बढ्दैछन् तारे होटल र रिसोर्ट

नेपालमा विदेशी पर्यटक आगमनमा भएको उत्साहजनक वृद्धिसँगै तारे स्तरका होटल र रिसोर्ट खुल्ने क्रम पनि बढ्दै गएको पाइएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथाको देश र भगवान् गौतम बुद्धको जन्मस्थल नेपालमा पछिल्लो समय पर्यटनका क्षेत्रमा लगानी बढ्दै गएको देखिएको हो । फलस्वरूप नेपालमा होटलजस्ता पर्यटन सेवाका क्षेत्रमा पनि लगानीकर्ता बढ्दै गएका छन् ।

पर्यटन सेवा क्षेत्रमा बढ्दो यो आकर्षणको पछिल्लो उदाहरण नेपालमा थपिँदै गएका तारे होटल, रिसोर्ट तथा रेष्टुरेन्टहरू पनि हुन् । सङ्घीय राजधानी काठमाडौँ, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगन्ज, भद्रपुरजस्ता प्रमुख सहर र अन्य अन्य प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट सञ्चालनमा आउने क्रम बढेको पाइएको छ ।

पर्यटकस्तरका होटल प्रदेश सरकारमा दर्ता भएर सञ्चालन हुँदै आए पनि तारे होटल र रिसोर्ट भने पर्यटन विभागले नै दर्ता गरेर सञ्चालन अनुमति दिँदै आएको छ । पर्यटन विभागका अनुसार हालसम्म देशभर ३५० तारेस्तरका होटल तथा रिसोर्ट दर्ता भई सञ्चालनमा रहेका छन् । जसमध्ये २९ वटा पाँचतारे होटल रहेका छन् । विभागका सूचना अधिकारी हिमाल गौतम पछिल्लो समय नेपालमा तारेस्तरका होटल तथा रिसोर्ट दर्ताको क्रम बढेको बताउनुहुन्छ । गत वर्ष ३३५ होटल तथा रिसोर्ट विभागमा दर्ता भएकामा यस वर्ष बढेर ३५० पुगेको हो ।

उहाँका अनुसार ४४ एकतारा, ४९ दुईतारा, ३७ तीन तारा, ४० चारतारा र २८ पाँचतारा स्तरका होटल दर्ता भएका छन् । त्यसैगरी, पाँचतारा डिलक्सस्तरका होटल तीन, पाँच तारास्तरका लक्जरी बुटिक हेरिटेज होटल तीन, डिलक्स हेरिटेज चारतारा होटल पाँच, नर्मल हेरिटेज बुटिक (तीन तारास्तर) एक, साधारण रिसोर्ट १२७, डिलक्स रिसोर्ट १० र लक्जरी रिसोर्ट तीन रहेका छन् ।

विभागका अनुसार दर्ता भएका ३५० होटलमा १६ हजार ६१३ कोठा रहेका छन् । उक्त कोठामा २६ हजार २८५ शय्या रहेका छन् । उक्त तारे होटल तथा रिसोर्ट सञ्चालनसँगै पर्यटकलाई गुणस्तरीय आवास, आधुनिक सेवासुविधा तथा अन्तरराष्ट्रियस्तरको आतिथ्य प्रदान गर्ने क्षमता पनि विस्तार हुँदै गएको छ ।

विभागका सूचना अधिकारी गौतम पछिल्लो समय होटल तथा रिसोर्टमा लगानी गर्नेको सङ्ख्या बढ्दै गएसँगै विभागले समायनुकूल होटलको मापदण्ड परिमार्जन गर्न सुरु गरेको छ ।

नेपालमा होटल तथा रिसोर्टलाई व्यवस्थित र स्तरीकरण गर्न पहिलोपटक २०७० सालमा होटल वर्गीकरण मापदण्ड निर्माण गरिएको थियो । समयको माग र अन्तरराष्ट्रिय अभ्यासअनुसार सरकारले २०७६ सालमा उक्त मापदण्डलाई संशोधन गरेको थियो । अन्तरराष्ट्रिय मापदण्ड, गुणस्तर र इको टुरिजमलाई ध्यानमा राखेर होटल मापदण्ड परिमार्जनको भइरहेको सूचना अधिकारी गौतम बताउनुहुन्छ ।

उक्त मापदण्डलाई परिमार्जन गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पर्यटन महाशाखाका सहसचिवको नेतृत्वमा निर्देशक समिति गठन गरिएको छ भने पर्यटन विभागका निर्देशक एवं होटल शाखा प्रमुख (उपसचिव)को नेतृत्वमा मस्यौदा कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले यही असार मसान्तभित्र परिमार्जित होटल मापदण्ड मस्यौदा मन्त्रालयमा पेस गर्नेछ ।

