नबदलिएको आकर्षण : फुटबल, बाल्यकाल र नयाँ पुस्ताको सपना

साँझ पर्दै जाँदा गाउँका कान्ला, बारी र खुला चौरहरू बालबालिकाको हाँसो, चिच्याहट, हस्यांग फस्यांग र दौडधुपले बित्थ्यो । त्यो समय न मोबाइल थियो, न इन्टरनेट, न सामाजिक सञ्जालको आकर्षण । मनोरञ्जनको अर्थ साथीभाइसँग खेल्नु थियो, र खेल भन्नासाथ फुटबल पहिलो रोजाइ ।

कहिले मोजा गाँसेर बनाइएको बल, कहिले फुटेको फुटबल सिलाएर फेरि खेल्ने । नाङ्गा खुट्टाले ढुङ्गा, काँडा र हिलो छिचोल्दै खेल्दा लागेका चोटहरू पीडाभन्दा गर्वका चिन्ह लाग्थे । खेल सकिएपछि शरीर थाक्थ्यो, तर मन कहिल्यै थाक्दैनथ्यो ।

मेरो बाल्यकाल पनि यस्तै फुटबलसँगै हुर्कियो । २०५० को दशकमा घरमा श्यामश्वेत टेलिभिजन आएपछि पहिलो पटक विश्वकपलाई नजिकबाट चिन्ने अवसर मिल्यो । त्यतिबेला म्यारोडोना, रोबोर्टो बाजियो जस्ता खेलाडीहरू हाम्रो कल्पनाका नायक थिए । उनीहरूलाई खेलिरहेको हेर्दा (मधुर सम्झना) हामी आफैं पनि एक दिन त्यस्तै खेलाडी बन्ने सपना देख्थ्यौँ ।

बुवाले किनिदिनुभएको नम्बर–२ को फुटबल अझै स्मृतिमा सुरक्षित छ । त्यो बल हाम्रो लागि एउटा खेल सामग्री मात्र थिएन; त्यो मित्रताको प्रतीक थियो, बाल्यकालको सबैभन्दा मूल्यवान् सम्पत्ति थियो । विद्यालयबाट फर्किनेबित्तिकै झोला घरमा फालेर हामी कान्ला हाम्फाल्दै मैदानतिर दौडिन्थ्यौँ । घाँसमा चिप्लिन्थ्यौँ, हिलोमा लड्थ्यौँ, घुँडा फुट्थ्यो, तर अर्को दिन फेरि उही जोशका साथ खेल्न पुगिहाल्थ्यौँ । त्यतिबेला जितभन्दा पनि सँगै खेल्न पाउनु नै सबैभन्दा ठूलो उपलब्धि थियो ।

फुटबलसँग जोडिएका ती साना–साना सम्झनाहरू आज पनि जीवनका अमूल्य सम्पत्ति बनेर बसेका छन् । कहिले बल हाम्रो भएकाले निर्णय पनि हाम्रो पक्षमा हुन्थ्यो । साथीहरू रिसाउँथे, केहीबेरमै फेरि हाँस्दै खेलमा फर्किन्थे । कहिलेकाहीँ एक–दुई उठाएर रूपैयाँको बाजी पनि लाग्थ्यो । कसैले रिसाएर बल बोकेर घरतिर कुदेपछि सबैजना उसको पछिपछि दौडिन्थ्यौँ । अहिले ती दृश्य सम्झँदा लाग्छ, त्यो केवल खेल थिएन; त्यो हाम्रो बाल्यकालको सबैभन्दा सुन्दर अध्याय थियो ।

समयसँगै गाउँ फेरियो । खुला बारीहरूमा घर बने । कान्लाहरू हराए । खेल मैदान साँघुरिए । बालबालिकाको हातमा फुटबलभन्दा मोबाइल बढी देखिन थाल्यो । तर एउटा कुरा भने समयले बदल्न सकेन—फुटबलप्रतिको आकर्षण ।

