राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार सार्वजनिक गरेको नेपालको राष्ट्रिय लेखा तथ्यांक (राष्ट्रिय प्रतिवेदन) अनुसार आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) उपभोक्ताको मूल्यमा रु. ९ खर्ब ३६ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन रु. ८ खर्ब ८३ अर्ब रहने संशोधित अनुमान गरिएको थियो ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशले राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा १४.२ प्रतिशत योगदान गर्ने प्रारम्भिक अनुमान गरिएको छ । अघिल्लो आर्थिक वर्ष २०८१÷८२ मा प्रदेशको योगदान १४.३ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
राष्ट्रिय स्तरमा आर्थिक वर्ष २०८२÷८३ मा उपभोक्ताको मूल्यमा कुल गार्हस्थ्य उत्पादन रु. ६६ खर्ब पुग्ने अनुमान गरिएको छ । त्यसमध्ये वागमती प्रदेशको रु. २४ खर्ब २३ अर्ब (३६.७ प्रतिशत), कोशी प्रदेशको रु. १० खर्ब ४३ अर्ब (१५.८ प्रतिशत), लुम्बिनी प्रदेशको रु. ९ खर्ब ३६ अर्ब (१४.२ प्रतिशत), मधेश प्रदेशको रु. ८ खर्ब ६३ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको रु. ५ खर्ब ९३ अर्ब (९.० प्रतिशत), सुदूरपश्चिम प्रदेशको रु. ४ खर्ब ६४ अर्ब (७.० प्रतिशत) तथा कर्णाली प्रदेशको रु. २ खर्ब ७७ अर्ब (४.२ प्रतिशत) योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ ।
प्रतिवेदनमा लुम्बिनी प्रदेशको स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादनको वृद्धिदर आर्थिक वर्ष २०८२÷८३ मा २.८७ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा उक्त वृद्धिदर ४.२७ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो ।
क्षेत्रगत योगदानतर्फ आर्थिक वर्ष २०८२÷८३ मा लुम्बिनी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, वन तथा मत्स्य क्षेत्रको २९.८ प्रतिशत योगदान रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन सबैभन्दा बढी हो । प्रशासनिक तथा सहयोगी सेवा क्षेत्रको योगदान ०.४ प्रतिशत रहने अनुमान गरिएको छ, जुन सबैभन्दा कम हो । आर्थिक वर्ष २०८१÷८२ मा पनि कृषि, वन तथा मत्स्य क्षेत्रको ३०.१ प्रतिशत योगदान अग्रस्थानमा तथा प्रशासनिक तथा सहयोगी सेवाको ०.४ प्रतिशत योगदान सबैभन्दा कम रहने संशोधित अनुमान गरिएको छ ।
औद्योगिक वर्गीकरणअनुसार आर्थिक वर्ष २०८२÷८३ मा कुल मूल्य अभिवृद्धिको वार्षिक वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा ९.१८ प्रतिशत रहने, जुन सबैभन्दा उच्च हो। सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा –०.१९ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन सबैभन्दा न्यून हो । त्यसैगरी, आर्थिक वर्ष २०८१÷८२ मा कुल मूल्य अभिवृद्धि वृद्धिदर विद्युत तथा ग्यास क्षेत्रमा ८.३८ प्रतिशत तथा निर्माण क्षेत्रमा १.३५ प्रतिशत रहने संशोधित अनुमान गरिएको प्रतिवेदनमा उल्लेख छ ।
