आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि छलफल अघि बढ्न नसकिरहेका बेला लुम्बिनी प्रदेश सभाको बैठक फेरि आह्वान गरिएको छ । आठौं अधिवेशनअन्तर्गत एघारौं बैठक असार २१ गते आइतबार दिउँसो १ बजे बस्ने तय गरिएको हो । लामो समयदेखि बजेटसम्बन्धी असहमतिका कारण बैठक पटक–पटक स्थगित हुँदै आएकाले यसपटकको बैठकलाई प्रदेश सरकारको बजेट प्रक्रियाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरले बुधबार सूचना जारी गर्दै सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (१) बमोजिम बैठक आह्वान गरिएको जनाएका छन् । सूचनामा असार २१ गते दिउँसो १ बजे प्रदेश सभाको बैठक बस्ने उल्लेख छ । बुधवार डाकिएको बैठक बस्नै नसकेर अर्काे मिति तय भएको हो ।
प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि असार १ गते ३७ अर्ब ३८ करोड रूपैयाँ बराबरको बजेट प्रदेश सभामा प्रस्तुत गरेको थियो । तर बजेटप्रति सत्तापक्ष र प्रतिपक्ष दुवै दलका प्रदेश सभा सदस्यले असन्तुष्टि जनाएपछि त्यसमाथिको छलफल नै सुरु हुन सकेको छैन ।
बजेट प्रस्तुत भएपछि देखिएको राजनीतिक असहमतिका कारण प्रदेश सभाको नियमित कार्यसूची प्रभावित बन्दै आएको छ । असार ९ गते बसेको बैठकमा बजेटप्रति असहमति जनाउँदै प्रदेश सभा सदस्यहरू आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएपछि सभामुखले बैठक स्थगित गरेका थिए । त्यसयता सहमतिको प्रयास भइरहे पनि कुनै निष्कर्ष ननिस्कँदा पटक–पटक बैठक बोलाइएर पनि स्थगित हुँदै आएको छ ।
प्रदेश सभामा बजेटमाथिको छलफल सुरु हुन नसक्दा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने प्रक्रिया नै प्रभावित बनेको छ । यही कारण असार २१ गतेका लागि बोलाइएको बैठकलाई चासोका साथ हेरिएको छ । उक्त बैठकबाट बजेटमाथि देखिएको अवरोध हट्ने, दलहरूबीच सहमति जुट्ने र बजेटमाथिको छलफलले औपचारिक गति लिने अपेक्षा गरिएको छ ।
प्रदेश सभा सचिव दुर्लभ कुमार पुन मगरद्वारा बुधवार जारी सूचनामा, ‘सभामुखको निर्देशनमा लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम १२ को उपनियम (१) बमोजिम असार २१ गते आइतबार दिउँसो १ बजे प्रदेश सभाको बैठक आह्वान गरिएको छ,’ भनिएको छ ।
