ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत प्राधिकरणलाई विद्युत अनियमितताको सूचना दिन निर्देशन दिएका छन् । शनिबार नेपालगन्ज आएका उनले विद्युत कार्यालयको अनुगमन गर्दै डिभिजन कार्यालय र नेपालगन्ज वितरण केन्द्रलाई विद्युत जानुपर्ने कारण सहित सूचना दिन निर्देशन दिएका हुन् ।
‘बत्ती गएर भन्दा पनि सूचना नपाएर, रेस्पोन्स नभएर आक्रोश पाएको छु’, मन्त्री श्रेष्ठले भने, ‘त्यसैले सूचनाको सिष्टम बनाउनुस् ।’ उनले जनचेतना र सूचना प्रवाह आवश्यक रहेको बताए ।
शनिबार नै मन्त्री श्रेष्ठसँगको भेटमा डा. प्रतिक श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई डेडिकेटेड लाइन उपलब्ध गराउन आग्रह गरे । विद्युत अनियमित हुँदा चिकित्सक तथा बिरामीले धेरै समस्या भोग्नु परेको बताएका थिए । ‘सर्टसर्किटले धेरै आगलागीको घटना हुनेगर्दछ, विद्युतमा फोन गर्दा पहिले निवेदन दिनु भन्छन्, पहिले लाइन काट्ने कि निवेदन दिने त्यसमा ध्यान दिनु पर्यो’, उनले भने । मन्त्री श्रेष्ठले शनिबार नै सिक्टा सिंचाई आयोजनाको निरिक्षण एवं अनुगमन गरेका थिए ।
