नेपाल प्रहरीले गत जेठ महिनामा देशभर २ हजार बढी फारास पक्राउ गरेको छ । नेपाल प्रहरीले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार फैसला कार्यान्वयन तर्फ गत जेठ महिनामा २ हजार १ सय ८२ जना फरार प्रतिवादीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका प्रतिवादीबाट २३ करोड ४४ लाख ४३ हजार ८ सय ९१ रूपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ । साथै उनीहरूमाथि फैसला अनुसारको ८ सय ७ वर्ष १ महिना १३ दिन कैद सजाय समेत कार्यान्वयन गरिएको छ ।
नेपाल प्रहरीका अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै फरार प्रतिवादी मधेश प्रदेशबाट ५ सय ३९ जना पक्राउ परेका छन् । त्यसपछि बागमती प्रदेशमा ३ सय ६० जना, काठमाडौं उपत्यकामा ३ सय २६ जना, लुम्बिनी प्रदेशमा ३ सय २० जना, कोशी प्रदेशमा ३ सय ५ जना, गण्डकी प्रदेशमा १ सय ३२ जना, सुदूरपश्चिम प्रदेशमा १ सय २० जना, कर्णाली प्रदेशमा ६३ जना तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट १७ जना पक्राउ परेका छन् ।
जरिवाना असुलीतर्फ भने काठमाडौं उपत्यकाले अग्रस्थान कायम गरेको छ । उपत्यकाबाट पक्राउ परेका फरार प्रतिवादीबाट मात्रै ३ करोड ६३ लाख ७२ हजार ९२ रूपैयाँ जरिवाना असुल भएको छ । त्यसपछि लुम्बिनी प्रदेशबाट २ करोड ६७ लाख ५३ हजार ७ सय ३ रूपैयाँ, बागमती प्रदेशबाट २ करोड ५१ लाख ७१ हजार ४९१ रूपैयाँ, सुदूरपश्चिम प्रदेशबाट २५ लाख ६६ हजार ३ सय २ रूपैयाँ, कर्णाली प्रदेशबाट २८ लाख ३९ हजार ६ सय २० रूपैयाँ, गण्डकी प्रदेशबाट १ करोड २५ लाख ६६ हजार ५५० रूपैयाँ, कोशी प्रदेशबाट १ करोड ५३ लाख ३६ हजार ८ सय ५० रूपैयाँ, मधेश प्रदेशबाट ९६ लाख ५५ हजार ९ सय ६९ रूपैयाँ तथा सीआईबीबाट १० करोड ३१ लाख ४८ हजार ६ सय ९४ रूपैयाँ जरिवाना असुल गरिएको तथ्यांकमा उल्लेख छ ।
