानका लागि आयोजना गरिएको कार्यक्रममा व्यवसायिक हकहित र समस्याहरुबारे चर्चा गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि महासचिव गौतमले कानुनी रुपमा व्यवसायलाई व्यवस्थित गराउनुको विकल्प नरहेको भन्दै आगामी आर्थिक बर्षमा सामाजिक सुरक्षा कोषमा आबद्ध हुन आग्रह गरे । ‘व्यवसायी बीचको अस्वस्थ प्रतिस्पर्धामा लामो यात्रा सम्भव हुँदैन’, उनले बाँकेमा रहेका झण्डै दुई दर्जन यातायात व्यवसायी कम्पनीहरुका प्रतिनिधि बीच भने ।
भेरी बस व्यवसायी प्रा.लि.का अध्यक्ष जुन बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बागेश्वरी यातायातका अध्यक्ष मन प्रसाद आचार्यले बसपार्क व्यवस्थापनमा आफुहरुले गरेको प्रयासलाई व्यवसायीहरुले साथ नदिएको गुनासो गरे ।
महासंघका सचिव टंक बश्याल, सहकोषाध्यक्ष शोभाकर पौडेल, पेट्रोलियम डिलर्स एशोसिएसनका लुम्बिनी प्रदेश संयोजक विश्वराज खनाल लगायतले व्यवसायीका विद्यमान समस्या र समाधानका लागि गरिनुपर्ने सामूहिक प्रयासबारे धारणा राखेका थिए । उनीहरु सबैको एउटै जोड थियो, ‘व्यवसायलाई दिगो बनाउने हो भने एकद्वार प्रणालीबाट कार्यगत एकता गरेर अगाडि बढ्नुपर्छ ।’
महासंघका नवनिर्वाचित महासचिव गौतम, सचिव बश्याल, सहकोषाध्यक्ष पौडेल, केन्द्रीय सदस्य अर्जुन श्रेष्ठ, कृष्ण प्रसाद सुवेदी, प्रदेश सहसंयोजक सनत रेग्मी लगायतका नवनिर्वाचितहरुलाई खादा, माला सहित स्वागत, सम्मान गरेका व्यवसायीहरुले विद्यमान समस्या समाधान गर्न महासंघले प्रभावकारी भूमिका खेलोस् भन्ने अपेक्षा राखेका थिए ।
