कैलालीको धनगढीमा हुने ‘सातौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’को चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षक विधाको मनोनयन सार्वजनिक गरेको हो ।
छनोट समितिका अनुसार वर्ष प्रशिक्षकको लागि क्रिकेटका धिरेन्द्र चन्द, कबड्डीका विष्णुदत्त भट्ट र भारोत्तोलनका जीवन गौतम मनोनयनमा परेका छन् । चन्दले प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिमलाई पहिलोपटक फाइनल पुगाउँदै इतिहास रचेका थिए । भट्टले बङ्गलादेशविरुद्धको कबड्डी शृङ्खलामा नेपाललाई स्वर्ण पदक दिलाउनुका साथै दोस्रो विश्वकप कबड्डीमा नेपाली टोलीलाई चौथो स्थान दिलाएका थिए । यस्तै, जीवन गौतमले राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय कीर्तिमान कायम गराउने तथा आफ्ना खेलाडीमार्फत एक वर्षमै १० स्वर्ण पदक जिताउने सफलता हासिल गरेका छन् ।
‘वर्ष युवा खेलाडी’ विधामा एथलेटिक्सका विरेन्द्र नाथ, कबड्डीका सुशील चुनारा र एथलेटिक्सकी संगीता विक मनोनयनमा परेका छन् । विरेन्द्रले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण जितेका छन् भने सुशीलले १८ वर्षकै उमेरमा मुख्यमन्त्री अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगितामा सुदूरपश्चिमलाई च्याम्पियन बनाउँदै टोलीको नेतृत्व गरेका थिए। संगीता विकले राष्ट्रिय यू–२० कीर्तिमान कायम गर्नुका साथै एसियाली यू–२० एथलेटिक्स च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
त्यस्तै, ‘सुदूरपश्चिम आइकन पुरुष’ विधामा क्रिकेटका नारायण जोशी, भारोत्तोलनका अशोक भण्डारी र सुटिङका सुनिल चन्द मनोनयनमा परेका छन् । प्रधानमन्त्री कपमा उत्कृष्ट ब्याटिङ गर्दै सुदूरपश्चिमलाई पहिलोपटक फाइनल पुर्याउन महत्वपूर्ण योगदान दिएका नारायण जोशी, लगातार राष्ट्रिय प्रतियोगितामा स्वर्ण र राष्ट्रिय कीर्तिमान बनाएका अशोक भण्डारी तथा सुटिङमा सुदूरपश्चिमलाई पहिलोपटक राष्ट्रिय पदक दिलाएका सुनिल चन्द प्रतिस्पर्धामा छन् ।
‘सुदूरपश्चिम आइकन महिला’ विधामा कबड्डीकी दिपा देउवा, एथलेटिक्सकी पूजा साउँद र तेक्वान्दोकी दिपा जैशी मनोनयनमा परेका छन् । देउवाले राष्ट्रिय तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी छन् भने पूजा साउँदले राष्ट्रपति रनिङ शिल्डमा दुई स्वर्ण पदक जितेकी छन् । जैशीले लगातार चार संस्करणसम्म राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्टता कायम राखेकी छन् ।
अवार्डको मुख्य प्रायोजन सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए) छ भने सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले अवार्ड कार्यक्रमलाई मुख्य प्रवर्द्धकका रूपमा साथ दिन सम्झौता गरिसकेको छ । सातौ संस्करणको अवार्डमार्फत वर्ष २०८२–०८३ मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी र प्रशिक्षकलाई आठ विधामा अवार्ड प्रदान गरिने छ ।
