बिहीबार औपचारिक कार्यक्रम बीच बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ का एक सय जना महिलाहरूलाई फ्रिडम किट व्याग वितरण गरिएको छ । एफकेबि युकेको सहयोगमा बास नेपालले उक्त व्याग वितरण गरेको हो । महिनावारी हुँदा प्रयोग गर्ने कपडाको प्याड सहित सामाग्री भएको किट व्याग प्रदान गरिएको हो ।
सामुदायिक शिक्षा किट व्याग प्रदान गरिएको कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि जानकी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख कल्पना गाहा मगरले महिलाहरूलाई महिनावारी स्वच्छदाका लागि पुनः प्रयोग गर्ने किट व्याग प्रदान गरिएको बताइन् ।
बजारमा पाइने बिभिन्न प्रकारका प्याडहरूले महिलाहरूलाई बिभिन्न रोगबाट पीडित बनाएको उल्लेख गर्दै उनले पुनः प्रयोग गर्न मिल्ने कपडाको प्याड प्रयोग गर्न सबै महिलाहरूलाई आग्रह गरिन् । कार्यक्रममा पत्रकारहरू रूपा गहतराज, देबेन्द्र पौडेल, मेनका चौधरी, युवा अभियानकर्मी समा खान लगायतको उपस्थिति रहेको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले पारेका थिए भने कार्यक्रम सञ्चालन कार्यक्रम व्यवस्थापक रमिता शाहले गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि, अतिथिहरूले बाँकेको जानकी गाउँपालिका वडा नम्वर ३ का बिभिन्न टोल ईन्द्रपुर, कर्मौना, मोतिपुर, मानपुर, बन्जारे गाउँ लगायतका महिलाहरूलाई फ्रिडम किट व्याग प्रदान गरेका थिए । कार्यक्रममा कार्यक्रमकी प्रबन्धक रमिता शाह र शिक्षा अधिकृत मिना घर्ति मगरले महिनावारी शिक्षा बारे प्रशिक्षण दिएका थिए ।
बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले डेढ बर्षको अवधीमा बाँकेका विभिन्न पालिका, अछाम, सुर्खेत, बर्दिया र दाङ्ग गरी २ हजार ५ सय बढी फ्रिडम किट संस्थाले वितरण गरिसकेको जानकारी दिए । ‘पहिले मासिक ६० वटा किट वितरण गर्दै आएकोमा अहिले सय वटा वितरण गर्दै आएका छौं’, उनले भने ।
अभियान कसरी सुरु भयो ?
सन् २०१५ मा जब नेपालमा भूकम्प गयो, धेरै बिदेशी व्यक्तिहरू नेपाल आए भुकम्प प्रभावितहरूलाई सहयोग गर्न । सोही क्रममा युकेबाट डा. रोजा, डा. इयान र ब्रायन नेपाल आए । उनीहरूले भुकम्प प्रभावित क्षेत्रमा धेरै सहयोग गरे । उनीहरूले एकल महिलाहरूका लागि लागि घर बनाइदिए ।
यसरी घर बनाउँदै गर्दा उनीहरूलाई एक स्थानीयले आएर आएर प्रश्न गरे “तपाईंले ती महिलाहरूको मात्र मद्दत गर्नुभयो, तर यहाँ धेरै महिलाहरू छन् जसलाई तल्लो पेट दुःख्ने समस्या छ, उनीहरूका लागि केही सहयोग गर्नसक्नु हुन्न ? युकेको सहयोग टिम मध्येकी एक रोजालाई यस प्रश्नले चिन्तित तुल्यायो र यो प्रश्नको उत्तर खोजिन्, अरूसँग बुझिन् र थाहा पाईन् धेरै नेपाली महिलाहरू महिनवारी स्वच्छताको अभावमा बिभिन्न रोगको शिकार भईरहेका छन् । त्यहि बेला उनीहरूले काठमाडौंमा बेनी नाम गरेकि महिलालाई भेटे र उनको सुझाव बमोजिम महिलाहरूलाई पुनः प्रयोग गर्न मिल्ने प्याड बनाएर बितरण गर्ने योजना बन्यो ।
