घरबहाल सरोकार महासंघको स्थापना दिवस

विद्यालयलाई डस्बिन हस्तान्तरण

नेपाल घरबहाल सरोकार महासंघ, बाँके शाखाले आफ्नो १६ औँ स्थापना दिवसको अवसरमा कोहलपुर–१२ चप्परगौडीस्थित रामजानकी राधाकृष्ण संस्कृत गुरुकुल आधारभूत विद्यालयलाई ६ थान डस्बिन हस्तान्तरण गरेको छ । विद्यालयमा सरसफाइ र फोहर व्यवस्थापनलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित डस्बिन हस्तान्तरण गर्दै महासंघले स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा महासंघका केन्द्रीय सहकोषाध्यक्ष तिलक सिंह कार्कीले स्थापना भएदेखि नै महासंघले घरबेटी र घरबहालबीच समन्वय, सहकार्य र सौहार्दपूर्ण सम्बन्ध कायम गर्न निरन्तर भूमिका खेल्दै आएको बताए । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको उल्लेख गर्दै उनले यस्ता संस्थाप्रति राज्यले स्पष्ट, प्रभावकारी र प्रोत्साहनमुखी नीति अवलम्बन गर्नुपर्ने धारणा राखे ।

उनले भने, ‘सरकारलाई सहयोग गर्ने उद्देश्यले संस्था स्थापना गरिएको हो । यस्ता सामाजिक संस्थालाई राज्यले नीतिगत रूपमा प्रोत्साहन गर्न आवश्यक छ ।’

नेपाल घरबहाल उपभोक्ता मञ्च, बाँकेका अध्यक्ष ढकबहादुर थारूले घरबहाल कर प्रणालीलाई थप व्यावहारिक बनाउनुपर्ने आवश्यकता औंल्याए । घरबहाल करको दायरा विस्तारसँगै करको दर पनि व्यवहारसम्मत हुनुपर्ने उनको भनाइ थियो ।

उनले भने, ‘करदातालाई सम्मान गर्ने संस्कृतिको विकास गर्न सकियो भने स्वेच्छाले कर तिर्ने वातावरण बन्छ । त्यसबाट सरकारको राजस्व पनि थप सुदृढ हुन्छ ।’

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य तथा बाँकेका निवर्तमान अध्यक्ष राधा गौतम, सल्लाहकार मेघराज अधिकारी र कपिल अन्जान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव लम्साल, प्रधानाध्यापक तिलकप्रसाद दाहाल, विद्यार्थी तथा महासंघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार विद्यालयमा डस्बिन हस्तान्तरण गर्नुको उद्देश्य विद्यार्थी र स्थानीय समुदायमा सरसफाइ तथा फोहर व्यवस्थापनप्रति सकारात्मक चेतना अभिवृद्धि गर्नु हो । महासंघले सामाजिक उत्तरदायित्वसँग जोडिएका यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

Exit mobile version