सामान्य जग्गा विवादमा ईलाका प्रहरी कार्यालय भगवानपुर बाँकेमा कार्यरत प्रहरी जवान भान्से गौतम मौर्यले एक ब्यक्तिलाई निर्घात कूटपीट गर्दा स्थानीय स्तरमा तनाव उत्पन्न भएको छ ।
आज साँझ अं.२०ः०० बजेको समयमा अत्यधिक मादक पदार्थ सेवन गरि नरैनापुर गाउँपालिका वडा नं.६ दोन्द्रा बस्ने अं.वर्ष ३० को नन्के गोडियालाई प्रहरी जवान गौतम मौर्यले घरमा पसी कूटपीट गर्दा घाइतेको अवस्था गम्भीर भएपछि निजको परिवारले उपचारका लागि घाइतेलाई भेरी अस्पताल नेपालगन्ज लगेको पारिवारिक श्रोतले जनाएको छ ।
घाइते अचेत अवस्थामा भएको र गम्भीर भएपछि उपचारका लागि नेपालगन्ज भेरी अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय भगवानपुरका निमित्त इन्चार्ज विनोद डिसीले बताए ।
हामी घटनाको अनुसन्धानकै क्रममा छौं, इन्चार्ज डिसीले भने, कानून मिच्ने कसैलाई पनि अधिकार छैन, हामी अनुसन्धान पछि कानून बमोजिम कारवाही गर्न प्रक्रिया अघि बढाइसकेका छौं ।
घटना बारे चौतर्फी विवाद उत्पन्न भएपछि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख अंगुर जिसीले आफै अनुसन्धानमा सक्रियता देखाएका छन् । घटना लगत्तै दैनिक नेपालगन्ज संगको अपडेटमा रहेका उनले घटना बारे गम्भीर रुपमा अनुसन्धान अघि बढिसेको बताएका छन् ।
दोषी उपर हामी कारवाही गर्छौंनै, प्रहरी प्रमुख एसपी जीसीले भने, प्रहरीनै भएपनि कानून विपरीत काम गरेपछि कारवाही हुन्छ । यद्यपछि घटनाको तीन घन्टा पछि सम्म समेत प्रहरीले दोषीले मादक पदार्थ सेवन गरेको विषयमा मेडिकल नगराएको स्वास्थ्य चौकी गंगापुर इन्चार्ज भरत गोराथोकीले जनाएका छन् ।
घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको नरैनापुर ६ का युवा नेता सोहन लाल यादवले जनाएका छन् ।