सोही योजना बमोजिम उनीहरूले महिलाहरूलाई सो पुर्नप्रयोग गर्ने खालको महिनावारी प्याड बनाएर बितरण गरे, महिलाहरूले उक्त प्याड मन पराए । महिलाहरूलाई स्वतन्त्रपूर्बक हिंडडुल गर्न सहयोग होस् भन्ने हेतुले बितरण गरिने कपडाको उक्त प्याडलाई फ्रिडम किट व्याग नामकरण गरियो ।
यसरी अनौपचारिक रूपमा शुरु भएको उक्त अभियानलाई उनीहरूले संस्थागत गरे । युकेमा फर्केर फ्रिडम किट व्याग्स नामक संस्था दर्ता गरे । सोही संस्थाका माध्यमबाट नेपालको दुरदराजमा गएर उनीहरूले उक्त फ्रिडम किट व्याग्स बितरण गर्दै आएका छन् ।
हाल २५ हजार फ्रिडम किट ब्याग वितरण गर्नुका साथै सो संस्थाले महिला, बालिका र पुरुषहरूलाई महिनावारी स्वच्छदा शिक्षा प्रदान गरेको छ ।
हाल नेपालका विभिन्न स्थानहरूमा ८ वटा एफकेबि केन्द्रहरू छन्, जुन केन्द्रहरूका माध्यमबाट हामीले फ्रिडम किट व्याग्स महिलाहरूलाई निःशुल्क उपलब्ध गराउने काम भईरहेको छ ।
के हो फ्रिडम किट व्याग भनेको ?
महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड सहितका सामाग्रीहरू रहने झोलालाई फ्रिडम किट व्याग भनिन्छ । जसमा महिनावारी हुँदा आवश्यक पर्ने ३ वटा प्याड होल्डर, १२ वटा प्याड, ६ वटा प्याड ईन्सर्ट, ८ वटा क्लिप, रोप, १ वटा फेन्सी पर्स, १ वटा सानो, १ वटा ठूलो वाटर प्रुफ पर्स लगायत पेन्टि, साबुन रहन्छन् । बजारमा पाईने सेनेटरी प्याडबाट बिभिन्न खाले संक्रमण हुनुका साथै महिलाहरूको पाठेघर खस्ने र क्यान्सर समेत हुने र वातावरणलाई समेत प्रत्यक्ष असर गर्ने भएकाले संसार भर बैकल्पिक प्याड प्रयोगको बहस भइरहेको बेला फ्रिडम किट व्याग उपयोगी देखिएको छ । यो पुनःप्रयोग गर्न सकिने र कुनै पनि स्वास्थ्यलाई असर नगर्ने खालको रहेको आयोजकहरूको भनाई रहेको छ । यसले महिलाको महिनावारीमा हुने विभिन्न समस्याबाट छुटकारा दिलाउन सहयोग गर्न गर्दछ । पाटेघरको क्यान्सर र बाझोपन जस्तो रोगबाट बच्न, महिनावारी गडबडी, इन्फेक्सनबाट बच्न यो किट व्याग्स उपयोगी छ । यसमा कुनै रसायन नहुने भएकाले यसलाई पुनः प्रयोग गर्न सकिन्छ ।
पुनः प्रयोगमा नआउने सेनेटरी प्याड जुन एक हजार बर्ष सम्म नकुहिने, बाताबरण प्रदुषण, मौसम परिवर्तन र माटोको उर्बरा शक्तिमा ह्रास ल्याउने काम गर्दछ भने फ्रिडम कीट ब्याग बाताबरण मैत्री छ ।
यसको प्रयोगले बजारमा उपलब्ध सेनिटरी प्याड किन्न पहुँच नभएको अवस्थाका ब्यक्तिहरूको लागि यो सहयोगी हुन्छ । यो एक पटक लिँदा ३ बर्ष सम्म प्रयोग गर्न मिल्ने भएकाले आर्थिक बोझ समेत कम हुन्छ । विशेष गरेर ग्रामीण तथा सीमान्तकृत बर्ग समुदायलाई प्राथमिकतामा राखेर बितरण निःशुल्क बितरण गरिने फ्रिडम कीट ब्यागलाई खरिद गर्नु पर्दा २ हजार पर्न जान्छ । जुन ३ बर्ष सम्म पुनः प्रयोगमा ल्याउन सकिन्छ ।
