‘जिम्मेवारी पूरा नभए विश्वविद्यालय बन्द गर्न पनि पछि पर्दैनौं’

सन्ध्या गैरे

लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्राविधिक विश्वविद्यालयका सहकुलपति जन्मजय तिमिल्सिनाले विश्वविद्यालयले तोकिएको जिम्मेवारी पूरा गर्न नसके प्रदेश सरकारले बन्द गर्नसमेत पछि नपर्ने चेतावनी दिएका छन् ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको चौथो वार्षिकोत्सवका अवसरमा विहीवार उनले विश्वविद्यालयको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै प्रदेशको आवश्यकताअनुसार दक्ष जनशक्ति उत्पादन गर्न नसक्ने संस्थाको औचित्यमाथि नै प्रश्न उठ्ने बताएका हुन् । विश्वविद्यालयको गुणस्तरमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै उनले प्रदेशको विकासका लागि स्थापना गरिएको संस्थाले आफ्नो उद्देश्यअनुसार परिणाम दिनैपर्ने बताए ।

विहीवार चौथो वार्षिकोत्सवका प्रमुख अतिथि उनले भने, ‘हामीले दिएको जिम्मेवारी पूरा भएन भने विश्वविद्यालयलाई बन्द गर्नसमेत पछि पर्दैनौं । यो संस्था प्रदेशको विकासका लागि स्थापना गरिएको हो, त्यसैले सबैले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पूरा गर्नुपर्छ ।’

मन्त्री तिमिल्सिनाले विश्वविद्यालयका शिक्षक तथा कर्मचारीलाई इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरे। अनुसन्धान, नवप्रवर्तन, गुणस्तरीय प्राविधिक शिक्षा र दक्ष जनशक्ति उत्पादनमा विश्वविद्यालयले अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए । विश्वविद्यालयलाई थप सुदृढ बनाउन प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि उनले बताए ।

विश्वविद्यालयको स्थापना यात्रालाई स्मरण गर्दै उनले सुरुमा जम्मा ३३ जना विद्यार्थीबाट शैक्षिक कार्यक्रम प्रारम्भ भएको उल्लेख गरे । अहिले करिब ४ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिँदै उनले यसलाई विश्वविद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो विश्वासको प्रमाणका रूपमा व्याख्या गरे ।

ग्रामीण तथा आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीका लागि विश्वविद्यालय अवसरको केन्द्र बनेको उनको भनाइ थियो । गेरुवा गाउँपालिकाका विद्यार्थी रमेश विश्वकर्माको उदाहरण प्रस्तुत गर्दै उनले भने, ‘यदि बाँकेमा यो विश्वविद्यालय स्थापना नभएको भए यस्ता विद्यार्थीहरू उच्च प्राविधिक शिक्षाबाट वञ्चित हुन सक्थे ।’

प्रतिनिधिसभा सदस्य अम्बिका काफ्लेले प्रदेश सरकारकै पहलमा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको उल्लेख गर्दै प्रदेश संरचनाको औचित्यमाथि प्रश्न उठाउनेहरूलाई यही विश्वविद्यालय उदाहरण भएको बताइन् । उनले भनिन्, ‘यदि प्रदेश सभा नै नभएको भए यो विश्वविद्यालय बाँकेमा आउँदैनथ्यो । आज यहाँ अध्ययन गरिरहेका चार सय विद्यार्थी कहाँ जान्थे भन्ने विषय सबैले सोच्नुपर्छ ।’

सिनेट सदस्य प्राडा मोहनजंग शाहले विश्वविद्यालयको चार वर्षको यात्राबाट अस्वाभाविक उपलब्धिको अपेक्षा गर्नु उचित नहुने बताए । सबै सरोकारवालाको समय, श्रम र प्रतिबद्धताले मात्रै विश्वविद्यालयलाई उत्कृष्ट संस्थामा रूपान्तरण गर्न सकिने उनको भनाइ थियो । वर्तमान आर्थिक अवस्थालाई मजबुत बनाउन दक्ष प्राविधिक जनशक्ति उत्पादन अपरिहार्य रहेको उल्लेख गर्दै उनले प्राविधिक शिक्षालाई प्रदेशको विकासको मुख्य आधार बनाउनुपर्ने धारणा राखे ।

उनले विद्यार्थीलाई प्रमाणपत्र प्राप्तिमा मात्र सीमित नभई व्यवहारिक सीप विकासमा केन्द्रित हुन आग्रह गरे । बाँकेका नागरिकले पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयको महत्व अझ गहिरोसँग बुझ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा सदस्य मीना कुमारी श्रेष्ठले विश्वविद्यालय र जनप्रतिनिधिबीच अपेक्षित समन्वय हुन नसकेको टिप्पणी गरिन् । विश्वविद्यालयले आफ्ना आवश्यकता, योजना र चुनौतीबारे समयमै जानकारी गराएको भए प्रदेश तहबाट आवश्यक सहयोग जुटाउन सहज हुने उनको भनाइ थियो । आगामी दिनमा नियमित छलफल र सहकार्यलाई संस्थागत गर्नुपर्ने आवश्यकता उनले औंल्याइन् ।

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले नेपालगन्जका धेरै नागरिक अझै पनि लुम्बिनी प्राविधिक विश्वविद्यालयबारे पर्याप्त रूपमा जानकार नरहेको बताए । विश्वविद्यालय स्थापना गर्न पत्रकारहरूले खेलेको भूमिकाको स्मरण गर्दै उनले अब त्यसलाई स्थापित, सुदृढ र दीर्घकालीन संस्थाका रूपमा विकास गर्न पनि सञ्चार क्षेत्रले निरन्तर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

वार्षिकोत्सवका अवसरमा विश्वविद्यालयले स्थापना भएयता हासिल गरेका उपलब्धि, सञ्चालनमा रहेका शैक्षिक कार्यक्रम तथा आगामी योजनाबारे जानकारी गराइएको थियो । विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, नृत्य तथा सिर्जनात्मक कार्यक्रम प्रस्तुत गरी समारोहलाई थप आकर्षक बनाएका थिए ।

विसं २०७९ सालमा लुम्बिनी प्रदेश सरकारले स्थापना गरेको लुम्बिनी प्राविधिक विश्वविद्यालयले हाल सूचना प्रविधि, इन्जिनियरिङ, कृषि, वन र पर्यटनलगायतका क्षेत्रमा प्राविधिक शिक्षा सञ्चालन गर्दै आएको जनाएको छ । प्रदेशको शैक्षिक तथा प्राविधिक विकासमा योगदान पु¥याउने लक्ष्यसहित विश्वविद्यालयले गुणस्तरीय शिक्षा, अनुसन्धान र दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा. विनोद प्रसाद ढकालको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य माया पुन, सुशिला बादी र सञ्जु कुमारी चौधरी, प्रदेश योजना आयोगका प्रतिनिधि, जिल्ला समन्वय समिति कार्यालय प्रमुख, बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ, विश्वविद्यालयका कुलसचिव प्रा रेगबहादुर भण्डारी, डीन डा निरज केसी, निर्देशक डा प्रदीप कर्ण, परीक्षा नियन्त्रक जेन्टिल गौतम, महेन्द्र बहुमुखी क्याम्पस प्रमुख डा. लालमणि आचार्य, सामाजिक विकास कार्यालय प्रमुख ऋषि शर्मा, भन्सार कार्यालय प्रमुख जनार्दन पौडेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

Exit mobile version