साहित्यकार सागर गैरेको नियात्रामाथि परिसंवादले थप्यो साहित्यिक बहस
बाँकेको कोहलपुरका साहित्यकार सागर गैरेको नयाँ नियात्रा संग्रह ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि कालासागरसम्म’ को गृह विमोचन शनिबार कोहलपुरमा गरिएको छ ।
यो गैरेको चौथो साहित्यिक कृति हो । यसमा भारतको गोवा, मलेसिया, भियतनाम, फिलिपिन्स र जर्जियाको यात्राका अनुभूति समेटिएका छन् । साहित्यका विभिन्न विधामा सक्रिय गैरेको यसअघि ‘बलैगाउँदेखि बाकुसम्म’ नियात्रा संग्रह, ‘लकडाउन’ आत्मपरक निबन्ध संग्रह तथा गत वर्ष प्रकाशित ‘मोहर’ उपन्यास सार्वजनिक भइसकेका छन् ।
करिब तीन साताअघि काठमाडौंमा भव्य रूपमा सार्वजनिक गरिएको कृतिलाई यसपटक गृहनगरका साहित्यकार, कवि, लेखक तथा सञ्चारकर्मीबीच विशेष समारोहका साथ विमोचन गरिएको हो । ‘एउटा अल्बाट्रस ः प्रशान्त महासागरदेखि कालासागरसम्म’ विमोचनसँगै कृतिमाथि समीक्षात्मक बहस र कृतिकारसँग प्रत्यक्ष परिसंवादसमेत आयोजना गरियो ।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रममा कृतिको गृह विमोचन प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल, प्राज्ञ सभा सदस्य महानन्द ढकाल, साहित्यकार भरत रानाभाट, कवि बीपी अस्तु र कृतिकारकी जीवनसंगिनी यशोदा गैरेले संयुक्त रूपमा गरेका थिए ।
सहभागी श्रष्टाका अनुसार, कार्यक्रमको प्रमुख आकर्षण कृतिमाथिको समीक्षा र कृतिकारसँगको परिसंवाद बन्यो । लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष तथा नियात्राकार भरत रानाभाटले कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै गैरेका नियात्रामा अनुभूतिको तीव्रता, यथार्थ र कल्पनाको सन्तुलित संयोजन भेटिने बताए । गैरेको लेखनले पाठकलाई घरमै बसेर संसार घुमेको अनुभूति दिलाउने उनको भनाइ थियो ।
रानाभाटले आफू गैरेले नियात्रामा समेटेका धेरै देश पुग्न नपाएको उल्लेख गर्दै भने, ‘नियात्राकार गैरेले जुन ठाउँमा घुमेर नियात्रा लेखेका छन् ती ठाउँमा त म पुगेको छैन । तर गैरेका नियात्राका माध्यमले म ती ठाउँहरूमा लेखकसँगै घुमेको अनुभूति भयो ।’
उनले आफूले पनि अमेरिका यात्रापछि नियात्रा लेखेको स्मरण गर्दै गैरेको पुस्तक पढेपछि नियात्रा लेखनमा अपनाउनुपर्ने सूक्ष्म पक्षबारे अझ धेरै ध्यान दिनुपर्ने महसुस भएको बताए ।
कार्यक्रमलाई औपचारिक भाषणभन्दा संवादमुखी बनाइएको थियो । लामो आसनग्रहण र शुभकामना मन्तव्य नराखी दोस्रो चरणमा कविसमेत रहेका सञ्चारकर्मी बीपी अस्तुले कृतिकार सागर गैरेसँग परिसंवाद गरेका थिए । संवादका क्रममा गैरेले आफ्नो कृतिको विषयवस्तु, रचनागर्भ, यात्राका परिवेश तथा विभिन्न देशमा भेटिएका ऐतिहासिक, सामाजिक र सांस्कृतिक पक्षबारे विस्तारमा अनुभव सुनाए ।
परिसंवादका क्रममा अस्तुले विदेश यात्रामा देखिएका अनुभवबारे प्रश्न गर्दै भने, ‘तपाईंले विदेशका जुन जुन ठाउँ घुम्नुभयो, ती देश र हाम्रो देशकाबीचमा केके विविधता वा समानता पाउनुभयो त ?’
जवाफमा गैरेले भौतिक विकास र मानवीय संवेदनाबीचको सम्बन्धलाई उदाहरणसहित व्याख्या गरे । उनले भने, ‘भौतिक विकासका दृष्टिले ती ठाउँहरू हामीभन्दा अवश्य अगाडि छन्, विकसित छन् । मानवीय संवेदनाका हिसाबले जहाँका मानिस भए पनि एउटै संवेदना बोकेर बाँचिरहेका हुँदारहेछन् । हामीले जस्तै उनीहरूले पनि दुःख र पीडामा आँसु झार्छन्, खुसीमा रमाउँछन् । हो, त्यहाँका खाने कुरा फरक होलान् तर भोक संसारका सबै मानिसहरूलाई उस्तै लाग्दो रहेछ । हामीले जस्तै आफ्ना सन्तति र परिवारको माया उनीहरूलाई पनि उत्तिकै लाग्दोरहेछ… !’
उनले यात्राले मानिसलाई निरन्तर सिकाइ दिने उल्लेख गर्दै विभिन्न भूगोल, समाज, संस्कृति र पात्रसँगको साक्षात्कारले आफ्नो दृष्टिकोण फराकिलो बनाएको बताए । ‘यी यात्राहरूमा मैले कहिल्यै बिर्सन नसक्ने भूगोल, संस्कृति र पात्रहरूसँग साक्षात्कार गर्न पाएँ,’ उनले भने ।
पुस्तक पढ्ने संस्कृतिको महत्त्वबारे पनि उनले जोड दिए । सयौं भिडियो सामग्रीले पनि पुस्तकले दिने सम्पूर्ण अनुभूति र गहिराइ दिन नसक्ने भन्दै यात्राका सुखद र दुःखद दुवै अनुभवले उक्त कृति निर्माण भएको बताए ।
प्रतिष्ठानका अध्यक्ष डा. रिजालले गैरेको पछिल्लो नियात्रा संग्रह काठमाडौंदेखि मोफसलसम्म लोकप्रिय बन्दै गएको उल्लेख गर्दै यसले अझ व्यापक उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे । उनले कृतिलाई पढ्नलायक मात्र नभई संग्रह गर्नलायक कृतिका रूपमा टिप्पणी गरे । साथै कोहलपुरको साहित्यिक विकासमा गैरेले पु¥याएको योगदान उल्लेख पनि गरे ।
कार्यक्रममा वरिष्ठ विश्लेषक नरेन्द्रजंग पिटर, भेरी साहित्य समाजका अध्यक्ष इन्द्रबहादुर बस्नेत, गजलकार खगेन्द्र गिरी ‘कोपिला’, प्रकाश गिरी ‘निश्चल’, विष्णु पादुका, शेखर दहित, बद्री ढकाल ‘हीरामणि’, विष्णु बेलबासे, एकराज शर्मा, कर्णबहादुर थापा, मणि गैरे, प्रकाश मरासिनी, देवकी निरौला, सुमित्रा न्यौपाने, चन्द्रावती अधिकारी, पुरमल बस्नेत, नवीन अभिलाषी, सनत सापकोटालगायत बाँके र बर्दियाका साहित्यकार, लेखक, कवि तथा सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।
कवि लक्ष्मण मानवको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम प्रतिष्ठानका सचिव केशव निमेषले सञ्चालन गरेका थिए ।
