राप्तीसोनारीमा भूमि सेवा सुरु

राप्ती सोनारी गाउँपालिकामा भूमि प्रशासन कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ । गाउँपालिकाको पहल तथा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभाग र भूमि प्रशासन कार्यालय, कोहलपुरको समन्वयमा कार्यालय सञ्चालनमा ल्याइएको हो ।

कार्यालय सञ्चालनको पहिलो दिन राप्ती सोनारी गाउँपालिका–९ का रोशन कुमार वलीलाई जग्गाधनी दर्ता प्रमाणपुर्जाको प्रतिलिपि प्रदान गर्दै सेवाको शुभारम्भ गरिएको थियो ।

कार्यालय सञ्चालनमा आएसँगै अब राप्ती सोनारी गाउँपालिकाका नागरिकले जग्गा दर्ता, नामसारी, अभिलेख व्यवस्थापनलगायत भूमि प्रशासनसम्बन्धी विभिन्न सेवा आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन् । यसबाट सेवाग्राहीको समय, खर्च र झन्झटमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यालय उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेल, जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत तथा भूमि प्रशासन कार्यालय, कोहलपुरका प्रमुखसहित कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

उद्घाटन कार्यक्रममा अध्यक्ष पौडेलले भूमि प्रशासन कार्यालय सञ्चालनमा आउनु राप्ती सोनारीवासीका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै अब भूमि सम्बन्धी सेवा आफ्नै पालिकाबाट सहज, छिटोछरितो र पारदर्शी रूपमा उपलब्ध हुने विश्वास व्यक्त गरे । उनले सामान्य भूमि सम्बन्धी सेवाका लागि टाढा धाउनुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै स्थानीय तहबाटै प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्याए ।

सहभागीहरूले स्थानीय तहबाटै भूमि प्रशासन सेवा उपलब्ध हुनु नागरिकमैत्री शासन तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहतर्फको महत्वपूर्ण उपलब्धि भएको बताएका थिए ।

Exit mobile version