नेपालगन्जमा तीन दिने पर्यटन तालिम सुरु, पर्यटन क्षेत्रको विकासका लागि बजेट र साझेदारीमा जोड


नेपालगन्ज, असार १९ । नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा नेपालगन्जमा तीन दिने पर्यटन व्यवसाय सम्बन्धी तालिम सुरु भएको छ। तालिममा बाँके, बर्दिया लगायत विभिन्न जिल्लाका ३५ वटा पर्यटन उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको छ।
कार्यक्रमका प्रमुख अतिथि एवं लुम्बिनी प्रदेश सभा सदस्य मिना कुमारी बोहोरा सिद्धिकीले नेपालगन्ज पर्यटनको हब बन्ने ऐतिहासिक सहर भएको बताउँदै आगामी दिनमा पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।
त्यस्तै, विशिष्ट अतिथि एवं नाट्टा बाँकेका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले पर्यटनमा आधारित योजनाहरू सफल बनाउन तीनै तहका सरकारले निजी क्षेत्रसँग साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।


नाट्टा बाँकेका अध्यक्ष डिल्ली राज रेग्मीको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नाट्टाका सचिव रेशम बहादुर खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रशिक्षक विनय शाक्य, होटल एशोसिएशन नेपाल (हान) बाँकेका वरिष्ठ उपाध्यक्ष केशव न्यौपाने, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेल र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी लगायतले पर्यटन क्षेत्रको समसामयिक अवस्था र तालिमको महत्त्वबारे आफ्ना भनाइ राख्नुभएको थियो।
नाट्टा बाँकेका महासचिव भागीराम ओलीले सञ्चालन गर्नुभएको उक्त तालिम तीन दिनसम्म चल्ने आयोजकले जनाएको छ

Exit mobile version