साउन १ देखि देशभर प्रदर्शन हुँदै
आगामी साउन १ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘गौथली’ को निर्माण टिमले नेपालगन्जमा पत्रकारसँग अन्तरक्रिया गर्दै चलचित्रको कथावस्तु, उद्देश्य र निर्माण यात्राबारे जानकारी दिएको छ ।
कार्यक्रममा निर्देशक डा. कपिल रिजालले ‘गौथली’ नेपाली ग्रामीण जीवन, सामाजिक यथार्थ र मानवीय संवेदनालाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र भएको बताए । उनका अनुसार, चलचित्र डा. भोला रिजालको चर्चित गीतिसंग्रह ‘गौथली’ बाट प्रेरित छ ।
निर्देशक रिजालले करिब २५ वर्षअघि आफ्ना बुवा डा. भोला रिजालले यही नाममा गीतिमय चलचित्र निर्माण गरेको स्मरण गर्दै त्यसबेला गीतमार्फत संवाद प्रस्तुत गर्ने शैली रहेको बताए । उनले उक्त चलचित्र दर्शकमाझ निकै लोकप्रिय बनेको र केही हलमा ५१ दिनसम्म प्रदर्शन भएको उल्लेख गरे । अहिले भने त्यही मूल भाव र पात्रलाई नयाँ कथा, समकालीन परिवेश तथा आधुनिक प्रस्तुतीकरणमार्फत नयाँ पुस्तासमक्ष ल्याइएको उनको भनाइ थियो ।
उनले समाज परिवर्तनको चर्चा भइरहे पनि महिलाप्रतिको दृष्टिकोण तथा फरक क्षमता भएका व्यक्तिहरूप्रतिको व्यवहारमा अझै सुधार आवश्यक रहेको उल्लेख गर्दै चलचित्रले यिनै विषयलाई संवेदनशील ढंगले उठान गरेको बताए ।
निर्माता सुमन गिरीले मौलिक कथावस्तु, बलियो प्रस्तुति र सामाजिक सन्देशका कारण ‘गौथली’ले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।
चलचित्रका मुख्य अभिनेता अरुण क्षेत्रीले आफूले माइल्ड अटिजम भएका पात्रको भूमिका निर्वाह गरेको जानकारी दिए । उक्त पात्रमार्फत फरक क्षमता भएका व्यक्तिहरूप्रति समाजले राख्ने दृष्टिकोणलाई नजिकबाट बुझ्ने अवसर पाएको उल्लेख गर्दै उनले उनीहरूलाई ‘असामान्य’ भनेर हेर्ने सोचभन्दा आफ्नै दृष्टिकोणमा परिवर्तन आवश्यक रहेको महसुस भएको बताए ।
नेपालगन्जसँग आफ्नो विशेष आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै उनले ‘महापुरुष’ प्रदर्शनका बेला यहाँका दर्शकबाट पाएको मायाजस्तै यसपटक ‘गौथली’लाई पनि साथ र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरे ।
अभिनेत्री सिम्रन खड्काले चलचित्रमा नेपाली महिलाको संघर्ष, आत्मसम्मान र दबिएका सपनालाई प्रतिनिधित्व गर्ने पात्र निर्वाह गरेको बताइन् । परिवार र समाजका कारण धेरै छोरीहरूको सपना अधुरै रहने यथार्थलाई चलचित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको उनको भनाइ थियो । आफू वास्तविक जीवनमा खुला स्वभावकी भए पनि चलचित्रमा शान्त चरित्र निभाउनु चुनौतीपूर्ण अनुभव भएको उनले सुनाइन् ।
निर्माण टिमका अनुसार नेपालका विभिन्न रमणीय पर्यटकीय स्थलमा अत्याधुनिक प्रविधिको प्रयोग गरी चलचित्रको छायांकन गरिएको छ । चलचित्रका गीत, टिजर र केही दिनअघि सार्वजनिक गरिएको ट्रेलरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको तथा ट्रेलर युट्युब ट्रेन्डिङको छैटौं स्थानसम्म पुगेको जानकारी पनि टोलीले दिएको छ ।
पत्रकार भेटघाटमा निर्माण टिमले ‘गौथली’ नेपाली समाजका संवेदनशील विषयलाई मौलिक शैलीमा प्रस्तुत गर्ने चलचित्र भएकाले दर्शकको साथ र सञ्चारमाध्यमको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेको थियो ।