आज पनि विश्वकप सुरु हुनेबित्तिकै संसारका करोडौँ मानिस एउटै भावनामा बाँधिन्छन् । भाषा, धर्म, राजनीति, संस्कृति र सीमाभन्दा माथि उठेर एउटा गोलो बलले विश्वलाई जोडिदिन्छ । यही कारण फुटबललाई विश्वकै सबैभन्दा लोकप्रिय खेल मात्र होइन, साझा संस्कृति पनि भनिन्छ ।

अहिले विश्वकप २०२६ चलिरहेको छ । प्रत्येक खेलसँगै आफ्ना बाल्यकालका ती दिनहरू फेरि आँखाअगाडि आउँछन् । खेल हेर्दा केवल गोल वा हार–जित मात्र देखिँदैन; संघर्ष, अनुशासन, आत्मविश्वास र सपना देखिन्छ । गरिब परिवारमा जन्मिएका धेरै खेलाडीहरू कठिन परिस्थितिबाट उठेर विश्वविजेता बनेका छन् । उनीहरूले केवल ट्रफी जितेका छैनन्, लाखौँ बालबालिकाको आत्मविश्वास पनि जितेका छन् ।

बालबालिकाले किन हेर्नुपर्छ विश्वकप?

मेरो घरमा पनि साना बालबालिका छन् । खेल हेर्दा उनीहरू निरन्तर प्रश्न गर्छन्—“रेफ्रीले रातो कार्ड किन देखायो?”, “अफसाइड भनेको के हो?”, “टोली किन हार्यो?”, “यो खेलाडी किन यति छिटो दौडिन्छ?” यस्ता प्रश्नहरूले उनीहरूको जिज्ञासा मात्र होइन, विश्लेषण गर्ने क्षमता पनि बढाउँछन् । प्रश्न गर्ने बालबालिका नै खोजी गर्न सिक्छन्, र खोजी गर्ने बालबालिका नै भविष्यमा सिर्जनशील बन्छन् ।

कतिपय अभिभावकको चिन्ता स्वाभाविक छ । राति अबेरसम्म खेल हेर्दा पढाइ बिग्रने, निद्रा नपुग्ने वा दैनिक तालिका प्रभावित हुने डर रहन्छ । तर समाधान खेल बन्द गर्नु होइन; समय व्यवस्थापन सिकाउनु हो । सीमित समयभित्र विश्वकप हेर्ने, त्यसपछि खेलका सकारात्मक पक्षबारे परिवारमा छलफल गर्ने वातावरण बनाइयो भने फुटबल उत्कृष्ट सिकाइको माध्यम बन्न सक्छ ।

फुटबलले सबैभन्दा पहिले सहकार्य सिकाउँछ । मैदानमा कुनै खेलाडी एक्लैले खेल जित्न सक्दैन । सबैले आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेपछि मात्र टोली सफल हुन्छ । यही शिक्षा विद्यालय, परिवार, कार्यालय र समाजका हरेक क्षेत्रमा उत्तिकै आवश्यक छ ।

फुटबलले मेहनतको मूल्य पनि सिकाउँछ । विश्वका महान् खेलाडीहरू जन्मजात महान् थिएनन् । हजारौँ घण्टाको अभ्यास, असफलता, चोटपटक र निरन्तर संघर्षपछि मात्र उनीहरू त्यो उचाइमा पुगे । सफलताको चम्किलो पक्षभन्दा पछाडि लुकेको पसिना देख्न सके बालबालिकाले पनि आफ्नो लक्ष्यप्रति धैर्य र प्रतिबद्धता राख्न सिक्छन् ।

यस खेलले हार स्वीकार्ने साहस पनि दिन्छ । प्रत्येक प्रतियोगितामा एउटा टोली मात्र विजेता बन्छ । बाँकी सबैले हार स्वीकार्नुपर्छ । तर हार अन्त्य होइन; अर्को प्रयासको सुरुआत हो । जीवनमा पनि यही सत्य लागू हुन्छ । असफलताले मानिसलाई पराजित गर्दैन; त्यसपछि उठ्ने साहसले उसको परिचय बनाउँछ ।

फुटबलले सम्मान र अनुशासन पनि सिकाउँछ । रेफ्रीको निर्णय मन नपरे पनि स्वीकार्नुपर्छ । नियम पालना गर्नुपर्छ । विपक्षीलाई सम्मान गर्नुपर्छ । यी गुण खेलमा मात्र होइन, लोकतान्त्रिक समाज निर्माणका लागि पनि आधारभूत मूल्य हुन् ।

