माग अनुसार मल पाउँदैनन् किसान

कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि मल र बिउ समयमा उपलब्ध गराउन सकेका छैनन् । कृषिका लागि तीन तहकै सरकारले योजना बनाउँछन् । तर, कुनै पनि बर्ष किसानले चाहेको समयमा खेतीका लागि रासायनिक मल पर्याप्त पाउन सकेका छैनन् । मल बाँकेमा उपलब्ध नहुने होइन । तर, किसानले विगतदेखि नै रासायनिक मल माग अनुसार पाउन सकेका छैनन् ।

कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्ज मार्फत सरकारले अनुदानको रासायनिक मल बिक्री गर्दै आएको छ । शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले स्थानीय तहको सिफारिसमा लिमिटेडमा उपलब्ध रासायनिक मल सहकारी मार्फत किसानको हातमा पुर्याउँदै आएको जानकारी दिएका छन् ।

सरकारले नै किसानको माग अनुसार मल खरिद गर्दैन । रासायनिक मलको माग अनुसार आधा पनि मल नपाउने गरेको गुनासो किसानले गर्दै आएका छन् । पछिल्लो समय भएको इरान–अमेरिका–इजराइल युद्धका कारण रासायनिक मलको मूल्यवृद्धि भएको छ भने समयमै ल्याउन नसकिएको बताइन्छ । यद्यपि, नेपाल सरकारले भारत सरकारसँग प्रत्यक्ष (जिटुजी) रूपमा मल खरिदको प्रक्रिया अगाडि बढाएपनि मल प्राप्त हुन अझै समय लाग्ने बताइन्छ ।

धान खेतीका लागि रासायनिक मलको उच्च माग भएका बेला कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जमा रासायनिक मलको स्टक मंगलबारसम्म यूरिया २ सय १ मेट्रिक टन, डिएपी १ सय ५२ मेट्रिक टन र पोटास ३० टन रहेको कृषि सामाग्री कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख श्रेष्ठले जानकारी दिए । ‘थप सात ट्रक मल आएको छ, यूरिया मल थप आउने क्रममा छ’, उनले भने । ‘अघिल्लो बर्ष भन्दा रासायनिक मल यस बर्ष बढी प्राप्त भएको छ’, उनी भन्छन्, ‘तर, त्यो किसानको माग धान्नका लागि पर्याप्त छैन ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिब २ लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने तयारी गरेको छ । मन्त्रालयका अनुसार सरकार–सरकार (जीटूजी) सम्झौताअन्तर्गत भारतबाट ३० हजार मेट्रिक टन युरिया मल ल्याउँदै छ । उक्त मल असार अन्तिमदेखि साउनको दोस्रो साताभित्र नेपाल आइपुग्ने सम्भावना देखिन्छ । भारतसँग जिटूजिमार्फत ८० हजार मेट्रिक टन भएको सम्झौता अनुसार पहिलो चरणमा ५० हजार मेट्रिक टन मल साउन दोस्रो साता नेपालमा भित्रिने छ ।

त्यसैगरी, अन्तर्राष्ट्रिय (ग्लोबल) टेन्डरमार्फत १ लाख ८० हजार मेट्रिक टन रासायनिक मल आयात गरिने मन्त्रालयले जनाएको छ । यसमध्ये ६० हजार मेट्रिक टन डीएपी र १ लाख २० हजार मेट्रिक टन युरिया रहेको छ । यी मल साउनको पहिलो सातासम्म नेपाल भित्रिने लक्ष्य राखिएको मन्त्रालयले जनाएको छ ।

Exit mobile version