चालु वर्ष २०८२ वैशाख १ गतेदेखि असार १७ गतेसम्म देशभर विभिन्न प्रकारका विपद्का २ हजार ५ सय १२ वटा घटना भएका छन् । ती घटनामा १ सय २२ जनाको मृत्यु, ७ सय २८ जना घाइते भएका छन् भने ३ हजार ५ सय ८२ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा बेपत्ता हुने घटना भने शून्य रहेको छ ।
तथ्यांकले वर्षायाम सुरु भएसँगै प्राकृतिक तथा अन्य विपद्का घटनामा वृद्धि भएको देखाएको छ । सबैभन्दा धेरै घटना आगलागीका रहेका छन् । आगलागीका ८ सय १२ वटा घटना
हुँदा १७ जनाको मृत्यु, ९८ जना घाइते र ८ सय ९१ परिवार प्रभावित भएका छन् ।
त्यसपछि हावाहुरीका ४ सय ७० वटा घटना भएका छन् । हावाहुरीका कारण १३ जनाको मृत्यु, ६७ जना घाइते तथा १ हजार ३ सय ५२ परिवार प्रभावित भएका छन्, जुन सबैभन्दा धेरै प्रभावित परिवार भएको विपद् हो ।
यस अवधिमा सर्पदंशका ३ सय ६७ घटना दर्ता भएका छन् । सर्पदंशबाट मात्रै २३ जनाको ज्यान गएको छ भने ३ सय ४५ जना घाइते भएका छन् । प्रभावित परिवारको संख्या ३ सय ६८ पुगेको छ । मृत्युका हिसाबले सर्पदंश सबैभन्दा घातक विपद्का रूपमा देखिएको छ ।
चट्याङका १ सय ९८ घटना हुँदा १७ जनाको मृत्यु र ९३ जना घाइते भएका छन् । २ सय १७ परिवार प्रभावित भएका छन् । त्यसैगरी जनावरको आक्रमणका १ सय ३६ घटनामा १३ जनाको मृत्यु, ७८ जना घाइते र २ सय १२ परिवार प्रभावित भएका छन् ।
वर्षायामसँग प्रत्यक्ष सम्बन्धित विपद् मध्ये पहिरोका १ सय ९६ घटना हुँदा ५ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । २ सय ३० परिवार प्रभावित भएका छन् । बाढीका १८ घटनामा ६ जनाको मृत्यु, ४ जना घाइते तथा १ सय ११ परिवार प्रभावित भएका छन् । भारी वर्षाका ६५ घटनामा ३ जनाको मृत्यु, १ जना घाइते र ४१ परिवार प्रभावित भएका छन् ।
यस्तै लेक लाग्ने (उच्च हिमाली क्षेत्रमा हुने स्वास्थ्य समस्या) का ५४ घटनामा २१ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । ५३ परिवार प्रभावित भएका छन् । लेक लाग्ने घटनाले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जोखिम अझै उच्च रहेको संकेत गरेको छ ।
यस अवधिमा वन डढेलोका १ सय ८८ घटना भएका छन् । ती घटनामा १ जनाको मृत्यु, २ जना घाइते र २२ परिवार प्रभावित भएका छन् । डुंगा पल्टिँदा १ घटनामा २ जनाको मृत्यु भएको छ । हिउँ पहिरोका २ घटनामा १ जनाको मृत्यु र १ जना घाइते भएका छन् । असिनाका ४ घटना तथा अन्य १ घटना पनि दर्ता भएका छन् ।
प्राधिकरणले मनसुन सक्रिय भएसँगै बाढी, पहिरो, चट्याङ, भारी वर्षा र सर्पदंशजस्ता विपद्को जोखिम थप बढ्ने भएकाले स्थानीय तह, सुरक्षा निकाय तथा नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । विपद् न्यूनीकरणका लागि पूर्वतयारी, समयमै सूचना प्रवाह र जोखिमयुक्त क्षेत्रमा विशेष निगरानी आवश्यक रहेको प्राधिकरणको भनाइ छ ।
