नेपालगन्जको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई पुनर्जीवित गर्ने उद्देश्यका साथ दुई दशकपछि धम्बोझी (वीरेन्द्र चोक) मा स्वर्गीय राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको छ।
विभिन्न राजनीतिक आन्दोलनका क्रममा हटाइएका तथा क्षतिग्रस्त बनाइएका ऐतिहासिक व्यक्तित्व र शहीदहरूका शालिक पुनःस्थापना गर्ने अभियान नेपालगन्ज उपमहानगरपालिकाले औपचारिक रूपमा सुरु गरेसँगै यी शालिकहरू पुनः ठड्याइएका हुन्।
उपमहानगरपालिकाको विशेष पहलमा गएराति कडा सुरक्षा व्यवस्थाका बीच राजा वीरेन्द्रको शालिक पुनःस्थापना गरिएको हो। सोही अभियान अन्तर्गत हिजो साँझदेखि रातिसम्म प्रजातान्त्रिक तथा वामपन्थी आन्दोलनका शीर्ष नेताहरू गणेशमान सिंह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ र शहीद सेतु बिकको शालिक पनि आ-आफ्नो स्थानमा पुनःस्थापना गरिएको छ। त्यसका लागि नगर प्रमुख प्रशान्त विष्टले आफैं कमाण्ड सम्हालेका थिए ।
राजा वीरेन्द्रको शालिक २०६२/६३ को जनआन्दोलनका क्रममा भत्काइएको थियो। विगतमा यसको पुनःस्थापनाको माग भए पनि राजनीतिक सहमति नजुट्दा र सुरक्षा हस्तक्षेपका कारण दुई दशकसम्म यो चोक शालिकविहीन बनेको थियो।
यसअघि त्रिभुवन चोकस्थित राजा त्रिभुवनको शालिक पनि आन्दोलनकै क्रममा भत्काइएकोमा स्थानीयको सक्रियता र पहलमा पहिले नै पुनःस्थापना भइसकेको छ।
राजनीतिक असन्तुष्टि र आन्दोलनको आक्रोश शालिकमाथि पोख्ने प्रवृत्तिका कारण नेपालगन्जका ऐतिहासिक धरोहरहरू लामो समयसम्म कुरूप र जीर्ण अवस्थामा रहेका थिए।
उपमहानगरपालिकाको यस कदमले नगरको ऐतिहासिक गरिमालाई फर्काउनुका साथै भत्किएका शालिकहरूको जीर्णोद्धार र पुनःनिर्माणले शहरको साख बढाउने स्थानीयले अपेक्षा गरेका छन्।