यससँगै फुटबलले बालबालिकाको कल्पनाशक्ति विस्तार गर्छ । उनीहरूले नयाँ रणनीति बुझ्छन्, विभिन्न देशका संस्कृति र झण्डा चिन्छन्, नयाँ भाषा सुन्छन् र विश्वलाई फराकिलो दृष्टिले हेर्न सिक्छन् । एउटा विश्वकपले कक्षाकोठाभन्दा बाहिरको संसारसँग परिचित गराउँछ ।

शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिले पनि फुटबल अत्यन्त महत्त्वपूर्ण खेल हो । नियमित खेल्दा शरीर तन्दुरुस्त रहन्छ, मुटु स्वस्थ हुन्छ, तनाव कम हुन्छ र आत्मविश्वास बढ्छ । डिजिटल युगमा बालबालिकालाई केही समय स्क्रिनबाट बाहिर ल्याउने प्रभावकारी माध्यममध्ये फुटबल पनि एक हो ।

तर खेल र पढाइबीच सन्तुलन आवश्यक छ । खेलले पढाइलाई विस्थापित गर्नु हुँदैन, पढाइले खेललाई निषेध गर्नु हुँदैन । बालबालिकाको रुचिलाई सम्मान गर्दै उनीहरूलाई समय व्यवस्थापन सिकाउने जिम्मेवारी अभिभावक र शिक्षक दुवैको हो ।

हामीले बालबालिकालाई केवल गोल गर्ने खेलाडी बन्न प्रेरित गर्नु हुँदैन; असल नागरिक बन्न प्रेरित गर्नुपर्छ । फुटबलले सिकाएको अनुशासन, इमानदारी, सहकार्य, नेतृत्व, सम्मान र संघर्ष गर्ने क्षमता जीवनका जुनसुकै क्षेत्रमा उपयोगी हुन्छ । सबै बालबालिका व्यावसायिक फुटबलर नबन्लान्, तर फुटबलले सिकाएको जीवनदर्शन सबैका लागि उपयोगी हुन्छ ।
आज विश्वकपको एउटा खेल सकिँदा स्टेडियमका बत्ती निभ्छन् । लाखौँ दर्शक घर फर्किन्छन् । करोडौँ टेलिभिजन बन्द हुन्छन् । तर कुनै एउटा बालकको मनमा एउटा नयाँ सपना भने बलिरहन्छ । उसले आफूलाई कहिले राष्ट्रिय टोलीको जर्सीमा, कहिले निर्णायक गोल गर्दै, कहिले हजारौँ दर्शकको तालीबीच उभिएको कल्पना गरिरहेको हुन्छ । संसारका अधिकांश महान् खेलाडीको यात्रा यस्तै एउटा सानो सपनाबाट सुरु भएको थियो ।

सायद आज हाम्रो घरका बालबालिकाले पनि त्यही सपना देखिरहेका छन् । उनीहरू सबै विश्वप्रसिद्ध खेलाडी नबन्लान् । तर यदि फुटबलले उनीहरूलाई अनुशासित, मेहनती, आत्मविश्वासी, सहयोगी र जिम्मेवार नागरिक बन्न प्रेरित गर्यो भने त्यो नै हाम्रो सबैभन्दा ठूलो जित हुनेछ ।

किनभने अन्ततः फुटबल केवल ९० मिनेटको खेल होइन । यो पुस्तालाई जोड्ने भावना हो । यो बाल्यकालको मधुर सम्झना हो । यो हारपछि उठ्न सिकाउने साहस हो । यो सपना देख्न सिकाउने प्रेरणा हो । र जबसम्म कुनै गाउँको खुला मैदानमा एउटा बालक नाङ्गो खुट्टाले बल पछ्याउँदै दौडिरहन्छ, तबसम्म फुटबल खेलमा मात्र सीमित रहनेछैन—यो आशा, सम्भावना र भविष्यप्रतिको विश्वासको अर्को नाम बनिरहनेछ ।

Exit mobile version