होटल सङ्घ नेपाल (हान)का का अध्यक्ष विनायक शाह नेपालमा तारे होटल तथा रिसोर्टको सङ्ख्या बढ्नुले नेपालप्रति विदेशी पर्यटकको आकर्षण बढेको छ भन्ने देखाएको बताउनुहुन्छ । “नेपालको प्रकृति, संस्कृति र साहसिक यात्राको मज्जा लिन विदेशी पर्यटक नेपालमा आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ ।

अध्यक्ष शाह पछिल्लो समय नेपालमा भारतीय पर्यटकको सङ्ख्या उल्लेख्य बढेको बताउनुहुन्छ । प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुईतिहाइ जनमत हासिल गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को एकल सरकार रहेको र नेपालको पर्यटन क्षेत्रमा क्रमशः विश्वासको वातावरण सृजना हुँदै गएको अध्यक्ष शाहको भनाइ छ । “नेपाल भारत र चीनको बीचमा रहेको सुन्दर भूमि हो, दुवै देश आर्थिक हिसाबले शक्तिशाली छन्, यी देशबाट बर्सेनि करोडौँ मानिसहरू यात्राका लागि निस्किन्छन्, त्यहाँका पर्यटकलाई नेपाल भित्र्याउन सकियो भने नेपालको पर्यटक क्षेत्रले ठूलो फड्को मार्न सक्थ्यो”, उहाँ भन्नुहुन्छ ।

भक्तपुर र काभ्रेपलाञ्चोकको सिमानामा मण्डनदेउपुरमा बन्दै गरेको निगालो होटलकी कार्यकारी सहायक प्रबन्धक िक्रस्टिना श्रेष्ठ होटल क्षेत्रमा बढ्दो लगानीले रोजगारी सृजना, स्थानीय अर्थतन्त्रको चलायमान र पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याएको बताउनुहुन्छ ।

नेपाली व्यवसायीको झन्डै दुई खर्ब लगानीमा निर्माण सम्पन्न हुन लागेको निगालो होटलमा हाल सुविधासम्पन्न ६५ कोठा रहेका छन् । एक दशक लामो अष्ट्रेलिया बसाइपछि नेपाल फर्केर द्वारिकाज, पोखराको रूपाकोट, मल्ल, हिल्टनजस्ता चर्चित होटलमा काम गर्नुभएकी श्रेष्ठ पछिल्लो समय अन्तरराष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि विस्तार भइरहेको बताउनुहुन्छ । अन्तरराष्ट्रिय पर्यटक आगमन वृद्धि, पर्यटन प्रवर्द्धन, पूर्वाधार सुधार र सेवा गुणस्तरमा निरन्तर ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

अर्का एक वरिष्ठ पर्यटन व्यवसायी अभिषेकविक्रम शाह पछिल्लो समय पर्यटन र जलविद्युत् क्षेत्रमा लगानी व्यापक रूपमा बढेको बताउनुहुन्छ । नयाँ सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेसँगै भविष्यका लागि होटल क्षेत्रमा लगानी बढेको उहाँको भनाइ छ ।

व्यवसायी शाह निर्माण भएका अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालन गर्न सकिए विदेशी पर्यटकको सङ्ख्या उल्लेख्य बढ्ने बताउनुहुन्छ । केही समयदेखि लाजिम्पाटस्थित बुकी बुटिक होटल, नागार्जुनस्थित नागार्जुन रिसोर्टको व्यवस्थापनको नेतृत्व गर्दै आउनुभएका शाहले नेपालमा पछिल्लो समय भित्रिएका भारतीयका साथै आन्तरिक पर्यटनको आगमन र चहलपहलले यस क्षेत्रमा हौसला थपिएको धारणा राख्नुहुन्छ ।

त्यसैगरी, लाजिम्पाट बुटिक होटलका सञ्चालक लिलाप्रसाद ढकाल पछिल्लो समय नेपालमा होटल तथा रिसोर्टको सङ्ख्या बढ्नु सकारात्मक कुरा भएको बताउनुहुन्छ । उहाँ विदेशीमात्र नभई आन्तरिक पर्यटकलाई लक्षित गरेर पनि थुप्रै पर्यटकस्तरीय होटल सञ्चालन आएको भन्दै राज्यले यस्ता होटललाई होटलवालामात्र नभई होटल व्यवसायीको दृष्टिकोणले हेनुपर्ने बताउनुहुन्छ ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र क्रमशः लयमा फर्कँदै गएको छ । कोरोनापछि सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपालमा भित्रिएका छन् । यो वर्षको जुनसम्म पाँच लाखभन्दा बढी पर्यटक नेपाल भित्रिसकेका छन् ।

Exit mobile version