जिल्ला प्रहरी कार्यालय बाँकेले सार्वजनिक स्थानमा झै–झगडा गरी शान्ति सुरक्षामा खलल पुर्याएको आरोपमा भारतीय नागरिकसहित ११ जनालाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार आइतबार नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि.को गेट अगाडि सडकमा सार्वजनिक शान्तिमा खलल पुग्ने, सर्वसाधारणमा डर, त्रास तथा आतंक फैलाउने गरी झै–झगडा गर्ने ११ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकामाथि जिल्ला प्रशासन कार्यालय बाँकेबाट अभद्र व्यवहार सम्बन्धी कसुरमा ६ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
उक्त जानकारी जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रतित सिंह राठौरले प्रेस विज्ञप्तिमार्फत दिएका हुन्।
